+
+

दाइजोका कारण मुसहर समुदायमा भाँडिन्छन् बिहे

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० वैशाख १९ गते २०:३३

१९ वैशाख, काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका सहदेव सदा गत फागुनमा छोरीको बिहेको तयारीमा थिए । भारत बिहार मधुवनीका केटा र उनकी छोरीले एक अर्कालाई मन पराइसकेका थिए । अन्तिम चरणमा केटा पक्षले यति धेरै दाइजो माग्यो कि यही कारण बिहे नै रोकियो ।

‘बेटाबाला दहेजमे एकटा मोटरसाइकल, सोनचाँदी आ महंग फर्निचर मांग केलकै । पेटे पालएमे आफत है त ओतेक दहेज कतसे दिय सैकतीयै । तै दुवारे बेटीके विहाय नै भेलै,’ सहदेवले बिहे रोकिएकामा दुखेसो गरे ।

त्यसपछि पनि छोरीको बिहेका लागि अरु ठाउँबाट पनि प्रस्ताव आए । केही ठाउँमा कुरा पनि अगाडि बढ्यो । तर अन्तिममा दाइजोमै कुरा नमिलेको सहदेव सुनाउँछन् । सम्पत्तिको नाममा उनको केवल डेढ धुर ऐलानी जग्गामा जस्ता, काठ र माटोले बनेको छाप्रो छ । त्यही छाप्रोमा ८ जनाको परिवार बसिरहेका छन् ।

दैनिक गुजाराका लागि आफूले चढ्न साइकल किन्न धौ धौ परेका उनलाई छोरीको बिहेमा दाइजोवापत मोटरसाइकल दिनु हैसियत बाहिरको कुरा हो ।

मधेशमा दाइजो ठूलो सामाजिक समस्या हो । दाइजोकै कारण बिहे हुन नसक्नु, बिहे भएकामा पनि सम्बन्ध राम्रो नहुनु, कुटपिट र हत्यासम्मका घटना भएका छन् ।

मुसहर मधेशमा आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको समुदाय हो । यो समुदायमा केही वर्ष अघिसम्म दाइजो लेनदेनको प्रचलन थिएन । तर हिजोआज दाइजो लेनदेनबिना विवाह नै हुन छाडेको छ ।

सोही बस्तीका मिथिलेश सदा पनि जेठी छोरीको बिहे गर्दा दिएको दाइजोको ऋणले थिचिएका छन् । २०७८ फागुनमा उनले छोरीको बिहे भारत विहारस्थित कम्तौल टोलका एक युवकसँग गराइदिए ।

बिहेमा एउटा मोटरसाइकल, पलङसहितका फर्निचर, सुनचाँदी र लत्ता कपडा गरी ६ लाखको दाइजो र भोजभतेर, जन्तीको स्वागत सत्कारलगायतमा गरी १३ लाख खर्च भएको मिथिलेश बताउँछन् । यो रकम गाउँकै साहु महाजनसँग ऋण लिएको उनको भनाइ छ ।

‘त्यति खर्च गर्ने हाम्रो हैसियत छैन । तर सयममै छोरीको बिहे नगरे समाजले नराम्रो मान्छ । यताउताका साहु महाजनसंग चर्को ब्याजमा ऋण लिएँ । ब्याजसहित फर्काउन साहु महाजनको ताकेता आउन थालेको छ । यति ऋण कसरी तिर्ने सोचेरै तनावमा छु’, मिथिलेशले भने । यही ऋण तिर्न उनले थप दुई लाख रुपैयाँ ऋण खोजेर कान्छो छोरालाई मलेसिया पठाएका छन् ।

‘हाम्रो मुसहरमा अब बिना दाइजो छोरीको बिहे हुँदैन । मलाई यो चाहिन्छ, त्यो चाहिन्छ भनेर पहिले नै माग्छन् । बिहे हुनु अगाबै दाइजो लिन्छन् बेहुला पक्ष’, मिथिलेश सुनाउँछन् ‘अहिले त दाइजोमा मोटरसाइकल अनिवार्य जस्तै छ । सुनचाँदी, फर्निचर, भैंसी दिनुपर्छ । त्यसमा पनि जन्तीको स्वागत सत्कार राम्रो गर्नैपर्छ ।’

२०७६ फागुनमा धनुषाको नगराइन नगरपालिका–२ जटहीका सुकदेव सदाको छोरीको बिहेमा दाइजोकै कारण तोकिएको बिहे अघिल्लो दिन रद्द भएको थियो । बेहुलीको घरमा टेन्ट पण्डाल तयार थियो, मड़वा सजाइएको थियो । जन्तीको स्वागतका लागि विभिन्न परिकार पाकिसकेका थिए । बेहुलीको परिवार बेहुला र जन्तीको पर्खाइमा थिए । तर अघिल्लो दिन मध्यराति बेहुला पक्षबाट फोन आयो ‘पहिला दाइजोमा दिन स्वीकारेको मोटरसाइकल दिनुस्, अनि जन्ती आउँछ । नभए यो बिहे हुँदैन ।’

त्यसपछि सुकदेवले छोरीको बिहे अर्कै ठाउँमा गरिदिएका थिए ।

मुसहर समुदाय उत्थानमा काम गर्दै आएका पच्चु माझी पछिल्लो समय अन्य समुदायको सिको मुसहर समुदायले गर्न थालेको बताउँछन् । उनका अनुसार २५ वर्षअघि मुसहर समुदायमा उल्टै केटा पक्षले नै केटी पक्षको बिहे खर्च तिर्ने चलन थियो ।

‘२५ वर्षअघिसम्म उल्टै बेहुली पक्षको सम्पूर्ण विवाह खर्च तिर्ने चलन थियो । मेरै दिदीको बिहेमा त्यस्तै भएको थियो । अहिले अन्य समुदायको सिकोले उल्टो भएको छ’, माझी भन्छन् । दाइजो प्रथा बढ्नुमा वैदेशिक रोजगारी पनि अर्को कारण रहेको उनको बुझाइ छ । पेट्रोलसमेत हाल्न नसक्ने हैसियतका व्यक्ति अचेल दाइजोमा मोटरसाइकल माग्ने गरेका छन् ।

‘तेल राख्ने हैसियत हुँदैन । तर दाइजोमा मोटरसाइकल नै माग्छन् । मोटरसाइकल चढ्नु फेसन जस्तै भइसकेको छ । बेहुलाको पहिलो र ठूलो डिमाण्ड त्यही नै हुन्छ’, पच्चु सुनाउँछन् ।

मुसहर समुदायमा लेखपढ गरेका तथा शिक्षित हुनेले झन् बढी दाइजो माग गर्ने गरेकाले समस्या विकराल बन्दै गएको उनले बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?