+
+
नेपाल एसिया कपमा छनोट :

‘अब पूर्वाधार विकास र एक्स्पोजरमा ध्यान दिनुपर्छ’

जितपछि धेरैले यो सुरुवातलाई निरन्तरतामा बदल्न क्रिकेट विकास र खेलाडीहरुको एक्स्पोजर बढाउन केन्द्रित हुनुपर्ने बताएका छन् ।

नमिता दाहाल नमिता दाहाल
२०८० वैशाख १९ गते २०:३८

१९ वैशाख, काठमाडौं । नेपाल क्रिकेटले आफ्नो इतिहासमा हासिल गरेको सीमित उपलब्धिमध्ये एसिया कप छनोटलाई प्रमुख मान्न सकिन्छ ।

एसिया क्षेत्रीय प्रतियोगिता भए पनि विश्व क्रिकेटका महारथी देशहरु भारत, पाकिस्तान, श्रीलंका यहीं छन् । बंगलादेश र अफगानिस्तान पनि टेष्ट मान्यता प्राप्त हुन् । यी टिमसँग प्रतिस्पर्धात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाली खेलाडीको सपना पूरा भएको क्षणमा धेरै खेल समर्थक र खेल क्षेत्रका व्यक्ति उत्साहित छन् ।

सन् २००२ मा एसिया कपमा छनोट भएर पनि प्रतियोगिता रद्द भएपछि खेल्न नपाएको तीतो यथार्थलाई बिर्सेर नयाँ योजनामा उत्साहित हुन समग्र क्रिकेटप्रेमी हकदार छन् ।

मंगलबार त्रिवि मैदानमा यूएईलाई ७ विकेटले हराएर एसीसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान बनाएको छ ।

जितपछि धेरैले यो सुरुवातलाई निरन्तरतामा बदल्न क्रिकेट विकास र खेलाडीहरुको एक्स्पोजर बढाउन केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाल एसिया कपमा छनोट भएपछि टिमका प्रशिक्षक, कप्तान, खेलाडी, पूर्व कप्तान र खेलाडीले के भने ?

रोहितकुमार पौडेल, कप्तान

योजना अनुसार सबै जनाले राम्रो प्रदर्शन गरे, एसिया कप हाम्रो ठूलो रहर थियो । सानैदेखि भारत र पाकिस्तानको खेल हेरिरहेका थियौं, उनीहरुसँग खेल्नु हाम्रो लागि ठूलो अवसर हो ।

हामीले कहिल्यै दुईदिने क्रिकेट खेलेका थिएनौं । त्यसैले पनि मोन्टी सरले आफ्नो भावनाहरुलाई सम्हाल्न भन्नुभएको थियो । धेरै सोचियो भने राति नै केही बिग्रिन पनि सक्थ्यो त्यसैले सबै जना निर्धक्क भएर बसेका थियौं ।

सन् २०१४ को विश्वकपपछि हामी पारस दाइ, ज्ञानेन्द्र दाइलाई टिभीमा हेरेर प्रेरित भएका थियौं । अब हामीलाई एसिया कपमा देखेर आउँदो पुस्ता पनि प्रेरित हुनेछ । त्यहाँ गएर राम्रो क्रिकेट खेल्ने हो । त्यो भयो भने हामीलाई सबैले चिन्छन् ।

राम्रो टिमसँग खेल्यो भने विश्वले हेर्नेछ, हामीलाई पनि विश्वले चिन्नेछ । राम्रो प्रदर्शन गरेमा खेलाडीलाई विभिन्न प्रकारका अवसर सिर्जना हुन सक्छ । विदेशमा लिग खेल्ने मौका आउन सक्छ ।

क्यानले खेलाडीमाथि लगानी गर्नुपर्छ । भौतिक पूर्वाधारदेखि एक्स्पोजर अझै बढ्दै गएको खण्डमा अझै राम्रो हुँदै जानेछ । हामीसँग एक्स्पोजर छ । खेलाडीले गरेको मिहिनेतले पछिल्लो एक वर्ष नतिजा आएको थिएन अहिले आइरहेको छ । यसको सबै जस मोन्टी सरलाई नै जान्छ ।

मोन्टी देशाई, प्रशिक्षक

हामीले थुप्रै अनभिज्ञताका बीच यात्रा सुरु गरेका थियौं । सबैभन्दा महत्वपूर्ण कुरा तपाईं प्रतिस्पर्धाका लागि कति तयार हुनुहुन्छ भन्ने नै हो । फाइनल एउटा राम्रो उदाहरण पनि भयो । यो खेल दुई दिनसम्म सञ्चालन भयो, धेरै कुराको मिश्रण र अनुभव रह्यो । ५० ओभरको खेल थियो तर खेलाडीहरुलाई टेष्ट खेलको अनुभव दियो ।

मैले उनीहरुलाई प्रश्न गरेको थिएँ, तिमीहरुलाई अब के महत्वपूर्ण छ ? उनीहरुको उत्तर निकै प्रष्ट थियो । हामी अहिलेको परिस्थिति हेरेर अन्तिम बलसम्म खेल्नेछौं । मलाई लाग्छ अहिले केटाहरुको दिमाग एकदम स्पष्ट छ ।

धेरै परिभाषा छन् हाम्रो ‘ह्याप्पी ड्रेसिङ रुम’को । सबैले उनीहरुको आफ्नो कहानी लेखिरहेका छन् । उनीहरुले विश्वलाई, साथीहरुलाई, देशलाई र आफैंलाई पनि एकताको परिभाषा दिँदैछन् । उनीहरुले धेरै मिहिनेत गरेका छन् । उनीहरु यो खुसीको हकदार छन् । म निकै गर्व गर्छु उनीहरुप्रति ।

एसिया कप नेपाली टिमका लागि कति महत्वपूर्ण छ भनेर समर्थकलाई सोध्नुहोस् । नेपाली समर्थकको यो माया पाएर म निकै अचम्मित र मख्ख छु । उनीहरुलाई क्रिकेटबाहेक केही मतलब छैन । रंगशाला बाहिर उभिएर भए पनि समर्थन गरिरहेका छन् । हिजो पानी परिरहेको बेलामा पनि आए, आज झन् धेरै । हामीले टस जित्यौं तर खेल पूरा हुन सकेन पानी पर्‍यो, उनीहरु छाता ओडेर घण्टौंसम्म कुरिरहे । समर्थकको आँखाबाट हेरौं त यो सफलताले उनीहरुका लागि के महत्व राख्छ भनेर ।

१० देशले आफ्नो स्थानबाट धेरै मिहिनेत र सपना बोकेर एसिया कपका लागि आउँछन् । दुई देशहरु एउटा खेल स्थलको लागि विवाद गर्दैछन् भने यो ठूलो गल्ती हो । एउटा पूर्ण सदस्यीय राष्ट्रसँग खेल्नु सबैको सपना हुन्छ । केही कुराहरु भित्री रुपमा गन्थन हुँदैछ भने पनि म यो सत्य नहोस् भनेर आश गर्छु । यदि हामी यो खेललाई माया गर्छौं भने यो भन्दा बाहेक अरु सोच्नुहुँदैन । यी बच्चाहरु खेल्दैछन् उनीहरुलाई खेल्न देऊ । पूर्ण सदस्य राष्ट्रसँग पनि खेलेर रमाइलो गर्न देऊ । उनीहरु यो स्थानका लागि हकदार छन् ।

इतिहासका अनुभव र सिकाइलाई टिमको उत्कृष्टताका लागि उपयोग गर्न चाहन्छौं । सँगसँगै खेलाडीले दबावमा कसरी खेल्ने भनेर पनि सिक्नेछन्, अनुभव लिनेछन् । यस्तो अवसरका साथै भौतिक पूर्वाधार पनि सुधार हुँदै जाने हो भने खेलाडीको स्तर पनि सुधार हुँदै जानेछ ।

मैले पहिलेदेखि नै भन्दै आएको कुरा हो नेपालको ए टिम बनाउने कुरा । नयाँ अनुहारहरुले मौका पाउनेछन् । एउटा अर्को टिम बन्नेछ । जसले गर्दा नेपाली राष्ट्रिय टिमको बेन्च मजबुत हुन्छ । केही वर्ष पछि हामी पनि पूर्ण सदस्यीय राष्ट्र हुनेछौं । यही कुरालाई निरन्तरता दिनुपर्छ । कुनैदिन हामीले त्रिवि मैदानमा टेष्ट म्याच खेलेको देख्न सक्नेछौं । जुन मेरो पनि सपना हो । म आएको तीन महिनामात्रै भयो । यो मैदानसँग छुट्टै लगाव भइसकेको छ । एकदिन हामी यो मैदानमा टेष्ट म्याच खेल्न सक्छौं ।

भारत र पाकिस्तानसँग ओडीआई सिरिज पाउँछौं, पाउँदैनौं मलाई थाहा छैन । हामी अहिले एसोसिएट टिमसँग मात्रै खेलिरहेका छौं । अब हामीले ठूला राष्ट्रहरुसँग हाम्रो उत्कृष्ट स्किल प्रदर्शन गर्न सक्छौं भनेर देखाउनुछ । अहिले मैले स्किलकै कुरा मात्रै भनिरहेको छु । आशा, अनुभव र चुनौतीहरु आउँदै जानेछन् । यदि नेपालले भारत र पाकिस्तानजस्ता देशहरुसँग एकदिवसीय खेलेको कुरा मैले अहिले कल्पना गरेँ भने म ड्रेसिङ रुममा बसेर रमाइरहेको हुनेछु । उनीहरुले आफ्नो वान बल ब्याटललाई कतिसम्म सदुपयोग गर्न सक्छन् भन्ने हेरिरहेको हुनेछु । यदि हामीले पूर्ण सदस्य राष्ट्रहरुसँग द्विदेशीय क्रिकेट खेल्न पाएको अवसरमा उनीहरुले आफ्नो बेष्ट स्किल प्रदर्शन गर्छन् कि गर्दैनन् भनेर हेर्नेछु ।

मसँग भएको समय मैले पूर्ण रुपमा नेपाल क्रिकेट सुधारकै लागि दिएको हुनेछु । अब जिम्बावेकै कुरा गर्ने हो भने अहिले धेरै सुधार गर्नुपर्ने समय छ जस्तो मलाइ लाग्दैन ।

क्रिकेट म्यानेजर विनोद दाससँग म दिनहुँ कुरा गर्छु हामीलाई थाहा छ धेरै चुनौतीहरु हामीमाझ छन् । हामीले केही उत्कृष्ट अभ्यास सत्र र टिमले अन्त कतै गएर खेल्न पाउनुपर्छ । नेपाल ए टिम हुनुपर्छ । जसले एक्स्पोजर र अनुभव बढाउँछ । हाम्रो बेन्च बलियो बनाउँछ । पुरुष क्रिकेट मात्रै होइन हामीले महिला क्रिकेट र उमेर समूहको बारेमा पनि योजना बनाउनुपर्छ ।

मलाई यहाँ पुरुष टिमको प्रशिक्षकको रुपमा नियुक्त गरिए पनि अहिले हामी भिजनको बारेमा चर्चा गदैछौंं । हामी अब हाम्रो भिजनमा काम गर्नुपर्छ । डेभलपमेन्ट क्याम्प, विकसित नीति र नियम बनाउनुपर्छ । एसिया कपको तयारीभन्दा अगाडि म आज टिमसँग रमाइलो गर्नेछु । यो खुसीको क्षण टिमसँग बिताउन चाहन्छु ।

सन्दीप लामिछाने, खेलाडी

तीन चार महिनाको मिहिनेत, सानो–सानो कुराहरुमा सुधार र लिग २ तथा एसिया कपको लागि गरेको तयारी, व्यवस्थापन पक्ष र खेलाडीले आफ्नो–आफ्नो भूमिकामा गरेको कामले नै हामी यो स्थानमा छौं ।

एसिया कपमा भारत र पाकिस्तान हाम्रै समूहमा छ । जुन हाम्रो लागि भाग्यको कुरा पनि हो । यो एउटा सुरुवात हो जसबाट हामीले पछाडि फर्केर हेर्नुपर्ने छैन । हाम्रो लागि यो सिक्ने अवसर हो, कसरी उनीहरुले आफूलाई तयार गर्छन् भन्ने ज्ञान पाउँछौं ।

टिममा सबैले आफ्नो भूमिका बुझेका छन्, हामीले के गर्नुपर्नेछ र अझै के गर्नुपर्नेछ ।

मोन्टी सर हाम्रो टिमको सबैभन्दा मुख्य पात्र हुनुहुन्छ । टिमलाई मोटिभेसन चाहिएको अवस्थामा उहाँले धेरै काम गर्नुभएको छ । उहाँले एकदमै सानो सानो कुरामा दिएको योगदानले नै हामी यहाँ आइपुगेका हौं ।

एसिया कपमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ताकि आउने समयमा युवा पिढीले प्रेरणा लिउन् । सपना चाहिँ लगातार एसिया कप र विश्वकप खेल्ने हुनेछ ।

शक्ति गौचन, पूर्व राष्ट्रिय खेलाडी

यो सफलताबाट नेपाली क्रिकेटले निकै ठूलो फड्को लिन सक्छ । हुन त हामी पहिला पनि एसिया कपमा छनोट भइसकेका थियौं, टी–२० विश्वकप खेलिसकेका छौं ।

भारत पाकिस्तानजस्ता ठूला टिमसँग खेल्न पाउनुले टिमको लागि ठूलो प्रभाव राख्छ । त्यसमा खेलाडीहरुले राम्रो प्रदर्शन गरेमा ठूलो फ्रेन्चाइज लिगहरुको ढोका खुल्न सक्छ । जस्तो कुशल मल्लले राम्रो खेलिरहेको छ, गुल्सन, आसिफ र कुशल भुर्तेल जस्ता ब्याटर तथा बलर र फिल्डरहरुलाई पनि करिअरमा निर्णायक फड्को मार्न सहज हुन्छ ।

भारत र पाकिस्तानसँग राम्रो प्रदर्शन गर्न सकेमा एसोसिएट राष्ट्र नेदरल्यान्ड्स, स्कटल्यान्ड जस्ता टिमले हामीलाई दवावमा राख्न सक्दैनन् । त्यस्तो बेलामा हाम्रो आत्मविश्वास बढेर आउनेछ । ठूलो टिमसँग खेलेपछि उनीहरुसँग खेल्दा हामीले डराउनुपर्दैन भन्ने अनुभव हुन्छ । यो प्रतियोगिताले टिम र खेलाडीलाई व्यक्तिगत हिसाबले पनि धेरै ढोकाहरु खुलेको छ ।

त्यतिबेला एसिया कपमा छानिएर पनि प्रतियोगिता स्थगित हुँदा धेरै दुख लागेको थियो । म त करिअरको सुरुवाततिरै थिए । त्यसैले पछि पुनः खेल्न सक्छौं भन्ने लागेको थियो । त्यसको फलस्वरुप नै हामीले २०१४ मा टी–२० विश्वकप खेल्यौं । बंगलादेशसँग प्रतिस्पर्धात्मक खेल खेल्यौं ।

अहिलेदेखि नै हामीले टेष्ट राष्ट्रको मान्यता पाउने सपना बोकेर सोच्नुपर्छ । २०१० सम्म अफगानिस्तान केही पनि थिएन तर २०२३ सम्म आइपुग्दा भारत पाकिस्तान र बंगलादेशलाई डोमिनेट गरेर खेल्न सक्ने भइसक्यो । अफगानिस्तानलाई हेरेर हामीले पनि १०÷१२ वर्षको योजना लिएर किन अगाडि नबढ््ने ? यो कुरामा नेपाल क्रिकेट संघ, सरकार तथा निजी क्षेत्र अगाडि बढ्यो भने कसलाई के थाहा हामी छिट्टै टेष्ट मान्यता पनि पाउँछौं कि ?

हामी आश गर्न सक्छौं र प्रार्थना गर्न सक्छौं कि हामीले ५० ओभरको विश्वकप खेल्न सक्छौं भने हामी टेष्ट राष्ट अगाडि बढ्ने ठूलो कदम हुनेछ ।

खेलाडीहरुको प्रदर्शनका साथसाथै भौतिक पूर्वाधारको विकास र संरचनात्मक विकास पनि चाहिन्छ । एसिया कप र विश्वकपमा निरन्तर सहभागिताका लागि पनि यी कुराहरु हुनुपर्छ ।

राजु खड्का, पूर्व कप्तान

पहिलो पटक सन् २००२ मा नेपालको इतिहासमा ठूलो उत्साह थियो । टेष्ट राष्टसँग खेल्ने सपना पूरा भएको थियो । हामी जति खसी भएका थियौं त्यति नै डर पनि थियो । किनभने पहिलो पटक टेष्ट राष्ट्रहरुसँग खेल्ने मौका पाएको थियौं । हाम्रो स्तर टेष्ट राष्ट्रहरुसँग त मिल्दैन । एसिया कप भारत र पाकिस्तानसँग खेल्यौं भने हामीले कस्तो स्तरको प्रदर्शन गर्न सक्छौं त भन्ने बडो ठूलो डर थियो ।

त्यो बेलामा क्यानले पनि लामो क्याम्प राख्ने, टिमको तयारीका लागि योजना बनाइरहेको थियो । तर, भारत र पाकिस्तानको समस्याले प्रतियोगिता भएन । हामीले अवसर गुमायौं । व्यक्तिगत रुपमा मलाई निकै दुख लागेको थियो । यत्तिका दिनसम्म गरेको मेहनत खेर गयो भनेको जस्तो भयो । ठूलो अवसर गुमायौं अब कहिले खेल्न पाउने भन्ने भएको थियो ।

आजको जितले नेपाललाई धेरै फरक पार्छ । विश्वले नेपाल क्रिकेटलाई अर्कै तरिकाले हेर्न थाल्छ । अहिले नेपाल क्रिकेट टिमले राम्रो गरिरहेको छ । एकदिवसीय मानयता पाए पनि हामी अहिलेसम्म एसोसिएट राष्ट्रसँग मात्रै खेल्थ्यौं अब हामीले टेष्ट राष्ट्रसँग खेल्न पाउने बित्तिकै नेपाललाई हेर्ने विश्वको नजर नै फरक हुनेछ । एसियाले मात्रै होइन, विश्व क्रिकेटले पनि राम्रो नजरले हेर्न थाल्छ ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?