+
+

खेलकुद नबुझ्ने सिंहदरबार

सइन्द्र राई सइन्द्र राई
२०८० वैशाख १९ गते २१:५३
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई बधाई दिँदै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ ।

१९ वैशाख, काठमाडौं । मुलुकको हरेकजसो क्षेत्रको सूचकांक निराशाजनक देखिदा नेपाली क्रिकेटले एकपछि अर्को सफलता निकालेर आमपंक्तिलाई उत्साहित बनाएको छ । घरेलु मैदान कीर्तिपुरमा देखिएको दृष्य क्रिकेटबाट मिलेको उत्साह र खुसीको मानक मान्न सकिन्छ ।

कतिसम्म भने सोमबार वर्षाले खेल रोकिँदा समेत छाता ओढेर दर्शकहरू पुनः खेल सुरु हुने प्रतिक्षामा घण्टौं उभिएका थिए । तर वर्षा नरोकिएकाले खेल मंगलबारलाई सर्‍यो ।

मंगलबार पनि उत्तिकै संख्यामा समर्थकहरु कीर्तिपुर पुगे । अघिल्लो दिनकै खेललाई निरन्तरता दिइएको प्रतियोगितामा नेपाली टीमले समर्थकलाई निराश हुन दिएन ।

फाइनलमा युएईलाई सात विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि मात्रै जितेन, एसिया कपको ढोका पनि खोल्यो । एसिया कपमा अब नेपालले क्रिकेटको शक्ति राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने तालिका रहेकाले यो लिगलाई महत्वका साथ हेरिएको थियो ।

सोमबार नेपाल र युएईबीचको खेल हेर्न कीर्तिपुर मैदान पुगेका दर्शक ।

छिमेकी मुलुक भएर पनि अहिलेसम्म भारत, पाकिस्तानसहित टेष्ट मान्यता प्राप्त टीमसँग नेपालले खेल्न पाएको छैन । त्यसैले यो तहको उत्साह स्वभाविक हो । ‘नेपालको खेल क्षेत्रमै यो ठूलो सफलता हो, यो तहको सफलताले पक्कै पनि सबैलाई खुसी बनाउँछ’, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल भन्छन् ।

फाइनल खेलपछि मैदानमा देखिएको दृष्य र सामाजिक सञ्जाल हेर्दा राजनीतिक नेतृत्व पनि यो जितबाट प्रसन्न देखिन्छन् । जितेका खेलाडीलाई पुरस्कार वितरण गर्न मैदानमा दुई उपप्रधानमन्त्री (पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ) एकसाथ उभिएका थिए । खेलाडीहरुले च्याम्पियन तस्वीर खिच्ने बेला नेकपा एमालेका सचिव योगेश भट्टराई समेत थपिए । मैदान नपुगेका नेताहरुले सामाजिक सञ्जालबाट खुसी साटे भने क्रिकेट टीमलाई बधाई दिए । एकप्रकारले बधाई दिने होड नै चल्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निकालेको बक्तव्यले क्रिकेट समर्थकको मन जित्ने गरी बधाई दिन कुन तहको होड चलेको थियो भन्ने प्रष्ट पार्छ । किनकि त्यो बक्तव्यको भाषा हेर्दा रास्वपासँग क्रिकेटबारे सामान्य ज्ञान समेत देखिँदैन ।

‘कुनैपनि खेलमा देशले जित्दा यस्तै बधाई दिइन्छ, सानोतिनो पुरस्कार पनि घोषणा गरिन्छ’ पूर्व खेलकुद मन्त्री पौडेल भन्छन्, ‘तर बधाई दिएसँगै दायित्व बढ्नुपर्ने हो, तर त्यस्तो कहिल्यै देखिएन ।’ कीर्तिपुर मैदानको लाजमर्दो दृष्यले राजनीतिक नेतृत्वको प्राथमिकतामा खेलकुद क्षेत्र नरहेको प्रमाणित गर्ने उनी बताउँछन् । ‘भारत र पाकिस्तानसँग खेल्न खेलाडीहरुले आफूलाई तयार पारे, तर हामीले चाहिँ दर्शकलाई पानीबाट जोगाउन पनि सकेनौं’, पौडेल भन्छन् ।

निवर्तमान खेलकुद मन्त्री महेश्वरजंग गहतराज त अहिलेसम्म सिंहदरबारले खेलकुद क्षेत्र चिन्नै नसकेको बताउँछन् । ‘मेरै अनुभवले भन्छ– सिंहदरबारले खेलकुद बुझेकै छैन । कर्मचारीतन्त्रमा यो परम्परात गतिविधि मात्रै लाग्छ’, पूर्वमन्त्री गहतराज भन्छन् । तर, नेतृत्वमा सोंच नबदलिएसम्म खेलाडीहरुले दिलाउने खुसी स्थायी नहुने उनी बताउँछन् ।

उस्तै छ उपेक्षा

मंगलबारकै दृष्यले पनि देशले पाएको सफलतामा अगाडि देखिन लालायित नेतृत्वमा क्रिकेटप्रति लगाव, रुचि र जिम्मेवार नरहेको पुष्टि गर्छ । एक महिनाको अवधिमा दोस्रो ठूलो उपलब्धि क्रिकेट टीमले पाइरहँदा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान समेत गएनन् ।

मंगलबार कीर्तिपुरमा युवा पंक्ति उर्लिएका बेला प्रचण्ड दोलखाको जिरीतिर उडे । ‘त्यहाँ गुम्बा उद्घाटन गर्ने कार्यक्रम थियो, त्यसैमा जानु परेकाले कीर्तिपुर जान पाउनु भएन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । उनका अनुसार, ङाग्युर येश्ये ख्युङ्जोङलिङ गुम्बा उद्घाटनको कार्यक्रम पूर्वनिर्धारित भएकाले त्यता जानु परेको हो ।

गत २ चैतमा सनसनीपूर्ण जित निकालेर ओडीआई मान्यता जोगाउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाउँदा चाहिँ प्रचण्ड कीर्तिपुर गएका थिए । लगत्तै खेलाडीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले क्रिकेट क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्ने बताएका थिए ।

‘म दश वर्ष अगाडि मन्त्री हुँदा जति बजेट थियो, अहिले पनि उत्ति छ । लगानी नभएपछि उपलब्धि हुँदैन’, पूर्वखेलकुदमन्त्री पुरुषोत्तम पौडेल भन्छन् ।

तर अहिलेसम्म प्रधानमन्त्री प्रचण्डले विभागीय मन्त्री समेत बनाउन सकेका छैनन् । १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि आठ पटक मन्त्रिपरिषद विस्तार गर्दा १७ जना पूर्वमन्त्री भइसके । तर कुनैपनि पटकको मन्त्रिपरिषद विस्तारमा खेलकुद मन्त्री नियुक्त भएनन् । बरु हुँदै नभएको काम भएको भनी प्रचार गर्दा प्रधानमन्त्री आलोचित हुनु परेको छ ।

कीर्तिपुरबाट फर्किएपछि प्रचण्डको निर्देशनमा फ्लड लाइट जडान सम्पन्न भएको भन्दै सचिवालयकी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी थिइन् । जबकी तथ्य भने आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमै फ्लड लाइट जडान गर्न १० करोड विनियोजन भएर पनि उक्त योजना अगाडि बढ्न सकेको थिएन । मंगलबार प्रिमियर कप जितेर सिंगो मुलुक खुसी भइरहँदा पनि प्रधानमन्त्री प्रचण्ड नभएर उनको सचिवालयबाट स्टाटसमार्फत बधाइ लेखियो ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरुको योगदानको उच्च सम्मान सहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’, लेखिएको छ ।

खेलाडीले जित्दा अपनत्व लिन होड गर्ने, तर अरु भन्दा खेलकुद मन्त्रालय र खेल क्षेत्रलाई उपेक्षित गरिने प्रवृत्ति भने अहिले मात्रै देखिएको होइन । खेलकुद उपेक्षित रहेको बुझाउने एउटा उदाहरण नेताहरुकै रोजाइमा खेलकुद मन्त्रालय नपर्नु पनि हो ।

२०६३ सालदेखि अलग मन्त्रालयका रुपमा चलिरहेको खेलकुद मन्त्रालयको नेतृत्व अपवाद बाहेक कोही पनि उच्च तहका नेताले लिएन । गत १० पुससम्म मन्त्री रहेका महेश्वरजंग गहतराज, त्यसअघि जगत विश्वकर्मा, दावा तामाङ, कृष्णगोपाल श्रेष्ठ, राजन केसी, दलजित श्रीपाइली, पुरुषोत्तम पौडेल, कमला रोका, हितमान तामाङ, ओनसरी घर्तीमगर, गोपाल शाक्य लगायतले यो मन्त्रालयको नेतृत्व सम्हाले । उनीहरु कोही पनि पार्टीभित्र ठूलो भूमिकामा थिएनन् ।

‘मन्त्री भागबण्डा पुर्‍याउने उद्देश्यले शिक्षाबाट खेलकुदलाई अलग मन्त्रालय बनाइयो । अनि सबै मन्त्रालय रोजेपछि बल्ल खेलकुदको पालो आउने हुन थाल्यो’, एक पूर्व खेलकुद मन्त्री भन्छन् । नेताहरुको प्राथमिकतामा खेलकुद मन्त्रालय नपर्नुमा न्यून बजेट हुनु हो । चालु आवमा खेल क्षेत्रका लागि भनेर बजेटको ०.१६ प्रतिशत (दुई अर्व ७४ करोड) विनियोजन भएको थियो ।

पूर्व खेलकुदमन्त्री पौडेल, अरु मन्त्रालयमा बजेट बढेपनि खेलकुदको घटाउँदै लैजानुले सरकारको प्राथमिकतामा यो क्षेत्र नरहेको प्रष्ट हुने बताउँछन् । ‘म दश वर्ष अगाडि मन्त्री हुँदा जति बजेट थियो, अहिले पनि उत्ति छ । लगानी नभएपछि उपलब्धि हुँदैन’, उनी भन्छन् ।

निवर्तमान मन्त्री गहतराज खेलकुदलाई हेर्ने दृष्टिकोणमा समस्या हुँदा आवश्यक बजेट विनियोजन हुन नसकिरहेको बताउँछन् । ‘खेल क्षेत्रमा खेलाडीले भविष्य सुरक्षित देखेन भने खेलको विकास हुँदैन’ उनी भन्छन्, ‘तर म मन्त्री हुँदा खेलाडीहरुबारे मैले गरेको प्रस्ताव बमोजिम रकम विनियोजन गर्न अर्थमन्त्री तयार हुनुभएन ।’

खेलकुदलाई आर्थिक विकास, स्वस्थ जनशक्ति उत्पादन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका रुपमा नबुझेसम्म खेल क्षेत्रमाथि उठ्न नसक्ने उनको बुझाइ छ । ‘परम्परागत सोंचले खेलकुद भनेको जित्दा रमाउने र अरुबेला सामान्य गतिविधि मात्रै मान्छ’ उनी भन्छन्, ‘तर यस्तो सोच रहेसम्म खेल क्षेत्रको खुसी बेलाबेलाको संयोग मात्रै हुनेछ ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?