+
+

विद्यालय हिँडेका बालबालिका विद्यालय पुग्नै पाएनन् …

रासस रासस
२०८० वैशाख २० गते २०:३२

२० वैशाख, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलाका बालबालिका सधैँझै विद्यालय जान सडक छेउमा उभिएका थिए । बिहान ९ः३० बजे सडक छेउमा छ जना बालबालिका विद्यालय जानका लागि विद्यालय पोशाक लगाएर तयारी अवस्थामा थिए ।

आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खाना खाइवरी बस कुर्नका लागि सडक छेउमा बसिरहेका हुन् । यतिकैमा अचानक डुम्रेतर्फबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो। उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो ।

ठक्करबाट विद्यालय जान तयारी गरिरहेका छ विद्यार्थी र अन्य दुई जना घाइते भए । विद्यालय जान हिँडेका विद्यार्थी घाइते भएपश्चात् अस्पताल जान बाध्य भए । घाइते अवस्थामा उनीहरुलाई तत्कालै चितवनको पुरानो मेडिकल कलेज पठाइयो ।

घाइतेमध्ये १२ वर्षीय आयुष भुजेलको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामै घाइते ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘बालबालिका विद्यालय जाने तयारीसहित बसिरहेका थिए, एक्कासि ट्रक आएर ठक्कर दियो । एक जना बाबुको मृत्यु भयो, अन्य पाँच जना बालबालिका घाइते अवस्थामा उपचाररत छन्’, बन्दीपुर-५ का वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले भने, ‘विद्यालय हिँडेका बालबालिका अस्पताल जानुपर्दा दुःखद् भयो।’

ट्रकको ठक्करबाट तीन जनाले ज्यान गुमाएपछि याम्पा आँधीखोला शोकमा डुबेको लामिछानेले बताउनुभयो । घरदेखि १५/२० मिनेटको दूरीमा अवस्थित विद्यालय जान बालबालिका सधैँ गाडी चढेर पुग्थे ।

दुर्घटनामा सोही विद्यालयमा अध्ययन गर्ने छ वर्षीया आयुषा भुजेल, दश वर्षीया जस्मिन भुजेल, दश वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समिर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?