 
																			२१ वैशाख, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले खोला उत्खननका लागि गरेको टेण्डरप्रति स्थानीय वासिन्दाले विरोध जनाएका छन् ।
वडा नं ६ मा पर्ने सरहन खोला उत्खननका लागि नगरपालिकाले टेण्डर आह्वान गरेसंगै सरहनबारी गाउँका वासिन्दाले उत्खननका कारण पानीको मुहान सुकेको, बस्ती क्षेत्रमा कटान भएको र वन क्षेत्र विनाश भएको भन्दै उत्खनन रोक्ने चेतावनी दिएका छन् ।
१५० घरधुरी रहेको सरहनबारी गाउँको खानेपानीको स्रोत सरहन खोला भएकाले हेभी इक्वीपमेन्ट प्रयोग गरेर उत्खनन गर्दा पानीको मुहान सुक्दै गएको, खोला भासिएर बस्ती पहिरोको जोखिममा परेको स्थानीय अगुवा लोकेन्द्र जर्घामगरले बताए ।
‘टेण्डर गरेलगत्तै नगरपालिका, राष्ट्रपति चुरे संरक्षण विकास समिति, वन कार्यालयमा डेलिगेसन गएर टेण्डर रद्ध गर्न अनुरोध गरेपनि थोरै आर्थिक लाभका लागि बेवास्ता गरेपछि गाउँलेहरुले उत्खनन् गर्न नदिने निर्णय गरेका छन्’, उनले भने, ‘सिंगो गाउँ प्रांगारिक कृषिमा आश्रित छ, उत्खननले पानीको मुहान सुक्दै जाँदा गाउँलेको जीविकोपार्जन नै तहसनहस हुन्छ ।’
उक्त गाउँमा रहेको सरहन कालिका सामुदायिक वन उपभोक्ता समूहले उत्खननबाट हुने समस्या र प्रभावबारे ध्यान नदिएको, स्थानीयलाई जानकारी समेत नदिई टेण्डर गरिएकाले यसमा वन उपभोक्ता समूहको पनि असहमति रहेको जनाएको छ । वनका अध्यक्ष होमबहादुर वाकावल र सचिव देविका कनौजे सुनारी मगरले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीयका समस्या र मागलाई बेवास्ता गरी जबरजस्ती उत्खनन् गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नगरपालिकाले अन्य खोलासंगै वडा नं ६ र ९ मा पर्ने सरहन खोलाको ३ लाख ३९ हजार घनफिट नदीजन्य पदार्थ उत्खनन्का लागि न्यूनतम ५० लाख ८५ हजार ३१६ रुपैयां तोकेर टेण्डर आह्वान गरेको थियो ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4