+
+

बनिसकेका घरको नक्सा पास गर्न महानगरमा ७ हजार बढी निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १४:१९

२२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा निर्माण सम्पन्न भइसकेका घरको नक्सा पास गर्न ७ हजारभन्दा बढी निवेदन परेको छ ।

गत २३ भदौ २०७९ मा मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न महानगरले ९० दिनको समय दिंदै निवेदन आह्वान गरेको थियो । सोही सूचनालाई आधार मानेर अहिले नक्सा पास गर्न भन्दै निवेदन दिनेको चाङ लागेको महानगरले जनाएको छ ।

प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको महानगरले जनाएको छ । बाँकी निवेदकबाट नक्सा दर्ता गर्ने लगायत प्रक्रिया चलिरहेको छ । सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पेश गर्न सकिने भन्दै सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र नक्सा पेश नगर्नेहरुको विवरण संकलन गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४, भवन संहिता सम्बन्धी प्रचलित व्यवस्था र महानगरको निर्णय बमोजिम कारबाही हुने छ ।’

शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यका अनुसार गएको साउनदेखि शहरी विकास विभागले ९६२ वटा डीपीसी (ड्याम प्रुभ कोर्स) स्वीकृत गरेको छ भने १ हजार ७३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ । यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन् ।

‘महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ देखि ०७८/७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको छ । आर्थिक वर्षहरुमा क्रमशः ८६ वटा, ७७ वटा, ६५ वटा र ५० वटा भवनको नक्सा स्वीकृत भएको हो’ शाक्यले भने ।

महानगरले १ वैशाख २०८० देखि ५ हजार स्क्वायर फिटसम्मका भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडाहरुलाई नै प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?