+
+

आर्थिक मन्दीले निजी क्षेत्र संकुचित भयो, ब्याजदर घटाउनुपर्छ : महासंघ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १७:५७

२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र मन्दीमा गएको र निजी क्षेत्र संकुचित बन्दै गएको बताएको छ । पछिल्ला तीन त्रैमासमा आर्थित वृद्धिदर ऋणात्मक रहनुले अर्थतन्त्रमा मन्दीको अवस्था देखाएको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋृणात्मक हुनु भनेको निजी क्षेत्र संकुचित हुँदै गएको संकेत भएको महासंघले जनाएको छ । अर्थतन्त्रमा तत्काल सुधारको कार्य सुरु नगर्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिंदै जाने भन्दै महासंघले सरकार र केन्द्रीय बैंकलाई सम्वेदनशीलताका लागि आग्रह गरेको छ ।

‘राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको छ । कार्यालयका अनुसार यस वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ।

महासंघले एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएपनि सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेको महासंघले जनाएको छ ।

महासंघले सरकार र नेपाल राष्ट्र बैंक संवेदनशील हुनुपर्ने आवश्यकता थप महसुस भएको बताएको छ । ‘अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्नेछ । उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करिब १६ प्रतिशतले ऋणात्मक हुँदा बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौति गरि पूँजीगत खर्च बढाउनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

निजी क्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने माग महासंघले गरेको छ । केन्द्रीय बैंकले नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरी ब्याजदर घटाउन पहल गर्नुपर्छ महासंघले माग गरेको छ । यस्तै पुराना ऋणीहरुले सावाँब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको निष्कृय कर्जा करिब चार प्रतिशत पुगिसकेको भन्दै कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरणको सुविधा दिइनुपर्ने माग महासंघले गरेको छ ।

‘नौ महिना यता लगातार सात प्रतिशतभन्दा बढी मूल्य वृद्धिदर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशः घटिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रले निर्वाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्ता समेत सँँगसँंगै प्रभावित भएकोले तत्काल सुधारको कार्य नथाल्ने हो भने अर्थतन्त्रको मन्दी लम्बिंदै जानेतर्फ महासंघले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?