+
+

‘केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १२:०४

काठमाडौं । फिल्म ‘द केरला स्टोरी’लाई लिएर भारतमा राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) शासित उत्तरप्रदेश र मध्यप्रदेशले यो बहुचर्चित फिल्मलाई कर छुटको घोषणा गरेका छन् भने पश्चिम बंगालले फिल्मलाई प्रतिबन्ध लगाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार कर छुटको घोषणा गरे । उनको सचिवालयका अनुसार मुख्यमन्त्रीले मे १२ मा आफ्नो मन्त्रिपरिषद्का सदस्यसहित फिल्म हेर्ने भएका छन् । गत वर्ष उनले अक्षयकुमार स्टारर ‘सम्राट पृथ्वीराज’ फिल्म हेरेका थिए । उत्तर प्रदेशका बीजेपी सचिव अभिजित मिश्राले पनि विद्यालयका एक सय छात्रासँग फिल्म हेरेका थिए ।

मध्यप्रदेशपछि उत्तरप्रदेशले कर छुट दिएको हो । फिल्म हेरेपछि मुख्यमन्त्री शिवराजसिंह चौहानले कसरी लभ जिहादको नाममा हिन्दू युवतीहरुलाई जालमा पारिएको छ भन्ने कुराको चित्रण फिल्मले गर्ने बताए । जबर्जस्ती रुपमा धर्मान्तरणविरुद्ध फिल्मले सन्देश दिने प्रतिक्रिया पनि उनले दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकको चुनावी र्‍यालीमा फिल्मबारे बोलेका छन् । ‘फिल्म द केरला स्टोरीले विशेषगरी केरला जस्तो समाजमा आतंकवादको नतिजालाई उजागर गर्ने प्रयास गरेको छ, जुन मेहनती, प्रतिभाशाली र बौद्धिक व्यक्तिहरूको सुन्दरभूमि हो । कांग्रेस पार्टीले अब फिल्मलाई प्रतिबन्ध लगाउन र आतंककारी तत्वलाई समर्थन गर्ने प्रयास गरिरहेको छ,’ मोदीले उक्त चुनावी र्‍यालीमा भने ।

फिल्मले हिन्दू र मुसलमानबीच साम्प्रदायिक सद्भाव भड्काउन सक्ने भन्दै पश्चिम बंगालले प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मुख्यमन्त्री ममता बेनर्जीले सत्तारुढ बीजेपीले पश्चिम बंगाल फाइल्स फिल्म बनाउन लागेको भन्दै मोदीको विरोध समेत गरेकी छन् ।

भारतीय फिल्म अभिनेत्री शबाना आजमीले फिल्मलाई प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेकी छन् । ‘केन्द्रीय चलचित्र जाँच समितिले प्रमाणपत्र दिइसकेको छ भने फिल्मलाई प्रतिबन्ध लगाइनु उचित हुँदैन,’ भारतीय सञ्चारमाध्यमसँग उनले भनेकी छन् ।

मुम्बई प्रहरीका अनुसार फिल्मको कास्ट एण्ड क्रिउलाई अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि प्रहरीले सुरक्षा दिन थालेको छ । यो फिल्म गत शुक्रबारदेखि नेपालमा समेत रिलिज भएको छ । सुदीप्तो सेन निर्देशित फिल्मले दक्षिण भारतीय राज्य केरलाका ३२ हजार हिन्दू युवतीलाई कसरी जबर्जस्ती मुसलमान धर्मान्तरण गरेर आईएसआईएसजस्ता आतंकवादी संगठनमा भर्ती गर्नेबारेको कथा पेश गरिएको छ ।

फिल्मले चार दिनमा ४५.७२ करोड भारु कमाइ गरेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?