+
+

ललितले पर्खिएको त्यो ह्याट्रिक बल

भोलिपल्ट अर्थात् करिब २१ घण्टापछि मैदानमा उत्रिंदा ललित आफैं पनि एकखालको दबावमा थिए । यूएई पनि योजना बदलेर आयो । ह्याट्रिकको अवसर टर्‍यो । ‘उही दिन भएको भए चाहिं ह्याट्रिक हुन सक्थ्यो, त्यतिको विश्वास थियो’, उनी भन्छन् ।

नमिता दाहाल नमिता दाहाल
२०८० वैशाख २७ गते १९:११

२७ वैशाख, काठमाडौं । उच्च लयमा रहेको नेपालले घरेलु मैदानमा एसीसी प्रिमियर लिगको उपाधि जितेर भारत र पाकिस्तानसँग खेल्ने सपना देखिरहेको थियो । तर डर थियो, वर्षाको ।

वर्षाकै कारण फाइनल खेलको नतिजा नबिग्रियोस् भन्ने चिन्ता मैदानमा उत्रने क्रिकेटरलाई जत्तिकै समर्थकमा पनि थियो । लगातार भइरहेको वर्षाले समूह चरणमा कतारसँगको खेल नतिजाविहीन भइसकेको थियो ।

यूएईसँग फाइनल खेल हुने १८ वैशाखको मौसम पनि राम्रो थिएन । यद्यपि टस भयो, नेपालले जित्यो । टस जितेकाले योजना बमोजिम पहिले फिल्डिङ रोजेर फटाफट विकेट लिइरहँदा दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान, कीर्तिपुर उल्लासमय बनिरहेको थियो ।

२७ ओभर सकिंदा सात विकेट गुमाएर यूएईले १०६ रन मात्रै बनाएको थियो । तर क्रिजमा रहेका आसिफ खानले एक छक्का र सात चौका प्रहार गरी ५२ बलमा ४६ रन बनाइसकेका थिए । आसिफ तिनै ब्याट्सम्यान हुन्, जसले दुई महिनाअघि कीर्तिपुरमै लिग टूको खेलमा नेपाल विरुद्ध ४१ बलमै शतक हानेर कीर्तिमान बनाएका थिए ।

उनै आसिफ विरुद्ध बलिङ गर्न कप्तान रोहितकुमार पौडेलले २८औं ओभरका लागि रोजे, ललितनारायण राजवंशी । राजवंशीको पहिलो बलमै रन जोड्ने आसिफको प्रहार रोहितले नैै उत्कृष्ट फिल्डिङबाट जोगाए ।

दोस्रो बलबाट आसिफ आफैं जोगिन सकेनन् । स्लिपमा आरिफ शेखबाट आसिफ क्याच आउट गरे । यो विकेट नेपालका लागि कति ठूलो सफलता थियो भन्ने खेलाडीसँगै दर्शक रमाएको दृश्यले भन्थ्यो ।

त्यो खुसीको सेलेब्रेसन नसकिंदै ललितले तेस्रो बलमै उस्तै शैलीले जाहुर खानलाई आउट गरे । तर यसपटक ललित धेरैबेर रमाएनन् । ‘बल कतिबेला (एम्पाएरले) दिनुहुन्छ, त्यो मात्रै सोचिरहेको थिएँ’, ललित सम्झन्छन् । अर्थात् बादलले आकाश छोपिरहँदा ललितको मनमा ह्याट्रिक गर्ने हतारो आँधी झैं कुदेको थियो ।

तर जाहुरको विकेट एम्पाएरले प्रष्ट देखेनन् । थर्ड एम्पाएर कल भयो । रिभ्यू हेर्न पूरै तीन मिनेट लाग्यो । दर्शकदीर्घाबाट एकोहोरो हुटिङ भइरह्यो— ह्याट्रिक, ह्याट्रिक …।

‘मेरा मनमा पनि, कानमा पनि ह्याट्रिक चलिरहेको थियो’ ललित भन्छन्, ‘ह्याट्रिक हुन्छ भन्ने विश्वास बढेको थियो ।’

विकेट दिन ढिलाइ गरिएकोमा नेपालका कप्तान रोहित एम्पायरसँग कुरा गर्नै पुगे । जबकि त्यसअघि एम्पाएरसँग बल माग्न पुगेका कुशल मल्ललाई रोहितले नै फर्काएका थिए । तर रोहितले आग्रह गर्दा पनि खेल सुरु भएन । बरु वर्षा सुरु भयो । खेल अर्को दिनलाई स्थगित गरियो ।

‘मलाई त्यो एक बल फाल्न दिएको भए हुने भन्ने भएको थियो’, ललित भन्छन् । खेल स्थगित भए पनि ललित शान्त रहन सकेनन् । ‘मोबाइल हेर्छु, सबैले ह्याट्रिक मात्र लेखेको छ । दर्शकले त्यसै भनिरहेका छन्’, उनी भन्छन् ।

ह्याट्रिक टर्‍यो, देशले जित्यो

१९ वैशाख बिहान ९ बजे पनि कीर्तिपुर मैदान अघिल्लो दिनकै जस्तो दर्शकले भरिएको थियो । क्रिजमा थिए, जुनैद सिद्दकी ।

ललितको ह्याट्रिक बलको प्रतीक्षा उनको मात्रै थिएन । दर्शकदीर्घा हुटिङले उचालिएको थियो । ‘ह्याट्रिक बल थियो । समर्थकको हुटिङले थोरै नर्भस थिएँ । एकपटक त फाल्दा फाल्दै रोकिएँ, दोस्रो पटक फाल्न सकें’ ललित भन्छन् ।

विकेट किपर आसिफले स्टम्पिङको जोडदार अपील पनि गरेका थिए, तर सिद्दकीले ब्याटिङ क्रिज नछाडेका कारण ललितको ह्याट्रिक योजना सफल हुन सकेन । यदि ललितले त्यो बलमा विकेट लिएका थिए भने उनको आफ्नो करिअर र नेपाली टीमकै निम्ति कीर्तिमान बन्ने थियो । किनकि अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेटरले ह्याट्रिक गरेका छैनन् ।

ललितलाई अहिले पनि लाग्छ, यदि पहिलो दिन नै त्यो बल फाल्न पाएको भए ह्याट्रिक हुन सक्थ्यो ।

भोलिपल्ट अर्थात् करिब २१ घण्टापछि मैदानमा उत्रिंदा उनी आफैं पनि एकखालको दबावमा थिए । यूएई पनि योजना बदलेर आयो । ह्याट्रिकको अवसर टर्‍यो । ‘उही दिन भएको भए चाहिं ह्याट्रिक हुन सक्थ्यो, त्यतिको विश्वास थियो’ भन्छन्, ‘भोलिपल्ट चाहिं सबैले म्यासेज गर्ने, फोन गरेर ‘ल अब भोलिको पहिलो बल ह्याट्रिक हुनुपर्छ’ भन्दा प्रेसर नै त होइन तर…!’

आफ्नो ह्याट्रिक विकेट नभए पनि नेपालले उपाधि जित्यो, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने तय भयो, ललितनारायण राजवंशी त्यसमै खुसी छन् ।

ललितको दोस्रो इनिङ्स

ललितनारायण राजवंशी, नेपाली क्रिकेटमा सन् २०१५ देखि सुनिएको नाम हो । यू–१९ टिमको बन्द प्रशिक्षणमा परेयता उनी तीन वर्ष उमेर समूहको राष्ट्रिय टिमबाट खेले ।

नेपाल क्रिकेटमा वसन्त रेग्मीको विकल्पमा हेरिएका उनी सन् २०१७ मा पहिलोपल्ट राष्ट्रिय टिममा परे । अर्को वर्ष नेदरल्यान्ड्स विरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरे । २०१९ मा यूएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरे । त्यसको एक वर्षपछि लिग टू अन्तर्गत अमेरिकासँगको एउटा खेलमा अवसर पाए ।

त्यसपछि चोट र कोरोना महामारीका कारण झण्डै दुई वर्ष क्रिकेटबाट बाहिर रहे, जुन निकै कठिन समय थियो । २०७७ मा अभ्यासका क्रममा चोट लागेपछि अपरेसन गरेका उनी आफ्ना कठिन दिन सम्झिन्छन्, ‘अस्पतालमा भेट्न आउनेहरूले अब नखेल, सक्दैनौ भन्नुहुन्थ्यो । बेडमा सुतिरहँदा नकारात्मक सोच पनि आउने रहेछन् । क्रिकेटमा फर्कन सक्दिनँ कि भन्ने डर भइरहन्थ्यो ।’

तर फिजियोथेरापी गर्न सुरु गरेपछि भने ललितलाई क्रिकेट खेल्न सक्छु जस्तो लाग्न थाल्यो । आफ्ना पुराना भिडियो हेरेर आफ्नै खेलको विश्लेषण गरे । सँगै खेल्दै गरेका साथीहरूसँग सल्लाहसुुझाव लिए । उनकै शब्दमा भन्दा आफैंलाई चिन्ने मौका पाए । आफ्नो सिनियर करिअरमा सन् २०१७ देखि २०२० सम्मलाई पहिलो इनिङ्स मान्ने ललित भन्छन्, ‘त्यो बेला मैले आफैंलाई दिएको समयले मलाई अहिले यो तरिकाको कमब्याक गर्न सहज बनायो ।’ अहिले त उनी स्वर्णिम समयमा छन् ।

प्रशिक्षक मोन्टी देशाई मुख्य प्रशिक्षक भएर आएपछि नेपाली टिम अभूतपूर्व लयमा छ, त्यही लयमा छन् ललित । लिग टूको पछिल्लो १२ मध्ये ११ खेल जितेको नेपालले एसीसी प्रिमियर कप पनि जितेर एसिया कपमा स्थान बनाएको छ ।

नेपाली राष्ट्रिय टिमका हरेक खेलाडीमा रहेको जितको भोक नै सफलताको प्रमुख कारण रहेको ललितको अनुभव छ । ‘अहिलेको हाम्रो सफलताको सूत्र भनेको सबै खेलाडीलाई आफ्नो रोल र प्रोसेस थाहा हुनु हो’ उनले थपे, ‘सबैमा भएको जितको भोकका कारण हामीले एकपछि अर्को सफलता हात पार्न सकिरहेका छौं ।’ ललितको योगदान स्मरणयोग्य छ ।

यूएईसँग उनको अनौठो संयोग पनि छ । उनले यूएई विरुद्ध चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका थिए । लिग टू शृंखलाको अन्तिम खेल (२ चैत) मा यूएई विरुद्ध उनले विशाल घरेलु समर्थकमाझ खेल्ने पहिलो अनुभव लिएका थिए ।

‘लिग २ को अन्तिम खेलमा मैले पहिलो बल फ्याँक्न लाग्दा जति जति पिचतर्फ पुग्थें त्यति त्यति पछाडिबाट आवाज बढ्थ्यो । त्यति धेरै मान्छेअघि पहिलोपल्ट खेल्दा धेरै डर थियो’ त्यो पल सम्झँदा अहिले पनि उनको शरीरमा काँडा उम्रिन्छ । जीउ सिरिङ्ग हुन्छ, ‘त्यो दिन मैले मेरो देशका लागि खेलिरहेको थिएँ । बल ठाउँमा खसेन भने पछाडिको भीडले मलाई के गर्ला भन्ने मात्र रह्यो ।’

आफ्नो पहिलो ओभर सकिएपछि अनुभवी बलर सन्दीप लामिछानेसँग कुराकानी गरे, अरू टिममेटले पनि बढाए । अर्को ओभरमा अयान लाक्राको विकेट लिएर नेपाललाई पहिलो सफलता दिलाए । खेल नेपालले ९ रनले जित्यो ।

प्रिमियर कपको फाइनलमा त उनी चम्किए । उनले महत्वपूर्ण चार विकेट लिएका थिए ।

हरेक खेलाडीको बलियो पक्ष पहिल्याउने र टिमलाई चाहिएको बेला प्रयोग गर्न माहिर प्रशिक्षक मोन्टीले त्यो दिन ललितलाई पहिलो ओभरमै बलिङ गर्ने रणनीति बनाए ।

ललितका अनुसार साथीभाइले तिमीले पहिलो विकेट लियौ भने नेपालले खेल जित्छ भनेर हौस्याएका थिए । पहिलो विकेट ललितको नाममा त आएन तर, योगदान थियो । सोमपाल कामीको आउट स्विंगर बललाई शट प्रहार गर्न खोजेका यूएई कप्तान मोहम्मद वासिमलाई ललितले गली क्षेत्रमा जम्प गरेर क्याचआउट गराए । ‘त्यो दिन पहिलो विकेट मेरो नाममा नआए पनि कतै न कतै मेरो पनि योगदान भएकाले जितिन्छ भन्ने मनोबल भयो’, ललित भन्छन् ।

अब आसन्न एसिया कपलाई सिकाइको माध्यम बनाउँदै विश्वकपसम्म पुग्ने योजनामा छन् । पछिल्लो नतिजा र लयले नेपाल टिमले जे पनि गर्न सक्छ भन्ने आत्मविश्वास सबैमा आएको छ । खेलाडीका रूपमा ललितलाई पनि त्यस्तै लाग्छ ।

‘एसिया कपमा जित्छ भनेर दाबी गर्दिनँ, तर राम्रो प्रभाव भने पक्कै छाड्छौं’ ललितले आफ्नो कुरा टुंग्याए, ‘भविष्यको कुरा यही त भन्न सक्दैनौं । यही फर्म रहिरह्यो भने टी–२० र एकदिवसीय विश्वकप रेगुलर खेल्नेछौं ।’

तस्वीरहरू : विकास श्रेष्ठ, आर्यन धिमाल, चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?