+
+

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे सत्तारुढ नेताहरुको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते १८:२८

२ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन्।

सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। त्यसैका लागि सुझाव लिन मंगलबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका नेताहरुसँग छलफल गरेका नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘कतिपयले मौखिकरुपमा पनि राख्नुभयो’, छलफलपछि पाण्डेले भने, ‘समयको चाप भएकाले बाँकी रहेकाले लेखेर दिनुहोला भनेर भनेपछि आजको बैठक सकिएको छ ।’

छलफलमा कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र युवा प्रतिभा पायलन रोक्न शिक्षामा सुधार गर्नुपर्ने कुरा सुझावका रुपमा आएको उनले बताए ।

‘कृषि र पर्यटनलाई अलि जोड दिएर रोजगारी सिर्जना गर्ने र प्रतिभा पलायन हुँदै युवा शक्ति जसरी बाहिर गइरहेको छ, त्यसलाई रोक्न यहाँको शिक्षालाई कसरी व्यवस्थित गर्न सक्छौं भनेर सुझाव दिने काम भएको छ’, पाण्डेले भने ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनले आफूहरुले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको बताए।

‘समय नभएको हुनाले हामीले सुझाव भरेभोललि लेखेर दिने कुरा छ। हामीले त अब हाम्रा सुझाव कार्यान्वयन हुने भए त धेरैठाउँ लथालिंग छ राष्ट्रको। कृषिमा, उद्योगमा, शिक्षामा, स्वास्थ्यमा कहाँ छैन गडबडी ? त्यसकारणले त्यो सुधार गर्नुपर्छ । नयाँ शिराबाट जानुपर्छ’ केसीले भने ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सत्तारुढ दलमा आवद्ध नेताहरु सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?