 
																			३ जेठ, काठमाडौं। सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पुर्याउँदै आएका छन् ।
सौराहामा कमाण्डरका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाउछन् । उनको रेष्टुरेन्टमा पुगेर खानेहरु त हुन्छन् नै देशका विभिन्न भागबाट माग गर्नेको पनि कमी हुँदैन। उनले पूर्वको इटहरीदेखि काठमाडौँसम्म हाँसका परिकार तयार पारेर पठाउँदै आएका छन् ।
पछिल्लो समय बनेका परिकार जहाजबाट उनले पठाउने गर्छन् । पैसा अनलाइन सेवामार्फत् उनको खातामा आउँछ। साँझपख उनका पाँच वटै कटेज भरिएर आँगनमा पाहुना हाँसका परिकारमा रमाउने गर्दछन् । कोभिडपछि व्यापार घटेको दुखेसो उनको छ । अनठाउन्न वर्षीय कमाण्डरलाई अबका दिन विगत जस्तो काम गर्ने जाँगर भने छैन ।
विगत सम्झँदै उनले भने, ‘एकै दिन १२ वटासम्म हाँसका परिकार बनाएर काठमाडौं पठाएँ, रेष्टुराँमा २४ वटासम्म हाँस बनाएर पाहुनालाई खुवाएको छु।’ जिउँदो हाँसलाई काटेर सालको दाउराको आगोमा पोलेर हड्डी छुट्याएर आफैले सिलौटीमा पिनेको मसलामा पकाएको हाँसको स्वाद धेरैले मन पराएको उनी बताउँछन् ।
छुट्याएको हड्डीलाई मिठो हुने गरी उनले सुप बनाउँछन् । बाहिर पठाउँदा मसला मोलेको तयारी मासु र हड्डी छुट्टाछट्टै उनले पठाउने गर्छन् । उनले भने, ‘सालबाहेकका दाउरा प्रयोग गर्दिन, बजारको मसला राख्दिन ।’ अदुवा र लसुनको लेदोले उनले बनाएको हाँसको छोइलाको स्वाद धेरैलाई मनपर्ने गर्दछ । हाँससँगै उनले स्थानीय खोलामा पाइने माछा र स्थानीय जातका कुखुराका परिकार पनि खुवाउँछन् ।
उनीसँगै श्रीमती, तीन छोरा, दुई बुहारी सँगसँगै काम गर्छन् । भर्खरै मात्र छोरीको विवाह भएकाले काम गर्न छाडेको उनले बताए । उनले भने, ‘सबै परिवार मिलेर काम गर्छौं।’ कमाण्डरको आफ्नै जीवनकथा छ ।
नेपाली सेनामा १६ वर्ष सेवापछि विसं २०५४ मा निवृत्त भएसँगै उनको पेसा रेष्टुराँ बन्यो। भरतपुरको गीतानगरमा जन्मिएका उनले निवृत्त जीवनसँगै सौराहामा रेष्टुराँ सुरु गरे ।
चरम द्वन्द्वको समयमा हतियार खेलाउन जानेका कमाण्डरलाई माओवादीले सँगै लैजाने डरले भागेर उनले बुटवल र वीरगन्जमा लुकेर गार्डमा काम गरे ।
द्वन्द्व मत्थर भएपछि पुनः सौराहा फर्किएर उनले थप सङ्घर्ष गरे । जेनतेन श्रीमतीले धानेको रेष्टुरेन्टलाई राम्रो बनाएर सौराहाको हात्तीचोक वरिपरि चार ठाउँमा सर्दै रेष्टुरेन्ट चलाए । त्यहाँ बचाएको रकमले उनले हात्तीचोक भित्रपट्टी ३८ धुर जमिन पनि किने ।
त्यही जमिनमा अहिले उनको घरसहितको कटेज छ । यही कटेजबाट विसं २०७३ देखि उनको रेष्टुरेन्ट सञ्चालन हुँदै आएको छ । त्यहाँ कहिले रु ४५ हजारसम्मको व्यापार हुन्छ भने कहिले केही पनि हुँदैन ।
थारु जातिको परम्परागत स्वादका पारखीका लागि कमाण्डरको रेष्टुराँ रोजाइ बन्ने गरेको छ । चितवन र बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकसमेत यहाँ हाँसको परिकारमा रमाउन पुग्ने गर्दछन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4