+
+
वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीसँग अन्तर्वार्ता :

‘इ-सिगरेटले धुम्रपानको लत छुटाउन सकिन्छ भन्नु भ्रम’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० जेठ ६ गते ९:३०

काठमाडौं । पछिल्लो समय युवाहरूमा इ-सिगरेट (विद्युतीय चुरोट)प्रति आकर्षण देखिन्छ । यसको प्रयोग गर्दा आफूलाई स्टाइलिस्ट देखिन्छ भन्ने सोच पनि धेरैको हुन्छ । कतिपयले यो चुरोटजति हानिकारक हुँदैन र धुम्रपानको लत छाड्न पनि सहयोग गर्छ भनेर प्रयोग गर्ने गरेको पाइन्छ ।

तर के इ-सिगरेट अन्य चुरोटभन्दा सुरक्षित हुन्छ त ? अन्य चुरोट र यसमा के फरक छ ? यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन ? यिनै विषयमा केन्द्रित रहेर ह्याम्स अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

के हो इ-सिगरेट ?

इ-सिगरेट एक प्रकारको इलेक्ट्रोनिक इनहेलर हो, जसमा निकोटिन र अन्य रासायनिक तरल पदार्थ भरिन्छ । यो इनहेलरले ब्याट्रीको ऊर्जाबाट तरल पदार्थलाई बाफमा परिणत गर्छ । जसले गर्दा यो प्रयोग गर्नेलाई चुरोट पिएजस्तो लाग्छ । जसमा विभिन्न स्वाद पनि समावेश गरिएको हुन्छ । इ-सिगरेटमा प्रयोग हुने तरल पदार्थमा निकोटिन हुन्छ । यसमा खतरनाक रसायनहरू पनि हुन्छन् ।

इ-सिगरेट र अन्य चुरोटमा के फरक छ ?

सामान्य चुरोटमा तम्बाकु र निकोटिन हुन्छ, जबकि इ-सिगरेटमा निकोटिनको मात्रा हुन्छ ।  निकोटिनको काम भनेको लत बसाउने हो । चुरोट जलाउँदा धुलोका कणहरू, विभिन्न प्रकारका रसायन र ग्यास निस्कन्छ । इ-सिगरेटमा विभिन्न रासायनिक ग्याँसको केही मात्रामा कम हुन्छ । तर पछिल्लो समय विभिन्न अध्ययनले इ-सिगरेट पनि अन्य चुरोटजस्तै स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा उल्लेख गरेको छ ।

यसले स्वास्थ्यमा कुनै असर गर्छ कि गर्दैन ?

यूएस हेल्थ एण्ड ह्युमन साइन्सको रिपोर्टका अनुसार इ-सिगरेटले हाम्रो फोक्सोलाई धेरै प्रकारका केमिकलको सम्पर्कमा राख्छ । यसमा तरल तम्बाकु र फ्लेभर मिसाइन्छ । जसले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

निकोटिन, प्रोपाइलिन ग्लाइकोल र फ्लेभरले गर्दा लगातार इ-सिगरेट प्रयोग गर्दा खोकी लाग्ने र घाँटीमा खसखस हुने, घाँटी दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।

यसको सेवनले ब्रोंकाइटिस फोक्सोको वायुमार्गको सुजन हुन्छ । दमको समस्या भएकाले यसको प्रयोग गर्दा समस्या झन् बढ्ने हुन्छ । यसको प्रयोग लामो समय गर्दा कालान्तरमा दम रोग निम्तने जोखिम समेत रहन्छ ।

इलेक्ट्रिक सिगरेट आफैंले पनि फोक्सोमा फाइब्रोसिस गराउँछ । फाइब्रोसिस भनेको फोक्सोको तन्तुहरूको आकार बढ्नु तथा दाग देख्नु हो । जसले फोक्सोलाई बिगार्छ र फोक्सोको क्यान्सर समेत हुन सक्छ ।

नेसनल हार्ट, लङ एण्ड ब्लड इन्स्टिच्युटका अनुसार इलेक्ट्रोनिक सिगरेटको अत्यधिक प्रयोगले शरीरको रक्तनलीलाई हानि पु¥याउँछ । यसले हृदयरोगको जोखिम बढाउँछ । यदि तपाईं धुम्रपान छोड्ने प्रयास गर्दा चुरोट र इ-सिगरेट दुवै प्रयोग गर्दै हुनुहुन्छ भने यो अझ ठूलो जोखिम कारक हुन सक्ने बताएको छ ।

इ-सिगरेटको प्रयोग गरेर धुम्रपानको लत छोड्न सकिन्छ ?

पहिले इ-सिगरेटको प्रयोग गरेर धुम्रपानको लत छोड्न सकिन्छ र इलेक्ट्रोनिक सिगरेटलाई पनि सजिलैसँग छोड्न सकिन्छ भनिन्थ्यो । तर अहिले यो इ-सिगरेट सुरक्षित छैन भनेर विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो अन्य चुरोटजतिकै हानिकारक छ भनेको छ ।

इ-सिगरेटको प्रयोग गर्ने व्यक्तिले पछि कालान्तरमा अन्य चुरोटको सेवन गर्ने सम्भावना समेत बढ्छ । यसमा हुने निकोटिनले गर्दा इ-सिगरेट र सामान्य चुरोट दुवैको लत बस्ने सम्भावना हुन्छ, जसलाई छुटाउन गाह्रो हुन्छ ।

जसरी हुक्कालाई फेसनको रूपमा प्रयोग गरिन्छ, त्यसरी इ-सिगरेटलाई पनि फेसनको रूपमा प्रयोग गर्दागर्दै लत नै बस्छ । त्यसैले इ-सिगरेटको प्रयोग गरेर धुम्रपानको लत छोड्न सकिन्छ भन्नु भ्रम मात्र हो ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?