+
+

गरिब देशमा थुप्रिदै धनी देशको फोहर, यस्तो छ वातावरणीय अपराधको यथार्थ

एजेन्सी एजेन्सी
२०८० जेठ ६ गते ७:४८

नाफा कमाउने गम्भीर अपराधको कुरा गर्दा तपाईंको दिमागमा के कुरा आउँछ ? लागुपदार्थको तस्करी, नक्कली औषधि तथा विषाक्त खानकुराको व्यापार, महिला तथा बालबालिकाको बेचबिखन, जुवा तथा नक्कली नोटको कारोबार आदि । तर सायद तपाईंलाई पत्यार नलाग्न सक्छ कि यो सूचीको तेस्रो स्थानमा पर्यावरणसँग सम्बन्धित अपराध रहेको छ ।

पर्यावरणीय अपराधको माध्यमबाट विश्वमा अपराधीहरुले मनग्गे पैसा कमाइरहेका छन् र पर्यावरणमा क्षति पूराइरहेका छन् । तर त्यसतर्फ विश्व समुदायको ध्यानाकृष्ट हुन सकेको छैन ।

एक तथ्यांक अनुसार विश्वमा पर्यावरणसँग सम्बनिध्त अपराधबाट बर्सेनि एक खर्ब १० अर्बदेखि दुई खर्ब १० अर्ब डलरसम्म नाफा गरिरहेका छन्,अपराधीहरुले ।

युरोपोलका अनुसार लागुऔषध तथा नक्कली सामानको व्यापारपछि सबैभन्दा धेरै मुनाफा दिने अपराध पर्यावरणीय अपराध नै हो । सबैभन्दा गम्भीर पक्ष त के भने पर्यावरणसँग सम्बन्धित अपराधहरु न त धेरै गम्भीर लाग्दछन्, न त त्यो पत्ता लगाउन नै सजिलो हुन्छ ।

रुख काट्नु अपराध हो ?

अमेजनको जंगल विश्वमा सबैभन्दा ठूलो उष्णप्रदेशीय जंगल हो । जीवहरुको श्वासप्रश्वासका लागि उपलब्ध अक्सिजनमध्ये २० प्रतिशत यहीँ जंगलबाट आउँछ । त्यसैले यसलाई पृथ्वीको फोक्सो पनि भनिन्छ । तर पछिल्ला दशकहरुमा अमेजन जंगलले तीव्र रुपमा नोक्सानी बेहोरिरहेको छ । वन फँडानी त भएकै छ, त्यहाँ बसोबास गरेका आदिवासीका बस्तीहरु समेत उजाडेर फ्याँकिएको छ । विरोध गर्ने मानिसको हत्या गरिन्छ । अमेजन जंगलको काठ संसारका विकसित देशहरुमा तस्करी भैरहेको छ । यस्तो अपराध लगातार भैरहेको छ । यसमा ससानो गिरोह होइन, संगठित अपराधी समूहको सहभागिता छ ।

इकोसाइड अर्थात् पर्यावरण हत्या

जब मानिसको हत्या वा क्रूरताको अपराधमा सजाय हुन्छ भने वातावरणको हत्यामा किन सजाय नहुने ? रुख कटान गर्दा तथा नदीलगायतका जलस्रोत प्रदूषित गराउँदा मानिससँगै पूरै पर्यावरणमा असर भैरहेको परिप्रेक्ष्यमा सजायँ किन नहुनुपर्ने ? यहीँ तर्कका साथ विश्वभरका पर्यावरण अभियानकर्मीहरु एकजुट भैरहेका छन् । इकोसाइड अर्थात् पर्यावरण हत्यालाई पनि युद्ध अपराध वा नरसंहारजस्तो अपराधको श्रेणीमा राखियोस् भन्ने उनीहरुको माग छ ।

अमेरिकाले भियतनामाथि गरेको थियो पर्यावरणीय हमला

सबैभन्दा पहिले इकोसाइड शब्द अमेरिका-भियतनाम युद्धका समयमा प्रयोग भएको हो । त्यसबेला अमेरिकाले भियतनामका नदीहरु तथा जमिनलाई प्रदूषित गर्नका लागि त्यहाँ एउटा विशेष प्रकारको झारपात नासक विष फैलाएको थियो । जासूसी भाषामा यसलाई एजेन्ट अरेन्ज भनिएको थियो । अमेरिकाले आफ्नो शत्रुराष्ट्रलाई पराजित गर्नका लागि सो मुलुकको माटो तथा पानीलाई विषाक्त बनाइदिएको तथ्यको खुलासा धेरैपछि मात्र भएको थियो ।

वातावरणीय अपराध कुन कुन हुन् ?

यसको निकै लामो सूची छ जसमा सबैभन्दा पहिले वन्यजन्तु अपराध आउँछ । यसमा वनस्पति तथा वन्यजन्तु दुवैमा हुने नोक्सानी सामेल हुन्छ । साथै अवैध उत्खनन, अवैध रुपमा माछा मार्ने काम तथा प्रदूषण फैलाउने कार्यहरु पनि पर्यावरणीय अपराधको श्रेणीमा पर्दछन् । यी सबैलाई इकोसाइड भनिन्छ ।

फोहोरको तस्करी !

फोहोरको तस्करी गर्दै गरेको सांकेतिक तस्वीर ।

फोहोरको अवैध विसर्जन पनि पर्यावरणसँग सम्बन्धित अपराध हो, जसको माध्यमबाट अपराधीहरुले निक्कै पैसा कमाइरहेका छन् । यसमा सामान्य रुपमा कुहिने जैविक फोहोरदेखि खतरनाक किसिमका फोहोरहरु समेत हुन्छन्, जस्तै सिरिन्ज, बिग्रिएका विद्युतीय सामान तथा बिगि्रएका औषधिहरु आदि । यस्तो प्रकारका फोहोरको सही व्यवस्थापन आवश्यक छ ताकि यसबाट पृथ्वीमा रहेका जिवजन्तु तथा यहाँको समग्र पर्यावरणमा असर नपरोस् । फोहोर व्यवस्थापनका लागि हरेक देशमा आ-आफ्नै कानून पनि छन् । तर पैसा जोगाउनका लागि अपराधी संगठनहरुले यस्ता फोहोरहरुलाई अवैध तरिकाले एक देशबाट अर्को देशमा लगेर छाडिदिन्छन् ।

विकसित देशहरुबाट गरिब देशका सीमाक्षेत्रमा फोहोर लगेर थुपार्ने गरिएको छ । फिलिपिन्स, घाना, नाइजेरिया, भियतनाम, पाकिस्तान तथा बंगलादेश जस्ता देशहरुबाट बेलाबेलामा यस्तो खालका समाचार आउने गर्दछन् कि त्यहाँ रातारात नकुहिने फोहोरको थुप्रो जम्मा हुने गरेको छ ।

संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमका अनुसार अमेरिकाबाट मात्रै वार्षिकरुपमा झण्डै १२ अर्ब डलरको अवैध फोहोरको तस्करी भएर यत्रतत्र पुर्‍याइन्छ ।

सन् २०१८ मा इन्टरपोलले सार्वजनिक गरेको एक तथ्य अनुसार फोहोर तस्करीको हरेक खेपमा तस्करहरुलाई लाखौँ डलरको फाइदा हुने गर्दछ । त्यसमा पनि प्लास्टिकको फोहोर सबैभन्दा धेरै छ ।

अन्तर्राष्ट्रिय नियम के छ ?

धनी देशहरुले आफ्नो फोहोरलाई गरिब देशमा लगेर नछाडुन् भन्नका लागि अन्तर्राष्ट्रिय महासन्धि नै बनेको छ ।

फोहोर अवैध विसर्जनविरुद्धिको यो महासन्धिको नाम बासेल महासन्धि हो । सन् १९८९ मा हस्ताक्षर भएको यो सन्धिमा हालसम्म १८८ देशले हस्ताक्षर गरिसकेका छन् । यो सन्धिमा फोहरको तस्करी रोक्नुका अलावा फोहरको व्यवस्थापन तथा नियन्त्रणको प्रावधान पनि रहेको छ । तर यो सन्धीले फोहरको तस्करीमा खासै फरक परेको छैन । त्यसैलाई मध्यनजर गर्दै सन् २०१९ मा यसमा केही संशोधन पनि गरियो । त्यसपछि पनि गरिब देशहरु धनी देशका लागि फोहर फ्याँक्ने रछ्यान बनिरहनु परेको छ । सरकारहरुले पनि प्रायः यो विषयमा नजरअन्दाज गर्दछन् किनकि फोहरको सही व्यवस्थापन निकै खर्चिलो विषय हो ।

एक देशबाट अर्को देशमा कसरी जान्छ फोहर ?

प्रायः फोहरलाई कुनै प्रडक्टको नाम दिइएको हुन्छ ता कि यसलाई सजिलोसँग ढुवानी गर्न सकियोस् । आमरुपमा तस्करहरु यसका लागि अवैध मार्गहरु खोज्दछन् जसमा सामान सजिलोसँग एकबाट अर्को ठाउँमा प’न सकोस् । यद्यपि कतिपय बेला सामानरुपी फोहर जफत समेत हुन्छ ।

सन् २०१९ मा नाइजेरियामा एउटा यस्तै ढुवानी पक्रिइएको थियो जसमा चार हजार टन विषाक्त फोहर थियो । तर त्यसलाई मलको नाम दिइएको थियो । वर्ल्ड काउन्ट्सका अनुसार उक्त फोहर कहाँबाट आएको हो भन्ने पत्ता लागेन । त्यो फोहरलाई जफत गरेर नष्ट गर्ने सबै काम र खर्च नाइजेरिया सरकारले नै गर्नुपरको थियो ।

युरोपेली युनियनको पहल

युरोपेली युनियनका सदस्य मुलुकहरुले यस विषयमा छलफल गर्न सुरु गरेका छन् । इयू सदस्य देशहरुको अन्तर्राष्ट्रिय फौजदारी न्यायालयमा राम्रो प्रभाव छ । त्यसैले उनीहरुले प्रभावकारी दबाब दिन सकेभने छिटै नै पर्यावरणीय अपराध पनि गम्भीर अपराधको श्रेणीमा पर्दछ । तत् पश्चात् त्यस्तो अपराधमा अन्तर्राष्ट्रियस्तरमै सजायँ हुनेछ भने अपराध पत्ता लगाउनका लागि पर्यावरणीय गुप्तचर पनि राख्न सकिनेछ । यसमा पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्ने विश्व संस्थाहरुले काम गर्नेछन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?