+
+

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जनक विष्ट जनक विष्ट
२०८० जेठ ६ गते १६:४६

६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरु पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका छन् ।

मुख्यमन्त्री शाहले शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका थिए । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह मन्त्री बनेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका झपट साउदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । त्यसपछि मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए । यद्यपि आफूहरु छलफलमै रहेको उनले बताए ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?