 
																						६ जेठ, धनगढी । सुुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको नेतृत्व सम्हालेको १०१ औँ दिनमा शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । शाहले माओवादी केन्द्रबाट दुई जना मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसबाट एक जना मन्त्री नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् ।
यद्यपि उनको मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन । २६ माघ २०७९ मा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री बनाएका थिए ।
त्यतिबेला देउवाले भौतिक पूर्वाधार मन्त्रालय र शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएका थिए भने बाँकी मन्त्रालय मुख्यमन्त्री मातहतमै थियो । ३ महिना भन्दा लामो अवधि ३ सदस्यीय मन्त्रिपरिषदलाई १०१ औं दिनमा ७ सदस्यीय बनाए पनि अझै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रिक्त छ ।
शनिबार माओवादीबाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका झपटबहादुर साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका पृथ्वीबहादुर सिंहले शनिबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा माओवादीकी गीतादेवी माल नियुक्त भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टी सरकारमा गएन
१०१ औं दिनमा मन्त्रिपरिषद विस्तार गर्दा पनि मुख्यमन्त्री शाहले मुख्य सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिन सकेनन् । मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । तर उसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।
सुदूरपश्चिम सरकार विस्तारबारे काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा नागरिक उन्मुक्तिलाई दुई मन्त्रालय दिनेगरी सहमति भएको उक्त पार्टीका नेताहरुको दाबी छ । त्यसमा सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र लचिलो नबनेकै कारण सरकारमा सहभागी नभएको उनीहरुको भनाइ छ ।
‘बालुवाटारमा भएका सहमति कार्यान्वयन गर्न उहाँहरु तयार हुनुुभएन । सोही कारण हामी सरकारमा गएनौँ’, नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले अनलाइनखबरसँग भने, ‘भोलि केन्द्रीय कमिटीको बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार र समसामयिक विषयमा निर्णय लिन्छौं ।’
२८ वैशाखमा नगरिक उन्मुक्ति पार्टीले दुई वटा मन्त्रालय पाउने सहमति भएको भन्दै तत्कालिन संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीको जिम्मेवारी हेरफेर गरेको थियो ।
उनीहरु दुवै जनालाई प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार नाउपाले सामाजिक विकास मन्त्रीमा रामेश्वर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीमा लक्ष्मणकिशोर चौधरीलाई नियुक्त गरिदिन भन्दै नाम समेत पठाएको थियो ।
मुख्यमन्त्री शाहले शुक्रबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए तर अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीकै कारण शनिबारका लागि सरेको थियो । शनिबार समेत नाउपाले मन्त्रीको नाम नदिएपछि सरकारले पूर्णता पाउन सकेन ।
‘हाम्रो कुरो स्पष्ट छ । बालुवाटारमा प्रधानमन्त्रीज्यूसँग भएको सहमतिअनुसार दुई मन्त्रालय पाउनुपर्छ भन्ने थियो त्यो भएन आज हामी सरकारमा गएनौँ’, प्रवक्ता दामोदर पण्डितले अनलाइनखबरसँग भने, ‘यसबारे पार्टीको बैठक बसेर चाडै निर्णय लिन्छौँ ।’
मन्त्रिपरिषद् विस्तारपछि संक्षिप्त प्रतिक्रिया दिदै मुख्यमन्त्री कमलबहादुर शाहले भने नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।
‘नागरिक उन्मुक्ति पार्टीसँग हामी निरन्तर संवादमा छौँ । उहाँहरुले सरकार नजाने भन्नुभएको छैन’, शाहले भने, ‘सरकार विस्तारका सम्बन्धमा उहाँहरुका केही कुरा थिए त्यसबारे संवाद जारी छ ।’
नाउपाले दुई वटा मन्त्रालयमा दाबी गरेको कुरा स्वभाविक भएको बताएका मुख्यमन्त्री शाहले भागबण्डाका सम्बन्धमा नेतृत्व तहमा राखेका कुरा टुंग्याएर सरकारमा सहभागी हुने बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4