+
+

फरार ढोरपाटनका मेयरसहित इमेज सहकारीका सञ्चालकलाई यात्रा अनुमतिमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १२:०५
इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली ।

८ जेठ, पोखरा । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको थियो । गृहको निर्देशन अनुसार उनीहरुलाई कालो सूचीमा राखिसकिएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘अब ब्ल्याक लिस्टमा परेकाहरु हाम्रो इमिग्रेसन पार गरेर जान सक्दैनन्,’ भुसालले भने ।

कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको छ । मेयर नेपालीसहित सहकारीका पदाधिकारी केही दिनदेखि सम्पर्कविहीन छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् भने सहकारीमा धर्नासमेत दिइरहेका छन् । जेठ ५ गते उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यवाहकको पत्र दिएर नेपाली सम्पर्कविहीन बनेका थिए । एक महिनादेखि सहकारीले कारोबार बन्द गरेको छ ।

बचतकर्ताले आफ्नो रकम संकटमा परेको भन्दै महिना दिन अगाडि नै सहकारी घेरेका थिए । त्यो बेला अध्यक्ष नेपालीले अहिले देशैभरि आर्थिक संकट रहेको र जग्गा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालीसहित पदाधिकारी र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता त्रसित छन् ।

नेपाली विदेश जान सक्ने सम्भावना रहेकाले गृहले पत्राचार गरेर यात्रा रोक्न निर्देशन जारी भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सहकारीले १ अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

बचत रकम फिर्ता नगरी सञ्चालक सम्पर्कबिहीन भएको भन्दै पोखराका बचतकर्ता पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी बोकेर पुगेका थिए । ‘बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै निवेदन दिएर गएका छन्,’ कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले भने, ‘महानगरपालिकाले पनि अनुसन्धान गरिरहेको छ ।’

पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले सहकारीको सम्पति रोक्का गर्न पठाइएको जानकारी दिए । बागलुङमा दुई महिना पहिलेदेखि नै यो समस्या बाहिर आएको भए पनि पोखरामा वैशाख २५ गतेतिर निवेदन आएको छ ।

वैशाख २८ गते देवकुमार नेपाली, पोखराका मेयर धनराज आचार्यसहित महानगरमा छलफल गरी सम्पति विवरण मगाएर रोक्का राख्न पठाइएको पौडेलले जानकारी दिए । तर, बचतकर्ताले त्यतिलेमात्र आफूहरुको रकम सुरक्षित नरहने बताइरहेका छन् ।

नेपालीसहित, श्रीमती छेला नेपाली, अहिलेका सञ्चालक र व्यवस्थापकसहित भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सम्पति रोक्का गर्न पठाइएको पौडेलको भनाइ छ । भूमि व्यवस्थापन विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गरेर बल्ल महानगरमा जानकारी आउने पौडेलले जानकारी दिए । नेपाली, उनकी श्रीमती, सहकारीका पदाधिकारी तथा सञ्चालकको सबै सम्पति विवरण खुलिसकेको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?