+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

नेपाल प्रहरीले भन्यो : आईजीपीलाई विवादमा तान्न खोज्नु गलत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १७:३९

१० जेठ, काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको बताएको छ ।

बुधबार एक विज्ञप्ति जारी प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको बताएको हो ।

प्रहरी प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमा भनेका छन्, ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’

मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखकै भूमिका शंकास्पद रहेको अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो । उक्त समाचारप्रति प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘…समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरुप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’

नेपाल प्रहरी संविधान, कानुन र संगठनको मूल्य मान्यतामा अडिग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले दोषी नछुटुन् र निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिवद्ध रहेको पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अपराधी जोसुकै होस्, उसलाई बचाउन होइन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुबैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार तथ्य प्रमाणविना महानिरीक्षकलाई विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ ।’

हेर्नुहोस् प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?