+
+

सरकारी वकिलको दाबी : टोपबहादुर पनि प्रमुख योजनाकार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १८:३२

१० जेठ, काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वउर्जामन्त्री एवं सांसद टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकारमध्येका एक रहेको दाबी गरेको छ ।

सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पेश गरेको अभियोगपत्रमा नक्कली शरणार्थी प्रकरणमा रायमाझीको अनेक भूमिका देखिएको उल्लेख छ ।

नक्कली शरणार्थीहरुलाई विदेश पठाउनकै लागि उनले शरणार्थी नेता टेकनाथ रिजाललाई भेटेर सहयोगको प्रस्ताव गरेको, योजना बनाएर बारम्बार मिटिङ र छलफल गरेको, बाबुछोराले रकम बुझेको, गृहमन्त्रालयभित्र यसै विषयमा भएको झैझगडा मिलाएको अनि गृहमन्त्रालयमा रहेको प्रतिवेदन साटफेरमा भूमिका खेलेको अभियोगपत्रमा उल्लेख छ ।

रायमाझीमाथि गिरोह बनाएर नेपालीलाई नक्कली शरणार्थी बनाउन खोजेको र त्यसक्रममा शरणार्थी नेता रिजाललाई भेटेको आरोप छ । अभियोगपत्रमा भनिएको छ, ‘सानु भण्डारी र केशवप्रसाद दुलालले टेकनाथ रिजाललाई रायमाझीको घरमा ल्याई भेट गराउँदा उनले भुटानी शरणार्थीहरुलाई अमेरिका पठाउँदा नेपालीहरुलाई पनि भुटानी बनाई अमेरिका पठाउने आफ्नो योजना रहेको र त्यस काममा सहयोग गरिदिन अनुरोध गरेको भन्ने टेकनाथ रिजालको बयानमा खुलेको….. ।’

नेपालीलाई नक्कली शरणार्थी बनाउन सन्देश शर्मा, सानु भण्डारी र केशवप्रसाद दुलाल लगायतले ललितपुरको बखुण्डोलस्थित टंक गुरुङको रेष्टुरेन्टमा बारम्बार छलफल र मिटिङ गरेको भन्दै त्यसलाई पनि अपराधमा संलग्नताको आधार बनाइएको छ ।

टोपबहादुरले सानु भण्डारीबाट एक करोड ६० लाख रुपैयाँ नगद बुझेको र छोरा सन्दीप रायमाझीले बैंकखातामा ४० लाख रुपैयाँ लिएको अभियोगपत्रमा उल्लेख छ ।

रायमाझीले बयानका क्रममा गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईको कार्यकक्षमा सानु भण्डारी र केशव दुलालबीच लेनदेनको विषयमा भनाभन र हातपात हुँदा आफूले छुट्याएको बताएका थिए । प्रहरीले त्यो घटनालाई अपराधमा संलग्नता पुष्टि हुने आधारको रुपमा चित्रित गरेको छ ।

अभियोगपत्रमा भनिएको छ, ‘ईन्द्रजित राईको कार्यकक्षमा विवाद भई हात हालाहालसम्म भएको हुँदा म समेत गई छुट्याएर तीन जनालाई कार्यकक्ष बाहिर लगेको । त्यति बेला इन्द्रजित राईले अबदेखि यिनीहरुलाई भित्र पस्न नदिनू भनी आदेश दिएको बयानमा स्वीकार गरेको ।’

प्रहरीले सानु भण्डारीको घरबाट डायरी बरामद गरेको थियो । डायरीमा टोपबहादुर रायमाझीसहित विभिन्न नेता र व्यक्तिहरुको नाममा दिएको रकमको विवरण खुलाइएको छ । रायमाझीलाई उनले ‘टोपबहादुर मामा’ भनी संकेत गरेका थिए ।

प्रहरीले उनी योजनाकारमध्येका एक रहेको भन्दै पीडितबाट रकम उठाउन आरोपितहरुलाई परिचालन गर्ने र माथिल्लो तहमा चलखेल गरी काम अघि बढाउन खोजेको आरोप लगाएको छ ।

गृह मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन कार्यदल गठन गरेको थियो । त्यो प्रतिवेदनमा ४२९ जना छुट भुटानी शरणार्थी भनी नाम उल्लेख भएकोमा रायमाझी लगायतको समूहले नक्कली नाम थपेको आरोपपत्रमा उल्लेख छ ।

गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेमार्फत पुरानो प्रतिवेदन बाहिर ल्याएर त्यसमा व्यहोराहरु थपी फेरबदलको काम गरेको आरोपसमेत उनीमाथि छ । उनीमाथि भुटानी शरणार्थीका नाममा संगठित अपराध, लिखत कीर्ते र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र लिखत कीर्तेको कसूर समेत गरेको आरोप छ ।

अभियोगपत्रमा भनिएको छ, ‘टोपबहादुर रायमाझीले नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आवद्ध भई नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पु¥याई ठगीको कसूर गरेको पुष्टि हुन आयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?