
१० जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कप भलिबलमा नेपाल टिम भारतसँग खेल्नुअघि दबावमुक्त थियो । समूह एबाट दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले दबावमुक्त भएर सशक्त प्राविधिक खेल खेल्ने रणनीति लिएको थियो ।
साढे तीन वर्षपछि भारतसँग प्रतिस्पर्धात्मक भलिबल खेलेको नेपाल टिमको प्रदर्शन भने तुलनात्मक रुपमा कमजोर देखियो । राखेप कभर्डहल त्रिपुरेश्वरमा भरिभराउ घरेलु समर्थकमाझ नेपाल ३–१ को सेटमा पराजित रह्यो ।
यो हारको कारण बन्यो– एक्सपोजरको कमी । नेपालका प्रशिक्षक र कप्तान दुवैले एक्सपोजरको कमीका कारण भारत जस्तो फिजिकल टिमलाई हराउन गाह्रो परेको बताए ।
‘हामीले प्रशिक्षण त गर्यौं, तर यत्तिको फिजिकल टिमसँग हामीले अभ्यास खेलमा खेल्न पाएनौं,’ कप्तान अरुणा शाहीले भनिन्, ‘जसले गर्दा आज हामीलाई गाह्रो भयो ।’
अघिल्ला दुई खेलमा किर्गिस्तान र बंगलादेशमाथि सोझो सेटको जितमार्फत सेमिफाइनलमा स्थान बनाएको नेपाल टिमको स्तर भारतले देखाइदियो । ‘हामीले साढे २ महिना प्रशिक्षण गरे पनि यस्तो फिजिकल टिमसँग प्रशिक्षण गर्ने मौका पाएनौं,’ नेपाली टिमका प्रशिक्षक जान डी ब्रान्टले भने, ‘जसका कारण हामीले आज यस प्रकारको नतिजा ल्यायौैं ।’
नेपालका लागि एक्सपोजर क्याचको खाँचो रहेको भारतीय प्रशिक्षक प्रितम सिंह चौहानले पनि महसुस गरेका छन् । ‘नेपाल र भारत दुवै टिमका लागि एक्सपोजरको जरुरत छ, खेलाडीले पर्याप्त खेल खेल्न नपाउँदा नतिजा यस्तो आएको हो’, उनले भने ।
बेल्जियन प्रशिक्षक ब्रान्टले सबै खेलाडीलाई रोटेसनमा खेलाएका थिए । खेलमा कप्तान अरुणा शाही, संगम महतो, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, पुनम चन्द र सलिना श्रेष्ठले पहिलो रोजाइमा खेलेका थिए ।
पहिलो सेटमा नेपालको प्रदर्शन निकै नै फितलो थियो । नेपालले रिसिभमा केहि सुधार गरे पनि डिफेन्स, एट्याक र ब्लकमा कमजोर देखियो । नेपाली स्पाइकरहरु सहजै ब्लक भइरहेका थिए भने टिमको सन्तुलन मिलाउन पनि कठिन भइरहेको थियो । भारतले लगातार १० अंक जोडेर ११–१ को अग्रता बनाउँदा नै पहिलो सेट नेपालको हातबाट फुस्किसकेको थियो । जुन सेट नेपालले २५–१२ ले गुमायो ।
‘खेलाडीले पहिलो हाफमा सिकाएको कुरा सबै बिर्सिए । जसका कारण हामी निकै नै कमजोर देखियौं तर त्यसपछिको सेटमा हामील पुनरागमन गर्यौ जुन निकै नै सकरात्मक पक्ष हो’, प्रशिक्षक ब्रान्ट सन्तुष्ट देखिए ।
कप्तान अरुणले थपिन्, ‘पहिलो सेटमा सायद मैले सेटिङ राम्रो गर्न नसकेर टिम फ्रिज भएको थियो, किनभनसेटले गरेको बल भने स्पाइकरले हानेकै हुन् ।’
दोस्रो सेटमा नेपाली खेलाडीबीचको सन्तुलन फर्किए पनि सेट जित्न पर्याप्त रहेन । सुरुवातमा अग्रता बनाएको नेपाल लगत्तै चुक्न पुग्यो । १३–१३ को बराबरी अवस्थाबाट मिडिल ब्लकर संगम महतो र स्पाइकर निरुता ठगुन्नाले लगातार दुई अंक ल्याएर १५–१३ को अग्रता दिलाए । त्यसयता खेल बराबर अंकको रुपमा प्रतिस्पर्धात्मक थियो । २३–२१ को अग्रता बनाउँदा नेपाललाई सेट जित्न २ अंक आवश्यक थियो ।
यहीँनेर नेपालको अनुभव कमजोर देखियो । भारतले पाँच अंक जोड्दा नेपालले १ अंकमात्र थप्न सक्यो । दोस्रो सेट नेपालले २६–२४ ले गुमायो ।
तेस्रो सेट नेपालका लागि खेलमा बसिराख्न जित अनिवार्य थियो । यो सेटमा ७–१० ले पछि परेको स्थितिबाट नेपालले १२–१२ को बराबरीमात्र गरेन अग्रता लियो । त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । नेपालले १८–१९ को अग्रताबाट लगातार आफ्नो पक्षमा अंक जोड्न सक्यो । सेट नेपालले २५–२१ ले जित्यो र खेलमा फर्कियो ।
चौथो सेट भारतका लागि निर्णायक थियो । खेलमा फर्कन यो सेट नेपालले जित्नैपर्ने थियो । सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक नै रह्यो । त्यसपछि नेपालले लगातार ३ अंक जोडेर भारतलाई १८–१५ ले पछि छोड्यो । निरुताको स्पाइक, रीमा कुँवरले सर्भिस र सरस्वती चौधरीले ब्लकमार्फत तीन अंक जोडेका थियो ।
तर, त्यसपछि नेपालले सोही लयलाई कायम राख्न सकेन । लगातार अंक जोडेर भारतले खेल १८–१८ को बराबरीमा ल्यायो र त्यसपछि अग्रता बनाउन थाल्यो ।
‘आधुनिक भलिबल खुल्ला खेल होइन, नेपालले सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको भलिबल तथ्याङकमा आधारित खेल हो,’ नेपालको कमजोरी औल्याउँदै ब्रान्टले भने, ‘भारतजस्तो देशलाई हराउनु छ भने हामीले यस्ता कुराहरुलाई ध्यानमा राखेर खेल्नुपर्छ ।’
१३औं दक्षिण एसियाली खेलकुदमा साढे चार वर्षअघि नेपालले अग्रता जोगाउन नसक्दा भारतसँग पाँचौं सेटमा पराजित हुनुपरेको थियो । त्यतिबेला सशक्त प्रदर्शन गरेकी मुख्य स्पाइकर प्रतिभा मालीको चोटग्रस्त हुँदा यो प्रतियोगितामा छैनन् । सायद नेपालले आज भारतसँग त्यसकै मूल्य चुकायो ।
सरस्वती चौधरी पूर्ण फिट नहुनु तथा उषा, निरुता र पुनमले पर्याप्त म्याच एक्सपोजर नपाउनु नेपाल टिमको कमजोरी रह्यो । तर कप्तान अरुणा पाएको बलमा सबैले राम्रै गरेको बताइन् । प्रतिभाबारे सोधिएको प्रश्नमा भने अरुणाले केही भन्न सकिनन् ।
यसअघि किर्गिस्तान र बंगलादेशविरुद्धका खेलमा नेपाल टिमको सामान्य कमजोरीहरु छरपस्ट भएका थिए । कमजोर टिममाथिको जितले ती कमजोरीहरु छायामा थिए ।
तर, भारतसँग निर्णायक क्षणहरुमा सर्भिस, एट्याक र ब्लकमा नेपाली खेलाडीहरुले बारम्बार कमजोरी गरिरहे । भारतका दुई अनुभवी स्पाइकर निर्मल र केपी अनुश्रीको प्रहार रोक्न तथा डिफेन्स गर्न नेपाल टिम असफल रह्यो । भारतका धेरै अंकहरुमा यी दुई खेलाडीको योगदान थियो ।
सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदयता नेपाल र भारतबीच नियमित प्रतिस्पर्धा हुने गरेको छ । आधिकारिक प्रतियोगितामा नेपाल टिमका लागि भारत सधैंको तगारो बन्दै आएको छ । १३औं सागमा नेपाल भारतविरुद्ध जितको नजिक पुगेर चुकेको थियो ।
प्रतियोगितामा पहिलो हारको नतिजा ब्यहोरेको नेपालले शुक्रबार सेमिफाइनलमा बलियो प्रतिस्पर्धी काजाकस्तानसँग खेल्नुपर्नेछ । एसियाकै पाँचौं वरीयतामा रहेको काजाकस्तान समूहमा शतप्रतिशत नतिजासहित सेमिफाइनल पुगेको हो । काजाकस्तानसँग सकारात्मक नतिजाका लागि नेपालले सकारात्मक भलिबललाई जोड दिनुपर्नेछ । त्यो भनेको आफ्नो गल्तीमा विपक्षीले पाउने अंक कम गर्ने नै हो । रचनात्मक र प्राविधिक चुस्ततासँगै काजाकस्तानसँग खेल्ने नेपालको रणनीति हुनेछ ।
‘सेमिफाइनलको खेल खेल्न हामीलाई भारतसँगको खेलले मद्दत पुग्यो । काजकस्तान र भारत दुवै फिजिकल टिम हुन् । हामीले उनीहरुसँग डिफेन्स र रिसेप्सनमा ध्यान दिएर खेल्नुपर्छ’, प्रशिक्षक ब्रान्टले भने ।
समूहमा शतप्रतिशत खेल जितेर सेमिफाइनल पुगेको भारतलाई भने सेमिफाइनल प्रतिस्पर्धा तुलनात्मक रुपमा सहज हुनेछ । उसले फाइनल प्रवेशका लागि उज्वेकिस्तानसँग खेल्नेछ ।
सेन्ट्रल एसियन भलिबल संघ (काभा)ले क्याटागोरी ए र क्याटागोरी बीका टिमहरु समावेश गरी पहिलोपल्ट यो प्रतियोगिता आयोजना गरेको हो । यसअघि क्याटागोरी बी टिमहरुबीचको प्रतिस्पर्धा नेपालले दुईपल्ट जितेको थियो । नेपालसँगै वरीयतामा माथि रहेका काजाकस्तान र भारत नै यो प्रतियोगितामा दावेदार टिमहरु हुन् ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4