+
+

नयाँ एयर रुट माग्न भारत पुगेको नेपाली टोली रित्तो हात फर्कियो

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ १२ गते २२:३९

१२ जेठ, काठमाडौं । नयाँ एयर रुट र एयर स्पेसबारे छलफल गर्न भारत गएको नेपालकाे सरकारी टोली निराश भएर फर्किएको छ । भारतले पुरानै शैलीमा ‘हेरौंला र प्रक्रियामा छौं,’ भन्नेजस्ता जवाफमै वार्ता सकाएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणअघि नयाँ एयर रुटको विषय टुंगो लगाउने नेपालको प्रयास असफल भएको हो ।

१७ जेठदेखि हुने प्रधानमन्त्रीको पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणभन्दा अघि भारत पुगेर सहमति गर्दै नयाँ एयर रुटलाई प्रधानमन्त्री भ्रमणको एजेन्डा बनाउन खोजिएको थियो ।

तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल भारतमा गरिएका छलफलहरु निष्कर्षमा नपुर्याइ फर्किनु परेको छ । भ्रमण टोलीमा सहभागी  एक अधिकारीका अनुसार वार्तामा भारतले आफ्ना चासोहरु व्यक्त गरेपनि कुनै औपचारिक समझदारी गर्न चाहेन ।

‘नमिलेका विषयहरु टुंग्याउन कुनै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएन,’ प्राधिकरण स्रोतले भन्यो,‘भैहरवा र पोखरालाई सहज हुने रुट दिनेबारे भारतीय उदाशीनता फेरि प्रष्ट भयो, हामी रित्तै हात फर्कियाैं । ’

नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ ।

नेपालले लामो सयमदेखि पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुट दिन भारतलाई आग्रह गर्दै आएको छ । ३२ अर्बभन्दा बढी लागतको भैरहवा विमानस्थल र महँगो चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पश्चिम नेपालका हवाई प्रवेश विन्दुसहितका रुट अत्यावश्यक छ । भारतले पश्चिमबाट एयर रुट दिए यो विमानस्थलमा उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु आकर्षित ती विमानस्थलका अधिकारीहरु बताउँछन् ।

तर, भारतले नयाँ एयर रुट दिन आनाकानी गर्ने क्रम ७ वर्षदेखि जारी छ । नेपाली पक्षको मागअनुसार २०७३ पुसमा हवाई प्रवेश विन्दु सम्बन्धी कोलकाता बैठक भएको थियो, जुन बिना निस्कर्ष टुंगिएको थियो । त्यसपछि २०७४ असोजमा बस्ने भनिएको बैठकमा निर्वाचन आचारसंहिताका कारण नेपाली टोली जान सकेन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैतमा भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग यो विषय उठाएका थिए । त्यसकै आधारमा २ असार २०७५ मा नेपाल नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं–विराटनगर र काठमाडौं–जनकपुर रुटलाई दुईतर्फी बनाउने र अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई रुटसहित प्रवेशमार्ग दिने सम्बन्धमा विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सक्ने सहमति भएको थियो । त्यसअनुसार उडान सुरक्षा मूल्यांकन टुंगो लगाउन नेपाली टोली दिल्ली पुग्दा एयरपोर्ट अथोरिटी अफ इन्डिया हवाई रुट थप्ने सहमतिबाट एकाएकपछि हटेको थियो ।

नेपाली अधिकारीहरुका अनुसार, भारतीय पक्ष ‘हाम्रो सेनाले पश्चिमबाट प्रवेश विन्दु दिन नमिल्ने जानकारी दियो’ भन्दै एयर रुटको बिषय बन्द गर्न खोजिरहेको छ । सो रुटको भूभागमा सेनाका बेस क्याम्पहरु रहेकाले एयर रुट र प्रवेश बिन्दु दिन नमिल्ने जवाफ भारतले दिएको थियो ।

पटक–पटक यस्तो जवाफ दिएकाले भारतले सहजै पश्चिम नेपालबाट प्रवेश विन्दु दिनेमा प्राधिकरणका अधिकारीहरु नै विश्वस्त छैनन् । कम्तीमा पश्चिम नेपालबाट एउटा मात्रै भएपनि नयाँ रुट लिने गरी वातावरण बनाउने यसपटकको प्रयास त झन प्राविधिकस्तरमै असफल भएको छ ।

नेपालमा हुनेमध्ये ६०–७० प्रतिशत अन्तर्राष्ट्रिय उडान पश्चिम नेपालकै रुटबाट हुन्छ । तर, नेपालमा हवाई सेवा सुरु भएदेखि नै अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकले सिमराकै हवाई विन्दु प्रयोग गर्नु परिरहेको छ ।

भुटानबाट आउने विमानले पूर्वको झापा र ल्हासाबाट आउने विमानले नुनिम विन्दु (ब्राबो ३४५) हवाई विन्दु पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पश्चिम रुट ((गल्फ ५८९) खाडी राष्ट्र अर्थात् मध्यपूर्वी देशहरु, टर्की, भारतको नयाँ दिल्ली जस्ता क्षेत्रबाट उडान भर्ने विमानहरु आउँछन् । पूर्वी रुट (रोमियो ५८१) बाट भने भारतको कोलकातासहित बंगलादेश, थाइल्यान्ड, मलेसिया, हङकङ, सिंगापुरलगायतका क्षेत्रबाट विमानहरु उडान भर्छन् ।

पश्चिम र पूर्वतर्फ भारतले नेपालले मागेअनुसार प्रवेश विन्दु नदिँदा भारतीय भूमि हुँदै सिमारासम्म आउनुपर्ने झञ्झटका कारण नेपाल आउने विमानले घुमाउरो रुट प्रयोग गर्नु परिरहेको छ । पूर्व वा पश्चिम जुन रुटबाट आएपनि विमानहरु सिमराकै विन्दुमा आएर काठमाडौं प्रवेश गर्ने बाध्यतामा छन् ।

नेपाली अधिकारीहरुका अनुसार भारतले महेन्द्रनगर वा पश्चिम नेपालको कुनै भागबाट  प्रवेशविन्दुका लागि अनुमति दियो भने नेपाल आउने ७० प्रतिशत विमान सिमरातर्फ नगई सोझै नेपालको आकाशमा प्रवेश गरेर काठमाडौं या भैरहवामा अवतरण गर्न सक्छन् ।

तर, भारतले नेपाललाई वर्षौंदेखि सिमराको हवाई विन्दु मात्रै प्रयोग गर्न दिएर पूर्व–पश्चिमबाट आउने सबै विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न बाध्य पारेको छ । यसरी नेपाल आउने विमानले लामो समय भारतीय आकाश प्रयोग गरेबापत सम्बन्धित वायसेवा कम्पनीले तिर्नुपर्ने नेभिगेसनसहित विभिन्न सेवा शुल्क भारत सरकारकै पोल्टामा पुगिरहेको छ ।

नेपालले मागअनुसार प्रवेश विन्दु पाउने हो भने नेपाली आकाशको प्रयोगबाट नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुले त्यस्ता सेवा शुल्कहरुबाट आम्दानी पनि गर्नसक्ने थिए । अहिलेको अवस्थामा भने घुमाउरो रुटले बढी समय लागेर विमान कम्पनीहरुको खर्च बढेको छ, यात्रुको हवाई टिकट पनि महंगिएको र लम्बिएको एयर रुटका कारण वायु प्रदुषण समेत बढेको छ ।

विज्ञहरुका अनुसार जति लामो उडान हुन्छ, उति नै हवाई सुरक्षा जोखिम पनि बढ्दै जान्छ । यस्तो अवस्था जान्दाजान्दै पनि भारत नेपाललाई पूर्व सहमतिअनुसार एयर रुट दिन तयार छैन ।

अधिकारीहरुका अनुसार पश्चिमतर्फबाट आउने विमानले भैरहवा वा महेन्द्रनगरबाट एयर रुट पाएर भैरहवा विमानस्थलमा पुग्न लाग्ने उडान समय २५ मिनेट छोटिन्छ । यसले गर्दा विमान सञ्चालन खर्च बढेर कम्पनीहरुको नाफाको हिस्सा गुम्छ ।

विज्ञअनुसार भैरहवाबाट एयर रुट र एयर स्पेस लिने हो भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने विमानले भारतको आकाशबाटै उचाइ घटाएर नेपाल आउन पाउँछन् । विमानस्थल सञ्चालनमा एयर रुटले व्यवधान ल्याएकोबारे जानकार हुँदाहुँदै पनि नेपाल सरकारले उच्चस्तरीय कुटनीतिक पहल पनि गर्न सकेको छैन ।

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थालेकै बेला यसका लागि भारतले पायक ठाउँबाट रुट नदिने चर्चा थियो । नेपाल सरकारले भने एयर रुट पाउनु आफ्नो अधिकार भएको तर्क गर्दै आएको थियो ।

एयर रुट मात्रै हैन, गौतमबुद्ध विमानस्थलमा नेपालले जोडेको कम भिजिबिलिटीमा पनि उडान अवतरण गर्नसक्ने प्रणाली ‘आईएलएस’ प्रयोग गर्न दिन समेत भारतले चासो दिएको छैन । विमानस्थलमा जोडेको यो प्रणालीको फ्रिक्वेन्सीले भारतको सीमा क्षेत्रको करिब २ किलोमिटर एयर स्पेस लिएपछि यसको प्रयोगमा भारतको अनुमति चाहिने अवस्था आएको छ ।तर, अनुमति दिन भारतले पटक्कै इच्छा नै देखाएको छैन । जबकी झापाको भद्रपुरमा आन्तरिक विमानस्थल भएकै कारण त्योभन्दा बढीको एयर स्पेस प्रयोगमा भारतले कुनै रोकतोक गरेको छैन ।

आईएलएसको प्रयोग गर्न पाएर भैरहवा उडान सुरक्षित भएर त्यसले पनि वायसेवा कम्पनीलाई भैहवा उडानमा प्रोत्साहन मिल्ने विश्वास प्राधिकरणका अधिकारीहरुको छ । तर, जति अनुरोध गर्दा पनि भारतले सुनुवाइ नगरेपछि यसपटक सरकारी टोलीमा भैरहवा विमानस्थलका प्रमुख पनि सामेल थिए ।

तर,  एयरपोर्ट अथोरिटी अफ इन्डियाले यसमा पनि औपचारिक सहमति जनाउन चाहेन ।

तर, भारतको कुशीनगरमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग चिन्तित रहेको भारत सरकार भैरहवाका लागि सजिलै ‘एयरस्पेस’ दिन्छ भन्नेमा नेपाली अधिकारीहरु अब  पनि आशावादी छैनन् ।

भारत नेपालमा चीन सरकारले लगानी गरेका परियोजनामा मात्रै हैन, चिनियाँ ठेकेदारमार्फत बनेका परियोजनासँग समेत व्यवसायिक ढंगले जोडिन चाहिरहेको छैन । पूर्ण स्वदेशी लगानीमा बनेको तर चिनियाँ ठेकेदारले सिभिलतर्फको निर्माण गरेको तामाकोशी जलविद्युत आयोजनाको बिजुली नकिनेर भारतले नेपाललाई यस्तो सन्देश दिइसकेको थियो । भैरहवा–दिल्ली उडान रोकेर भारतले नेपाललाई आफ्नो रणनीतिबारे थप पाठ पढाएको छ ।

‘भारतले नेपाललाई तत्कालै नयाँ एयर रुट र स्पेस दिने अवस्था छैन,’ प्राधिकरण स्रोत भन्छ,‘भारत भ्रमणमा प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्रीसँग यो विषयलाई गम्भीरताका साथ उठाउनुपर्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?