+
+

लुम्बिनी केबुलकारमा स्थानीयलाई २५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १८:५४

१४ जेठ, बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारले स्थानीयलाई २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

बुटवल उपमहानगरपालिका–३ मा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले यी दुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा २५ प्रतिशत छुट दिने घोषण गरेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार जेठ १५ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आउने र २५ गते औपचारिक उद्घाटन हुने बताए ।

२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केबलकारको उद्घाटन गरेका थिए ।

स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए ।

स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा लगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्यास गरेको तीन वर्षभित्रै सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धी भएको ढकालले बताए ।

लुम्बिनी केबलकारले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाका लागि छुट्याएको र उक्त रकम दुबै पालिकाले आधा आधा बाँडफाँट गर्ने ढकालले बताए ।

केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताए ।

खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।

बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तब्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताए । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको बताए ।

‘भविष्यमा दैनिक ५ हजार भारतीयलाई केबलकारमार्फत कामाख्यादेवीको मन्दिर दर्शन गराउने लक्ष्य छ’, ढकालले भने, ‘त्यसो हुन सक्यो भने प्रदेश राजधानी सरेको क्षतिपूर्ति केबलकारले गर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघको समेत अध्यक्ष रहेका ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतसंग हवाई रुटको अनुमति लिन महासंघले प्रधानमन्त्रीलाई दवाव दिएको बताए ।

तल्लो स्टेशन समुद्री सतहबाट २३० मिटर र माथिल्लो स्टेसन ९४० मिटरको उचाइमा रहेको छ । तल्लो स्टेशनबाट १० मिनेटको यात्रामै माथिल्लो स्टेशनमा पुग्न सकिन्छ ।

यसको लम्बाइ २.६ किलोमिटर रहेको छ । यो केबुलकारमा २५ यात्रु बोक्ने डिब्बा रहेको आयोजना प्रमुख गोकुल साउदले बताए ।

माथिल्लो स्टेशन बसन्तपुरमा भारतको गुवाहटीमा रहेको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा कामाख्यादेवी मन्दिर बनेको साउदले बताए ।

केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । माथिल्लो स्टेशनमा पर्यटकका लागि रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।

केबलकार सञ्चालनमा आएसंगै माथिल्लो स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, लगायत संरचना निर्माण हुने साउदले बताए ।

प्रति टिकट एक हजार कायम गरिएको शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ ।

उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?