+
+

कैलाली पुगेर रेशम चौधरीले भने : २०८४ मा चुनाव लड्ने हो

जनक विष्ट जनक विष्ट
२०८० जेठ १७ गते १८:४६

१७ जेठ, धनगढी । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका छन् ।

बुधबार कैलाली आएका उनले पत्रकारहरुसँगको कुराकानीमा आफू २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् ।

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । टीकापुर घटनामै दोषी ठहर भई जेलमा रहेका हरुलाई बुधबार भेट गरेका चौधरीले पत्रकारहरुसँगको कुराकानीमा आफ्नो राजनीतिक यात्राको बाटो नछेकिएको बताए ।

जन्मकैदको सजायबाट आममाफी पाए पनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि भन्ने पत्रकारको प्रश्नको जवाफमा रेशमले भने, ‘कसले भन्यो छेकिएको छ ? २०८४ मा म उठ्न्या हो, चुनाव जित्न्या हो ? कानी बन्देज कहाँ छ र कहीँ छैन’ चौधरीले भने, ‘रेशम दाजु चुनाव लड्न्या हो, जित्न्या हो र यो देशको बागडोर सम्हाल्ने हो ।’

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकी थिइन् । सो विषयमा प्रतिक्रिया दिँदै रेशमले अदालतले गर्ने जुुनसुकै फैसलाको सम्मान गर्ने बताए ।

‘यो देशको नागरिक भएको नाताले संविधान र कानुनको पूर्ण सम्मान गर्छु । हिजो पनि कानुनको पूर्ण सम्मान गरेर काराबास जीवन व्यतित गरेको हुँ’, चौधरीले भने, ‘लोकतन्त्रमा संविधानले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ । चित्त दुःखेको विषयमा जाने, गुनासो गर्ने हक सबैलाई छ । त्यहीअनुसार उहाँहरु पनि जानुभएको होला । न्यायालयले गर्ने जुनसुकै फैसलाको पनि सम्मान गर्छु ।’

चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक र प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने बताएका छन् । यद्यपि टीकापुर घटनाको वास्तविकता अर्कै भएपनि कथा अर्कै बनाइएको चौधरीले टिप्पणी गरे । ‘घटनाको कथा अर्कै थियो तर पटकथा लेखियो र फिल्म बनाइयो,’ उनले भने ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?