+
+

‘कोतपर्व’को नायिकामा नम्रता श्रेष्ठलाई प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १२:१३

काठमाडौं । नेपाली इतिहासको चर्चित राजनीतिक घटना कोतपर्वमाथि रिमेश अधिकारीले फिल्म निर्माण गर्दैछन् । आगामी माघ २१ गतेदेखि छायांकनमा जाने उनको तयारी पनि छ । यसका लागि उनी कलाकारलाई फाइनल गर्ने चटारोमा छन् । यसका लागि शीर्ष पात्रलाई अनुबन्धित गर्नेतर्फ उनको प्रयत्न देखिन्छ ।

नायक चरित्रका लागि उनले राजेश हमाल, सौगात मल्लसहित नाम चलेका कलाकारलाई प्रस्ताव गरेका छन् । यद्यपि शीर्ष अभिनेता तय भइसकेका छैनन् । अभिनेत्रीका लागि नम्रता श्रेष्ठलाई अप्रोच गरिएको खबर बाहिरिएको छ । नम्रतासँगको भेटलाई लिएर तस्वीर पनि सार्वजनिक पनि भइसकेको छ ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँगको मध्यस्थतामा नम्रता र निर्देशक अधिकारीबीच कुराकानी भएको हो । भेटमा सहभागी नेफ्टा अध्यक्ष लामाले दिएको जानकारीअनुसार फिल्म कोतपर्वलाई लिएर नम्रताले ग्रीन सिग्नल दिएकी छन् । फिल्ममा नम्रताले काम गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

कोतपर्वमा अभिनय गर्न सहमत भए उनको यो कमब्याक फिल्म हुनेछ । पछिल्लो फिल्म ‘जाइरा’ असफल भएपछि नम्रताले चार वर्षयता कुनै फिल्म गरेकी छैनन् । यसबीचमा उनले गर्ने भनिएका लाइनअपका फिल्म पनि निर्माण हुन सकेनन् । स्रोतका अनुसार स्क्रिप्ट र पारिश्रमिक लगायतका पक्षमा सहमति भए नम्रताले ‘कोतपर्व’ गर्न सक्छिन् ।

ऐतिहासिक कथावस्तुमा आधारित ‘नालापानी’पछि निर्देशक अधिकारी ‘कोतपर्व’को कथावस्तुमा फिल्म बनाउने तयारीमा छन् । जसलाई महेश दवाडीले पटकथा लेखिरहेका छन् । फिल्ममा अहिलेका कुनै सुपरस्टार अभिनेतालाई जंगबहादुर राणाको भूमिकामा अभिनय गराउने उनको तयारी छ । फिल्मलाई काठमाडौं र चितवनमा छायांकन गर्ने तयारी छ ।

फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए । चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको रिमेशले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ ।  विक्रम संवत् १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?