+
+

अदालतमा बालकृष्ण खाँणको जिकिर – आङटावालाई बयान बदल्न लगाएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २० गते १३:२३

२० जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् । खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयको सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

अदालतमा दिएको बयानका क्रममा खाँणले तत्कालीन गृहसचिव पाण्डेले बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेटघाट भएको भन्दै खुलाएको कुरा झुटो भएको जिकिर गरेका छन् । ‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो’, उनले भनेका छन्, ‘आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

खाँणले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन ।’

अनुसन्धान अधिकृतहरुले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलको प्रतिवेदन कीर्ते गरेर ठगी गरिएको निष्कर्ष निकालेका छन् । खाँणको पालामा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले कीर्ते गरेको अधिकृतहरुको निष्कर्ष छ । तर, खाँणले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो, उक्त प्रतिवेदनहरु सम्बन्धमा मलाई कुनै जानकारी भएन’, खाँणले भने ।

हेर्नुहोस् खाँणको बयान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?