+
+

नेप्से ५३ अंकले बढ्यो, २१७ कम्पनीको सेयरमूल्यमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १५:३५

२१ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने  २.८४ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ३ वर्षको आय विवरण पेश गरी कर दाखिला गर्नुपर्ने उल्लेख थियो ।

पूँजीगत लाभकर नै अन्तिम कर रहेको बुझाइमा रहेको सेयर लगानीकर्तालाई त्यसले झस्काएपछि बजेटपछिको दुई दिन लगातार उच्च अंकको गिरावट भएको नेप्से १८ जेठ बिहीबार भने १६.५५ अंकले सुधार भएर बन्द भएको थियो । आइतबार सुरुवाती समयमा सेयर ब्रोकरको कार्यालय नै बन्द गराएर कारोबार रोकेको सेयर लगानीकर्ताका केही नेताहरुलाई अर्थ मन्त्रालयमा बोलाएर छलफलपछि प्राकृतिक व्यक्तिको हकमा पूँजीगत लाभकर नै अन्तिम भएको स्पष्टीकरण दिंदै मन्त्रालयले सूचना प्रकाशित गर्यो ।

आइतबार ११ बजेदेखि नै कारोबार खुलेको भएपनि मध्यान्ह १२ बजेर २० मिनेटसम्म छिटफुट मात्रै कारोबार भएको बजारमा मन्त्रालयको सूचनापछि भने हरियाली छाउँदै ५३.०३ अंकले वृद्धि हुँदा १९१९.३७ अंकको विन्दुमा बन्द भएको छ । आइतबार नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक ७.३७ प्रतिशतले वृद्धि भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक ४.५४ प्रतिशतले वृद्धि भएको छ ।

सुरुवाती १ घण्टाको समय कारोबार नहुँदा नेप्सेमा उच्च अंकको वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ६५ करोड  ६३ लाखमा सीमित भएको छ । जसमध्ये  शिवम् सिमेन्टको सर्वाधिक १५ करोड ८२ लाखको कारोबार हुँदा सोल्टी होटलको सेयर ८ करोड १३ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको सेयर ६ करोड ५५ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३ कम्पनीको मात्रै सेयरमूल्य घटेको छ । आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामुदायिक लघुवित्तको सेयरमूल्य ९.८७ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.८० प्रतिशतले बढेको छ । यता स्वाभिमान लघुवित्तको सेयरमूल्य ०.९५ प्रतिशतले गिरावट हुँदा मानुषी लघुवित्तको सेयरमूल्य ०.१६ प्रतिशत र एनआईसी एशिया बैंकको सेयरमूल्य ०.१३ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?