+
+

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ताहरु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १५:५८

२१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको प्रतिरक्षाका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले वकालतनामा लेखाएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार सुरु भएको थुनछेक बहसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षाका लागि कांग्रेस निकटको प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) को टोलीले तयारी गरेको छ । खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि बहस गर्दैछन् ।

बरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे लगायतले खाँणको पक्षमा बहस गर्नेछन् । त्यसैगरी ललित बस्नेत, डीएलए अध्यक्ष योगेन्द्र अधिकारी लगायत करिव २० भन्दा बढी कानुन व्यवसायीले खाँणको प्रतिरक्षाका लागि बहस गर्न वकालतनामाको फर्म भरेका छन् ।

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल नेतृत्वका कानुन व्यवसायीले बहस गर्नेछन् । सचिव टेकनारायण पाण्डेको प्रतिरक्षाका लागि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालतनामा भरेका छन् ।

आइतबार जिल्ला अदालतमा थुकछेक बहस सुरु हुँदा कानुन व्यवसायीहरुले वकालतनामा लेखाउने क्रम चलिरहेकाले कानुन व्यवसायीहरुको संख्या बढ्दो छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी पक्षको नेतृत्व जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्नेछन् । यो मुद्दाको बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र तयार पार्ने काममा संलग्न भएका ८ जना सरकारी वकिललाई नै जिम्मेवारी दिएको छ ।

जाहेरीकर्ताहरुको तर्फबाट पनि केही कानुन व्यवसायीहरुले बहस गर्नेछन् । अधिवक्ता स्वागत नेपाल, सुशील शर्मा सापकोटा लगायतले जाहेरी दिने पीडितहरुको तर्फबाट वकालतनामा लेखाएका छन् ।

यो मुद्दामा बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले कुनैपनि पक्षबाट बहस नगर्ने भएका हुन् । उनीहरुले ‘व्यस्तताका कारण मुद्दा हेर्ने समय नपाएको’ प्रतिक्रिया दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?