+
+

गर्मीमा धेरै चिसो खाँदा के हुन्छ ?

डा. अरुण केसी डा. अरुण केसी
२०८० जेठ २३ गते १३:०१

तापक्रम दिनानुदिन उकालो लागिरहेको छ । अत्यधिक गर्मीमा शरीरलाई कसरी शीतल बनाउने भन्ने ध्याउन्नमा सबै लागेका छन् । कोही फ्रिजको चिसो पानी खान चाहन्छन् भने कोही चिसो पेय पदार्थ, जुसमा भुल्छन् । अनि कसैलाई काँक्रा, खर्बुजाजस्ता फलफूल त कसैलाई आइसक्रिम र सोडा पानीले आकर्षित गर्छ ।

यी सबै कुराले शरीरलाई शीतलता प्रदान गर्छन्, तर क्षणिक मात्रै । लगायता चिसो खानेकुरा र पेय पदार्थ खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने हेक्का भने धेरैलाई नहुन सक्छ ।

घाँटीमा समस्या

गर्मी होस् या जाडो मौसम, चिसो खाने बित्तिकै घाँटीमा प्रत्यक्ष असर गर्दैन । तर यसले अप्रत्यक्ष रुपमा भने घाँटीलाई हानि गरिरहेको हुन सक्छ । शरीरको एक किसिमको फिजियोलोजी हुन्छ । हाम्रा वरपर लाखौं सक्रिय हानिकारक भाइरस हुन्छन् । जुन शरीरमा सजिलै छिर्न सकेका हुँदैनन् । तर एक्कासि चिसो खाँदा बाह्य कीटाणुहरु शरीरमा प्रवेश गर्न पाउँछन् ।

चिसोले  संक्रमणविरुद्ध लड्न सक्ने क्षमता केही मात्रामा खलबलिन्छ । किनकि चिसो खानेकुराले श्वासनलीमा खकार (म्युकस) जम्मा हुन्छन् । म्युकसको काम श्वासप्रश्वासको तन्तुलाई ढाकेर जीवाणुको संक्रमणविरुद्ध संयन्त्र बन्नु हो, तर एक्कासि अत्यधिक चिसोले  म्युकसलाई  खुलाउँछ र घाँटीमा संक्रमण गराउन सक्छ । परिणामस्वरूप घाँटी दुख्ने, खसखस गर्ने समस्या ल्याउन सक्छ । घाँटीको एलर्जी भएकालाई चिसो पेय पदार्थले श्वासनलीमा खकार जम्मा भई केही मात्रामा असर गर्न सक्छ ।

यद्यपि, सधैं चिसो पेय वा पानी खाने बानी भएको स्वस्थ व्यक्तिलाई जुनसुकै मौसममा खाँदा पनि खासै फरक पर्दैन । तर कहिलेकाहीं मात्र चिसो खाँदा घाँटीमा समस्या ल्याउन सक्छ ।

घामबाट आउने बित्तिकै चिसो नखानु जाति

घामबाट आउने बित्तिकै फ्रिजमा भएको चिसो पानी, जुस, सर्बत सबैको रोजाइमा पर्छ । अझ घाममै हिंडडुल गर्दा लस्सी र आइसक्रिम पनि खाइने गरिन्छ । पानी तातो भएमा बरफ मिसाएर खाइन्छ । यसरी धापिएको समयमा अत्यधिक चिसो खानु भनेको शरीरको तापक्रमलाई दखल दिनु हो । एक्कासि चिसो पदार्थ पिउँदा शरीरमा तापक्रम असन्तुलन हुन्छ, जसले थप ऊर्जा शरीरलाई आवश्यक पर्छ । शरीरले आफू अनुकूल शरीरभित्र प्रवेश गरेको खानेकुरालाई ढाल्न खोज्दा पाचनप्रक्रिया सुस्त हुन्छ । जसले पेटमा गडबड गराउँछ । त्यसैले घामबाट धापिएर आएपछि शरीरलाई एकछिन शीतल बनाएर मात्र खानेकुरा खान सकिन्छ । तसर्थ, आइसक्रिम, कुल्फी, बरफ अत्यधिक खानु घाँटीलाई मात्र होइन दाँतलाई पनि दुःख दिन सक्छ । यसले दाँतको इनामेललाई असर पारी सिरिङ-सिरिङ पार्न सक्छ । चिसो पेय पदार्थमा हुने एसिड एवं गुलियो पदार्थले दाँत दुखाइ पनि गराउँछ ।

अत्यधिक चिसो मात्र होइन, अत्यधिक तातोले पनि खानु हुँदैन । अझ चिसोतातोको मिश्रण त स्वास्थ्यको लागि बेफाइदाजनक नै हुने गर्छ । धेरैको बानी खाजामा तातो मःमः खाएपछि   चिसो पेय खाने हुन्छ । यसरी खाँदा एकैछिन त मज्जा आउँछ । तर केही छिनपछि पेट भने सञ्चो नगराउन सक्छ । किनकि चिसो र तातोलाई एकैछिनमा पाचनप्रणालीले आफ्नो तापक्रममा ढाल्न सक्दैन । जसकारण पेट ढुुुुस्स हुने, अमिलो डकार आउनेजस्ता समस्या देखिन्छन् ।

कसरी बच्ने ?

घाँटीमा हुने संक्रमणबाट बच्ने एउटै उपाय भनेको आफ्नो रोगप्रतिरोधात्मक क्षमता सुधार गर्नु र अत्यधिक चिसो खानेकुरा तथा पेय पदार्थबाट टाढा रहनु हो । त्यति मात्र होइन, घामबाट फर्किने बित्तिकै चिसो वा तातो खानेकुराबाट बच्नुपर्छ । यसको लागि केही समय शरीरलाई चिसो हुन दिनुपर्छ । अनि कुनै चिसो खानेकुरालाई नहतारी बिस्तारै खान सकिन्छ । मुखमा चिसो राख्ने बित्तिकै एकछिन मुखमै राख्ने कोसिस गर्नुपर्छ । ताकि अत्यधिक चिसो खानेकुरा शरीरको तापक्रम अनुकूल हुन मद्दत पुगोस् ।

घाँटीमा  संक्रमण भएर दुःख दिएको खण्डमा मनतातो पानीमा नुन हालेर त्यस पानीले कुल्ला गर्नुपर्छ । घाँटी दुख्ने र सुन्निने समस्याबाट राहत पाउन अदुवा र तुलसीको चिया पिउन सकिन्छ ।

(नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. केसी वीर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?