
काठमाडौं । सौगात मल्ल र मलिका महतको शीर्ष भूमिका रहने फिल्म ‘अगस्त्य’को छायांकन भारतको गोरखपुरमा सुरु भएको छ । आइतबारदेखि त्यहाँको राजघाटमा छायांकन सुरु भएको निर्देशक सौरभ चौधरीले जानकारी दिए ।
अर्का अभिनेता नाजिर हुसेनले ६ दिनपछि छायांकन सेट ‘ज्वाइन’ गर्नेछन् । गोरखपुरको मुख्य बजार क्षेत्रमा २५ दिनसम्म छायांकनको योजना छ । त्यसपछि नेपालको भैरहवा, नवलपरासी र काठमाडौंमा छायांकन तालिका छ । ‘४१-४२ डिग्रीको चर्को गर्मीमा पनि फिल्म सुटिङ गरिरहेका छौं,’ निर्देशक चौधरीले अनलाइनखबरसँग भने ।
गोरखपुर छायांकनका लागि फिल्मको जम्बो क्रिउ गत साता त्यसतर्फ लागेको थियो । फिल्मको सेटबाट अभिनेत्री महतको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । फिल्मले हराएकी प्रेमिकाको खोजीका लागि गर्ने संघर्षको कथा भन्छ । निर्देशक चौधरीले यसलाई एक्सन थ्रिलर फिल्म भएको बताए ।
फिल्मलाई सञ्जय लामाले खिचिरहेका छन् । प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्ने यो फिल्मको बजेट दुई करोड रुपैयाँ बताइएको छ । सौगातको पछिल्लो फिल्म ‘दुई नम्बरी’ थियो भने मलिकाले भने ‘पानीफोटो’मा काम गरेकी थिइन् । गत साता उनको शीर्ष अभिनय रहेको ‘सतीदेवी’को छायांकन सकिएको छ ।
प्रतिक्रिया 4