+
+

पर्वतमा बाँदर धपाउन पालैपालो हेरालो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १८:१६

२४ जेठ, पोखरा । पर्वत कुश्मा ९, ज्ञादीका ७० वर्षीय ख्यामराज लामिछाने थाहा पाउने भएदेखि नै खेतीपातीमै छन् । उमेरले ७ दशक पुगि पनि खेतबारीमा काम गर्दा उनलाई उत्तिकै जोश आउँछ, काम गरेर थाक्दैनन् ।

तर, विगत ७ वर्षदेखि भने लामिछानेलाई आपत आइलागेको छ । बारीमा जब मकै हुर्केर घोका हाल्न थाल्छ, तब हुल बाँधेर बाँदर आइपुग्छन् र फल्न लागेका मकै सबै सखाप पारिदिन्छ ।

सुरुसुरुमा धपाएर भाग्ने बाँदर अहिले मान्छेसँग डराउन पनि छोडिसकेका छन् ।

‘६–७ वर्षअघि बाँदरहरु खासै देखिन्थेनन् । यसो आएर पनि डिलडिलै जान्थे । अलिअलि धपायो भने भागिहाल्थे,’ लामिछाने सुनाउँछन्, ‘अहिले त बाँदर गाउँमै छिरे । गाउँमा छिरेका बाँदरले केही बाँकी छोडेनन् ।’

अरुबेला खासै दुख नदिए पनि मकै फल्न थालेदेखि बाँदरको संख्या पनि एकाएक बढ्ने गरेको स्थानीयको गुनासो छ । मकै थन्काउनेबेला बाँदरले सखाप नै पार्न थालेपछि ज्ञादीकाबासिन्दाले ३ वर्षदेखि पालैपालो हेरालो बस्न थालेका छन् ।

बाँदर हेर्न १५ परिवारले जेठ दोस्रो सातादेखि असार दोस्रो सातासम्मको समयतालिका नै प्रकाशन गरेर पालो बाँडेका छन् । यसरी उनीहरुले पालोअनुसार बाँदर धपाउन थालेको ३ वर्ष भयो ।

‘गाउँमा बसिसकेपछि काम नगरेर भएन, केही न केही त गर्नैपर्‍यो । गर्दा पनि बाँदरले बसिखान नदिएपछि के गर्नु त,’ लामिछानेले भने, ‘अहिले हामी १५ घरको आलोपालो बाँदरको चौकीदार बसेका छौं ।’ उनका अनुसार २ सय रोपनीभन्दा बढी क्षेत्रफलमा मकै खेती हुने भए पनि बीचमा बारी पर्ने किसानहरु चौकीदार बस्नुपर्दैन ।

कुश्मा ९ का वडाध्यक्ष राम शर्मा लामिछानेले आलोपालो बाँदर धपाउन थालेदेखि किसानलाई केही राहत भएको बताए । ‘बाँदर धपाउन के नै गरिएन होला र ? बजाउनेदेखि पड्काउने सबै गरियो । केही गर्दा पनि सीप नलागेपछि गाउँले मिलेर नै आलोपालो गर्न थालेका हौं,’ वडाध्यक्ष शर्माले भने, ‘खेतबारीमै गुलेली, ढुंगा लिएर बसेपछि अलि कम भा’छन् ।’

बाँदर धपाउन बारीको डिलमा छाप्रो बनाएको र त्यही छाप्रोबाट मकैको चौकीदारी गरिरहेको लामिछाने बताउँछन् । ‘छाप्रो देखेपछि मान्छे नभए पनि बाँदर अलि डराउने रैछ । केही सजिलो त भएको छ,’ उनी भन्छन् ।

वडाध्यक्ष लामिछाने वनजंगलमा रुख विरुवा बाक्लिँदै गए पनि उनीहरुले खाने खानेकुराको अभाव हुँदै जाँदा बाँदर बस्ती पस्न थालेको हुन सक्ने सुनाउँछन् । जंगलमा उनीहरुले खाँदै आएको कन्दमुललगायतको जंगली फलफूल कमी हुँदै जाँदा खानेकुराका लागि खेतबारी पस्न थालेको उनीहरुको भनाइ छ ।

‘जंगल बढ्यो । तर, उनीहरुको खानेकुरा कमी आउन थाल्यो । बाँदरको संख्या पनि बढेको हुन सक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?