+
+

एआई तस्वीरमा सेलिब्रिटी मोह : पोस्टर डिजाइन र भीएफएक्समा हुन सक्छ चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १२:१६

काठमाडौं । चर्चित नेपाली सेलिब्रिटीहरु यतिबेला सामाजिक सञ्जालमा धमाधम एआई भनिने आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता)ले तयार पारेका तस्वीर सेयर गरिरहेका छन् । प्रदीप खड्का, प्रियंका कार्की, स्वस्तिमा खड्का, ऋचा शर्मा, आना शर्मा, नीति शाहलगायतका ‘एआई जेनेरेटेड’ तस्वीर सेयर भइरहेका छन् ।

एआईको एपबाट यी तस्वीर जोकसैले तयार गर्न सक्छन् । ‘आर्टिफिसियल इन्टिलिजेन्ससँग’ लेख्दै स्वस्तिमाले एआई जेनेरेटड तस्वीर सेयर गरिरहेकी छन् । बाइक हाँकेकोदेखि एक्सन अवतारसम्मका यी तस्वीर हेर्दा हलिउडको क्लासिकल फिल्मको दृश्य अनुभूति हुन्छ ।

प्रदीपले कुनै एक सम्राट र लडाकुजस्तो देखिने तस्वीर सेयर गरेका छन् । ‘ताजलाई टाउकोमाथि राखेर कहिल्यै पनि भुईंमा चिप्लिन नदिनुस् । यी तस्वीरलाई प्रेम गर्छु,’ भन्दै प्रियंकाले पाँचवटा एआई जेनेरेटड तस्वीर सेयर गरेकी छन् । ‘रेशम फिलिली’ फेम्ड निर्देशक प्रणव जोशीले एआई तस्वीर जेनेरेटड गर्दै कलाकारको फोटोलाई इन्स्टाग्राममा हालिरहेका छन् ।

सेलिब्रिटीले पोस्ट गरेको यो तस्वीरमा फ्यानदेखि अन्य कलाकारले पनि प्रतिक्रिया जनाइरहेका छन् । स्वस्तिमाको उक्त पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा स्वस्तिमालाई फिल्म ‘दुई रुपियाँ’मा निर्देशन गरेका असिम शाहले ‘हलिउड छ त’ कमेन्ट गरेका छन् । जवाफमा स्वस्तिमाले ‘यो कुरा सदनमा उठाउनुपर्‍यो’ लेखेकी छन् ।

एआईले तयार पारेका यी तस्वीर हेर्दा आकर्षक र रुमानी लाग्ने भए पनि यसले नेपाली फिल्मको प्राविधिक पक्षमा चुनौती खडा गर्न सक्छ । विशेषगरी पोस्टर डिजाइनदेखि भीएफएक्स लगायतका प्राविधिक कार्यमा एआई जेनेरेटड तस्वीर र दृश्यले चुनौती ल्याउन सक्छन् । दुरुस्तै देखिने एआई तस्वीर कति यथार्थवादी हुन्छन् भन्ने प्रश्न उठ्न सक्छ । उसै त नेपाली फिल्मको पोस्टर चोरी वा प्रभावित भएको घटना नौलो होइन, एआईले पोस्टर डिजाइनको कार्यलाई सघाउला कि दुरुत्साहन गर्ला ?

केही समयअघि र्‍याप गायक समेत रहेका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले पनि एआई जेनेटरेड तस्वीर सेयर गर्दै चर्चा बटुलेका थिए । एआईको कारण हलिउड लगायतका विश्व फिल्ममा रोजगारीको संकट आउन सक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?