+
+

इरानी अत्याधुनिक क्षेप्यास्त्रले मध्यपूर्वमा कस्तो असर पारेको छ ?

सीएनएनबाट सीएनएनबाट
२०८० जेठ २९ गते १४:०५

२९ जेठ, काठमाडौं । इरानको राजधानी तेहरानका मुख्य गौडामा ठूल ठूला विद्युतीय विज्ञापन डिस्पलेमा पर्सियन, अरबिक र हिब्रु भाषामा लेखिएको छ,’तेलअभिभ अब ४०० सेकेन्डको दुरीमा ।’

शब्द सामान्य भए पनि यसको अर्थ भयानक छ ।

गत साता हाइपरसोनिक क्षेप्यास्त्र सार्वजनिक गरेको इरानले प्रतिरक्षा प्रणालीमा निकै अब्बल रहेको इजरायलले पनि हाइपरसोनिक क्षेप्यास्त्रलाई निष्प्रभावी बनाउन नसक्ने अर्थ त्यसमा लुकेको छ । कुनै पनि प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्रलाई खसाउन नसक्ने इरानको जिकिर छ। आफ्नो क्षेप्यास्त्रको गति ध्वनीभन्दा १५ गुणा बढी भएको उसले जनाएको छ ।

इरानले हाइपरसोनिक क्षेप्यास्त्रको नाम फताह राखेको छ । इस्लाममा यसको अर्थ विजयदाता हो । ‘फताहलाई कुनै पनि प्रतिरक्षा प्रणालीले खसाउन सक्नेछैन । यसले सबैकिसिमको प्रतिरक्षा प्रणालीलाई तोड्नेछ,’ सेनाप्रमुख आमिर अली हाजियदले भनेका छन्  ।

यसले १४०० किलोमिटरसम्म मार हान्नसक्नेछ । इरानले क्षेप्यास्त्र सार्वजनिक गरेसँगै इजरायलले यसले मुलुकमा सुरक्षा चुनौती थपेको बताएको छ ।

रक्षा मन्त्री योअब जलान्टले भनेका छन्, ‘हाम्रो मुलुकको दुश्मनले नयाँ हतियारबारे निकैनै घमण्ड गरेको पाएँ, तर त्यस्ता कुनै पनि हतियारलाई हामी जमिनमा वा हावामा निष्प्रभावी पार्नसक्छौं, हामीसँग संसारकै उत्तम प्रतिरक्षा प्रणाली छ ।’

इरानको दाबी पुष्टी नभए पनि हतियार क्षेत्रमा यो विकास एकदमै उच्चतम भएको विज्ञहरू बताउँछन् । इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा संस्थाका पूर्व निर्देशक उज्जी रूबिन भन्छन्, ‘क्षेप्यास्त्र प्रविधिमा यो अवधारणा वास्तविक र व्यावहारिक छ ।’

तर यो क्षेप्यास्त्र इरानले दाबी गरेझैँ भयानक किसिमको नरहेको उनको भनाइ  छ।

झट्ट सुन्दा इरानले गरेको यो विकास नौलो लागेपनि ब्यालेस्टिक क्षेप्यास्त्रनै यसको गतिमा जानसक्ने विज्ञको मत छ ।

‘इरानले आफ्नो उत्पादनमा विगतदेखिनै बढाइचढाइका साथ दावा गर्दै आएको छ । इरानले हाल ल्याएको क्षेप्यास्त्र अत्याधुनिक रहेकोमा कुनै शंका छैन तर के इरानले हाइपरसोनिक क्षेप्यास्त्र उत्पादन गरेको मुलुकको अग्र सुचीमा आफूलाई राखेको छ?’ इरान मामिला जानकार एलेक्स भटनाका बताउँछन् ।

अमेरिकाका अनुसार मध्यपूर्वमा इरानसँग ठूलो मात्रामा क्षेप्यास्त्र बल रहेको छ । त्यसैलाई नै उसले त्रास सिर्जनाको माध्यम बनाएको अमेरिकी आरोप छ । यद्यपि इरानले विगतदेखिनै आफ्नो क्षेप्यास्त्र कार्यक्रम प्रतिरक्षाका लागि मात्रै रहेको बताइरहेको छ ।

यो साता इरानी पत्रिका कयानमा लेखिएको छ, ‘फताह आर्थिक र राजनीतिक क्षेत्रमा प्रतिरोधका लागि हो ।’

इरानले अमेरिकाले आफ्नो मुलुकविरूद्ध आर्थिक युद्ध गरिरहेको बारम्बार बताइरहेको छ ।

इरानी क्षेप्यास्त्र रोक्न कठिन : विज्ञ

सन् २०१७ मा इरानले सीमा पारमा इरानले पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । ती मध्ये २ वटा हमला सशस्त्र समुह आईएसआईए लक्षित थिए भने ३ वटा मिसाइल इराकको कुर्दिश समुह तथा अमेरिकी सेना र इजरायली जासुस लक्षित रहेको आणविक हतियारका अनुसन्धानकर्ता जोन कार्जिनियकको जिकिर छ।

विज्ञहरूका अनुसार इरानले हाल बनाएको क्षेप्यास्त्र अरूभन्दा फरक छन्  । उसले नोजललाई चलायमान बनाएको छ । यसले अनियमित तबर यात्रा तय गर्ने भएकाले खसाल्न निकै कठिन पर्ने विज्ञहरूको भनाइ छ । ‘यदि इरानी सेनाले दाबी गरेको सही हो भने यसलाई अवरोध पुर्‍याउन निकै कठिन हुनेछ । फताह विगतका इरानी क्षेप्यास्त्र भन्दा निकै अत्याधुनिक पनि छ,’ कार्जिनियक भन्छन् ।

मध्यपूर्वको प्रतिरक्षा प्रणालीमा यसको कस्तो असर पर्छ ?

इजरायललले निकै बलियो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गरेको छ ।

छोटो दुरीबाट प्रहार गरिएका रकेटलाई समेत यसले निष्प्रभावी बनाउन सक्छ ।२४ सय किलोमिटर मार क्षमताका क्षेप्यास्त्रलाई पनि उसले खसाल्न सक्छ । इजरायल, साउदी अरब र यूएईसँग भएको ‘थाहड’  रक्षा प्रणालीले निकै प्रभावशाली पनि छ । हुथी विद्रोही समुहले सन् २०२२ मा यूएई लक्षित क्षेप्यास्त्र हान्दा त्यही प्रणाली अन्तर्गत निष्प्रभावी पारिएको थियो ।

‘यो प्रणालीले फताह पनि खसाल्नसक्छ तर फताहको प्रविधि पूर्णरूपमा जानकार नरहेसम्म यकिन भने गर्नसकिँदैन,’ कार्जिनियक भन्छन् ।

गल्फ राष्ट्रहरूले विगतदेखिनै इजरायली क्षेप्यास्त्र कार्यक्रम आफूहरुको सुरक्षाकालागि खतरा रहेको भन्दै त्यसलाई पश्चिमा कार्यक्रम अन्तर्गत राख्न सुझाव दिइरहेका छन् । हालसालै इरान र साउदी अरब मिले पनि इजरायलसँगको दुश्मनी कायमै छ । फताह बारे तथ्यपरक जानकारी नपाउँदा प्रतिरक्षा प्रणाली बलियो भएको इजरायलले पनि आफूलाई सुरक्षा चुनौती थपिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?