+
+
मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीसँग संवाद :

‘मिस वर्ल्डको तयारी वनमा वाण हानेजस्तै हो, कहाँ लाग्छ थाहा हुन्न’

प्रियंकारानी भन्छिन्, ‘प्रतिस्पर्धाको प्रेसर त एउटै हुन्छ तर देशको प्रतिनिधित्व गरेर जाँदा दबाब बढ्छ । हामीले मिस नेपालमा आफ्नो सपना साकार पार्न आएका हुन्छौं भने मिस वर्ल्डमा जाँदा देशको सपना बोकेर गएका हुन्छौं ।’

विष्णु शर्मा विष्णु शर्मा
२०८० जेठ २९ गते १६:३३

काठमाडौं । मिस नेपालको इतिहासमा पहिलोपटक हामीले दुईजना मिस नेपाललाई देखिरहेका छौं । एकजना ‘क्राउन होल्डर’ र अर्को ‘मिस वर्ल्ड’को तयारीमा जुटिरहेकी मिस नेपाल । विश्व सुन्दरी प्रतियोगिताको फिनाले आयोजनामा ढिलाइ भएपछि यस्तो ‘ग्याप’ देखिएको हो ।

यी त भए संयोगका कुरा । अब भने मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीलाई सबथोक बिर्सिएर मिस वर्ल्डको आसन्न ग्राण्ड फिनालेमा लाग्नुपर्ने घडी आएको छ । अबको चार-पाँच महिनामा भारतमा आयोजना हुन लागेको फिनालेमा प्रियंकाले नेपालको प्रतिनिधित्व गर्दैछिन् ।

अनलाइनखबरको स्टुडियोमा यी सुन्दरीले मिस वर्ल्डको ताज जित्ने रणनीतिबारे कुरा गरिन् । भारतमा फिनाले हुँदा नेपाललाई हुने लाभको बारेमा धारणा राखिन् र मिस नेपालको नयाँ ब्याचलाई ताज हस्तान्तरण गर्दाको अनुभूति पोखिन् । प्रियंका हिडन ट्रेजरको सम्झौताबाट मुक्त भएकी त छन् तर उनीसामु विश्व सुन्दरी प्रतियोगिताको ठूलो दबाब थपिएको छ ।

यसका लागि उनी बितेको एक वर्षदेखि तयारीमा जुटिरहेकी छन् । दुबईमा हुने भनिएको फिनाले धकेलिएपछि उनको तयारीमा धक्का लाग्यो । तर यसले थप तयारी गर्न समय पनि मिलेको छ । मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि उनी हालै अमेरिकामा थिइन् । त्यहाँका टेक्सास, न्युयोर्क, बाल्टिमोर र सियाटल राज्यको नेपाली समुदायमा पुगेर उनले यो विधाका लागि गैरआवासीय नेपाली संघको मद्दत जुटाउन प्रयत्न गरिन् ।

डायस्पोराले पनि उनलाई मिस वर्ल्डका लागि सघाउने वचन दिएको छ । न्युयोर्कमा मुख्यालय रहेको राष्ट्रसंघको वन सम्मेलनमा उनी सहभागी भएर नेपालको तर्फबाट भाग लिइन् । ‘ग्लोबल इस्युमा मेरो प्रोजेक्ट चिनाउन नपाए पनि, बोल्ने मौका नपाए पनि बसेर सहभागिता जनाउँदा खुसी छु । मेरा लागि यो सहभागिता ठूलै फाइदाजनक पनि हुन सक्छ,’ राष्ट्रसंघीय सम्मेलनबारे उनले भनिन् ।

अमेरिकाबाट खुसी बटुलेर फर्किएकी प्रियंकालाई फिनाले भारतमा हुने खबरले आल्हादित तुल्यायो । छिमेकी मुलुक भारतमा फिनाले हुँदा र अन्यत्र हुँदा तयारीदेखि मनोवैज्ञानिक राहत मिल्ने त भइहाल्यो । यसबाहेक प्रियंकालाई भूगोल र संस्कृतिको निकटताले पनि राहत दिएको छ । ‘भारतमा हुने भए पनि मनलाग्दी लुगा लैजान पाउँछु । प्लेनबाट नभए बसबाट पनि लैजान पाएँ । धेरै नेपाली बसमै जान पाउनेछन् । भारतमा हुँदा सस्तो पनि पर्ने भयो । सोच विचार र संस्कृति पनि मिल्ने भयो,’ भन्छिन्, ‘तर मैले ठाउँभन्दा पनि नतिजामुखी काम गरिराख्या छु ।’

मिस वर्ल्डको तयारी कस्तो छ ?

हरेक मिस नेपालका लागि मिस वर्ल्डको फिनालेको तयारी चुनौतीपूर्ण अवश्य हुन्छ । फरक यत्ति हो कि कतिले दबाब महसुस गर्छन् कतिले यसलाई सामान्य रुपमा लिन्छन् । तर प्रियंकालाई लाग्छ, मिस वर्ल्डको तयारी भनेको वनमा वाण (एरो) हानेजस्तै हो, कहाँ गएर ठोक्किन्छ थाहा हुँदैन । हुन सक्छ यही कारण उनी यतिबेला पाँचवटा फास्ट ट्रयाक विधामा जित निकाल्ने तयारीमा छिन् । उनको जोडबल अहिले यतै केन्द्रित छ ।

यी पाँच विधामा जित निकाल्न सकिए सिधै उत्कृष्ट २० मा प्रवेश गर्न सकिने ढोका खुला हुन्छ । नेपाल यी विधाको प्रबल दाबेदार समेत हो । जसमा मोडल वाक, हेड टु हेड, ब्युटी विथ पर्पस, मल्टिमिडिया र स्पोर्ट्स राउण्ड छन् । ‘यी पाँचमध्ये कुनै एकमा राम्रो पहिचान र जितिहालेमा अघि बढ्न सजिलो भयो,’ उनी भन्छिन्, ‘यी पाँचवटै विधामा जित निकाल्न मेहनत गरिरहेकी छु ।’

मुख्यतः उनको फोकस ब्युटी विथ पर्पसमा केन्द्रित छ । ‘यसबाहेक मलाई  हेड टु हेड च्यालेन्ज अति रमाइलो लाग्छ । यो प्रतिस्पर्धा मनबाटै राम्रो हुन्छ जस्तो लागिरा’छ । यसबाहेक मल्टिमिडियामा पनि अलिकति फोकस गरिराख्या छौं,’ उनले भनिन् ।

अनि मिस नेपालको ग्राण्ड फिनाले र मिस वर्ल्डको फिनालेको तयारीमा कस्तो भिन्नता छ ? उनलाई लाग्छ, ‘प्रतिस्पर्धाको प्रेसर त एउटै हुन्छ तर देशको प्रतिनिधित्व गरेर जाँदा दबाब बढ्छ । हामीले मिस नेपालमा आफ्नो सपना साकार पार्न आएका हुन्छौं भने मिस वर्ल्डमा जाँदा देशको सपना बोकेर गएका हुन्छौं । देशको सपोर्ट बोकेर गएका हुन्छौं । यही भएर दायित्व थपिएर जान्छ । अपेक्षा बढ्छ ।’

उनले फिनालेमा सुदूरपश्चिमको सांस्कृतिक गीतमा नृत्य गर्ने तयारी गरिरहेकी छन् । यसबाहेक मिस नेपालको जिम्मेवारीबाट मुक्त भएपछि उनी केन्द्रित भएर मिस वर्ल्डको फिनालेमा लागेकी छन् । ‘मिस नेपाल हुँदाखेरि इन्डोर्समा व्यस्त हुनुपर्ने । अब मिस नेपाल नभएपछि अब विशुद्ध मिस वर्ल्डमा मात्र केन्द्रित हुन पाएँ । मलाई धक्काभन्दा पनि फोकस हुन सजिलो हुन्छ भन्दा फरक नपर्ला,’ उनी भन्छिन् ।

सर्वसाधारणले बुझ्दा दुई मिस नेपालजस्तो देखिने र यसले अलिकति असहज हुने भए पनि फरक नपर्ने उनको बुझाइ छ । ‘हामीले पहिल्यैदेखि नै मिस वर्ल्डमा जाने नै मिस नेपाल हो भन्ने बुझिराख्या छौं,’ उनले भनिन् । नयाँ ब्याचलाई क्राउन हस्तान्तरण गर्दा खुसी भएको उनले स्मरण गरिन् ।

‘क्राउन हस्तान्तरण गर्दा नमज्जा लाग्छ रे भनेर सुनिराख्या हुन्छौं । त्यो एकरातले जीवन परिवर्तन हुन्छ । क्राउन सफलताको सिम्बोल मात्र होइन, सिम्बोल अफ ड्रिम पनि हो । मलाई दिंदाखेरि खुसी लागेको थियो । क्राउन र मेरो प्लेटफर्मबाट मैले धेरै फाइदा पाएँ । यस्तै जीवनको परिवर्तन अर्की बहिनीमा पनि भइराखेको छ । नयाँ मिस नेपाल योग्य हुनुहुन्छ । उहाँले चाहेको र चिताएको सपना, इच्छा पूरा होस् भनेर क्राउन थमाइदिएको हुँ,’ उनी भन्छिन् ।

पछिल्लो समय मिस नेपालजस्ता प्लेटफर्ममा कुनै क्षेत्रमा स्थापित युवतीको बढ्दो सहभागिताबारे उनले भनिन्, ‘अहिले ब्युटी पेजेन्टको प्लेटफर्मले महिला सशक्तीकरणमा योगदान दिइरहेका छन् । जसले गर्दा युवतीहरु आउन थाल्नुभएको छ । यो राम्रो संकेत हो ।’ पेजेन्ट करिअरपछि अध्ययन र व्यवसायलाई सँगै अघि बढाउने उनको योजना छ । प्रियंका भन्छिन्, ‘उच्च शिक्षा अध्ययनका लागि युनिभर्सिटी खोजिराख्या छु । फेमिली बिजनेसलाई पनि अघि बढाउने विचारमा छु ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?