+
+

क्रिकेट ‘क्रेजी’को रंगशाला सपना

‘नाफाका लागि लगानी गर्ने हो भने अरु धेरै उद्योग छन् । मैले अहिले नेपाल क्रिकेटले लिएको उचाइ र यसको क्रेज देखेर रंगशाला बनाउने निर्णय गरेको हुँ’

नमिता दाहाल नमिता दाहाल
२०८० जेठ ३१ गते १९:५७

३१ जेठ, रुपन्देही । क्रिकेटमा समर्थकलाई १२औं खेलाडी भनिन्छ । जित, हार, अभाव र खुसीमा टिमका सदस्यकै जत्ति समर्थकले पनि महसुस गर्नेछन् ।

देशमा सुविधासम्पन्न पूर्वाधारको अभाव महसुस गरेरै एकजना समर्थकले भैरहवामा क्रिकेट रंगशाला निर्माणको थालनी गरेका छन् ।

अस्ट्रेलियामा बसोबास गर्दै आएका गुल्मीका एक दम्पतीले आफ्नो क्रिकेट लगावलाई रंगशाला निर्माण गरी पूरा गर्ने अठोट लिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ४ विघा १३ कठ्ठा क्षेत्रमा बन्ने एकेडेमीसहितको सुविधासम्पन्न रंगशालाको शिलान्यास भएको छ ।

अस्ट्रेलियाको सिड्नी र नेपालमा पनि टेक्नोलोजी कम्पनी सञ्चालन गरेका विनोद कुँवर र उनकी पत्नी सुदीक्षा गौतमले आफ्नो कम्पनीकै नामबाट रंगशालाको नाम राखेका छन्– एक्स्ट्राटेक ओभल ।

पाँच वर्षपछि निर्माण सम्पन्न हुँदा एक्स्ट्राटेक ओभल निजी क्षेत्रबाट निर्मित नेपालकै पहिलो रंगशाला बन्नेछ ।

कुनै सरकारी वा गैरसरकारी सहयोगको अपेक्षा नगरी जग्गासहित सम्पूर्ण आफ्नै लगानीमा निर्माण गर्ने आँट गरेको यो रंगशालाका लागि विनोदले सुरुवातमा ४० करोड रुपैयाँ छुट्टयाएका छन् । त्यसको झण्डै एक तिहाई रकम त जग्गा खरिदमा खर्च भइसकेको छ ।

नेपालमा सरकारी र सामुहिक लगानीबाट बन्ने भनेर घोषणा गरिएका धेरै खेलकुद पूर्वाधार अलपत्र छन् ।

२० वर्षअघि निर्माण सुरु भएको मूलपानी (तल्लो) क्रिकेट मैदानलाई देखाएर नेपालको सरकारी काममा कतिसम्म ढिलासुस्ती हुन्छ भनेर मानिसहरुले उदाहरण दिने गरेका छन् ।

२०६१ सालमा निर्माण सुरु भएको रुपन्देहीकै सिद्धार्थ रंगशाला अहिलेसम्म तयार भएको छैन । समुदायलाई साथमा लिएर सार्वजनिक निजी साझेदारीको अवधारणामा निर्माण सुरु भएको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दुर्घटना अहिले सबैका लागि ताजै छ ।

तर आफूहरुले बनाउन लागेको रंगशाला अलपत्र हुँदैन भन्नेमा कुँवर निश्चिन्त छन् । किनभने यो पूर्वाधार बनाउन उनले कसैले आशा गरेका छैनन् । पाँच वर्षमा चरणवद्ध निर्माणको योजनालाई कार्यान्वयन गर्दै लगिनेछ । त्यसो हुँदा लागत अझै बढ्नसक्छ ।

‘नेपालमा धेरै रंगशाला अलपत्र भएर मेरो यो प्रयास पनि कमैले पत्याएका छन् । तर, हामी हाम्रो योजनामा सुरुदेखि नै केन्द्रित छौं,’ विनोद भन्छन्, ‘हामीले शिलान्यास अगाडि नै ८ सय ट्रक माटो हालेर मैदान सम्याइसकेका छौं । अबको ६/७ महिनामा मैदानले स्वरुप पाउनेछ ।’

गुल्मीमा जन्मिएका विनोद उति राम्रो आर्थिक पृष्ठभूमिका होइनन् । ९ वर्षदेखि अस्ट्रेलियामा गरेको संघर्षले उदाएका उनी खेल पूर्वाधारबाट मातृभूमिका लागि योगदान दिने प्रयास गरेको बताउँछन् ।

सन् २०११ मा डिभिजन पाँचको उपाधि जिते यताको स्वर्णिम समयमा नेपाल क्रिकेटलाई नजिकबाट चिनेका विनोद नेपाल टिमको प्रदर्शन र नतिजाप्रति सधैं ब्यग्र रहन्छन् । कतिपय अवस्थामा खेलाडीहरुलाई व्यक्तिगत सहयोग पनि गरेका छन् ।

रुपन्देहीमा बन्ने यो रंगशलाबाट विनोदले आम्दानीको आशा राखेका छैनन् । बरु, यो क्षेत्रबाट एउटा उत्कृष्ट खेलाडी उत्पादन होस्, उसले राष्ट्रिय टिमसम्मको यात्रामा कुनै व्यवधान भोग्नु नपरोस्, यत्ति भए पुग्छ ।

‘नाफाका लागि लगानी गर्ने हो भने अरु धेरै उद्योग छन् । मैले अहिले नेपाल क्रिकेटले लिएको उचाइ र यसको क्रेज देखेर रंगशाला बनाउने निर्णय गरेको हुँ,’ सोमबार तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणबाट रंगशाला शिलान्यास गराएपछि विनोदले भने, ‘हामीले यो रंगशाला बनाउन पाँच वर्ष समय लिएका छौं । निकै महंगो योजना हो । मैले आफ्नो क्रिकेट लगावलाई यहाँ प्रयोग गरेको छु ।’

तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्वी दरखसवामा यो मैदान बन्नेछ । एक्स्ट्राटेक ओभल प्रालिले निर्माण गर्ने २५ हजार दर्शक क्षमताको यो रंगशालाको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्ने चरणमा छ । डीपीआर सम्पन्न भएलगत्तै निर्माण सुरु गर्ने र पाँच वर्षभित्र पूर्णता दिने प्रालिका निर्देशक विनोदले बताए ।

नेपालमा विनोदको यो पहिलो योजना हो । यसपछि एउटा आईटी क्याम्पस र अस्पताल निर्माणको महत्वकांक्षी योजनामा छन् उनी ।

मैदान निमार्णमा एक्लो लगानी भएको र पहिलो पटक गर्न लागेकाले विनोदले पनि चुनौति महसुस गरेका छन् । तर, आर्थिक अभाव नहुने हो भने कार्यप्रगति छिटो हुने उनलाई थाहा छ ।

‘त्रिवि मैदान निजी भएको भए फ्लड लाइट जडान गर्ने कुरा एक/डेढ महिनामा सकिन्थ्यो । तर, सरकारी काममा लामो समय लाग्छ’, उनी भन्छन्, ‘आफू क्रिकेट समर्थक भएकाले पनि होला सरकारी काम जस्तो ढिलासुस्ती नहोस भनेर चनाखो हुनेछु ।

रंगशालाको निर्माण योजना चरणवद्ध छ । पहिलो वर्ष मैदान पूर्ण रुपमा तयार गर्ने र ५ हजार दर्शक क्षमताको प्याराफिट बनाउने योजना छ ।

दोस्रो वर्षमा एकेडेमीको भवन र थप ५ हजार दर्शक क्षमताको संरचना बन्नेछ । तेस्रो वर्षमा फ्लड लाइट र थप पाँच हजार दर्शक क्षमताको संरचना, चौथो वर्ष डिजिटल स्कोर बोर्ड र थप पाँच हजार दर्शक क्षमताको संरचना तयार, पाँचौं वर्षमा अर्को पाँच हजार दर्शक क्षमताको संरचना र अन्य कुनै काम बाँकी रहेको खण्डमा पूरा गरिनेछ ।

‘खेलाडी उत्पादन अभियानमा उर्जा थपेको छ’

सक्रिय खेलाडी जीवनबाट सन्यास लिएयता पाँच वर्षदेखि गृहनगर रुपन्देहीमै बसेर क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका शक्ति गौचन एक्स्ट्राटेक ओभलका ब्राण्ड एम्बासडरमात्र होइनन्, यहाँ बन्ने एकेडेमीको हर्ताकर्तासमेत हुन् ।

यो रंगशालाको छेवैमा बन्ने चारतले भवनमा १०० जनासम्म खेलाडीलाई आवासीय सुविधासहित क्रिकेट सिकाउने गरी एकेडेमी सन्चालन गर्ने योजना छ । यसले सबै जिम्मेबारी नेपालका पूर्व स्टार बलर शक्तिले पाएका छन् ।

‘म आफैं एकेडेमी निर्माण गरी प्रशिक्षण दिँदै आएको थिएँ तर, एक्सपोजरको लागि मैदान थिएन यो मैदानले अझ धेरै खेलाडी उत्पादन गर्न सहयोग गर्नेछ’, रुपन्देहीमा आफ्नै लगानीमा स्टार क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका शक्ति भन्छन्, ‘यहाँ प्रतिभा धेरै छन्, म उनीहरुलाई खार्न चाहन्छु । त्यसका लागि यो मैदान उपयोगी हुनेछ ।’

रुपन्देहीमा अहिले कम सुविधाका बाबजुद १५ देखि २० जनासम्म राष्ट्रियस्तरको खेलाडी रहेको दृष्टान्त दिँदै शक्तिले राम्रो सुविधा र एक्स्पोजर भएमा १० वर्षभित्र सयौंको संख्यामा खेलाडी उत्पादन गर्न सकिने बताए ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?