News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पारा तेक्वान्दो खेलाडीहरु मलेसियामा हुने एसियन च्याम्पियनसिपको तयारीमा छन्।
- पलेशा गोवर्धनले फ्रान्सको पेरिस पारालिम्पिकमा कांस्य पदक जितेपछि नेपालीमा पारा खेलकुदको चर्चा बढेको छ।
- प्रशिक्षक कविराज नेगी लामाले तयारी गरिरहेका पाँच खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए।
१९ असार, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडीहरु यतिबेला मलेसियामा आगामी जुलाई १ देखि अगष्ट १ सम्म हुने १०औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपको तयारीमा छ ।
पलेशा गोवर्धनले गत वर्ष फ्रान्समा भएको पेरिस पारालिम्पिककमा ऐतिहासिक कांस्य पदक जितेपछि अहिले नेपालमा पारा खेलकुदको पनि चर्चा बढेको छ । त्यसमा पनि पदक नै जित्न सफल पारा तेक्वान्दो र यसका खेलाडीहरु त्यो नतिजापछि अझ धेरै उत्साहित छन् ।
मलेसियामा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसिपका लागि हाल पाँच पारा तेक्वान्दो खेलाडी प्रशिक्षणमा छन् । उनीहरु सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा दैनिक प्रशिक्षण गरिरहेका छन् ।
टोलीलाई पारा ओलम्पियन प्रशिक्षक कविराज नेगी लामाले प्रशिक्षण दिइरहेका छन् । जसमा पेरिस पारा ओलम्पिक खेलेका भरत सिंह महता लगायत ५ खेलाडी छन् ।
हाल तयारीमा रहेका खेलाडीहरुमा पेरिस पाराओलम्पिक खेलेका भरत सिंह महतासहित ५ खेलाडी छन् । भरत के-४४, ५८ केजीमुनी, अमिर ब्लोन के-४४, ६३ केजी मुनी र दिपेश महत के-४१, ५८ केजी मुनी समूहका खेलाडी हुन् । यस्तै महिलातर्फ कामना प्रसाईँ र रेनु तामाङ के ४४ विधाको ४७ केजीमुनीका खेलाडी हुन् ।
च्याम्पियनसिपका लागि नेपाल अहिले तयारी अगाडि बढिरहेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । ‘हामीले वैशाखदेखि नै तयारी गरिरहेका छौं । तेक्वान्दो संघले खेलाडीहरुका लागि होस्टलमा सबै खालको व्यवस्था गरेको छ । त्यो बाहेक नियमित हुने तयारी त भइरहेको छ’ प्रशिक्षक लामाले भने ।
मिसन २६ अन्तर्गत पनि पारा तेक्वान्दो खेलाडी तयारीमा छन् । एसियन पारा तेक्वान्दो च्याम्पियनसिपसँगै एसियन जुनियर तेक्वान्दो लगायत प्रतियोगिता समेत हुने र यो एसियाको ठूलो प्रतियोगिता भएको प्रशिक्षक लामाले जानकारी दिए ।
‘यो च्याम्पियनसिप एक साता भन्दा बढी समय चल्छ । जुलाई २३ देखि नै अरु खेलहरु सुरु हुन्छ । पारा च्याम्पियनसिप जुलाई ३० र अगष्ट १ मा हुन्छ । यो जी फोर टुर्नामेन्ट हो’ उनले भने । च्याम्पियनसिपमा हाल प्रशिक्षणमा रहेका पाँचै खेलाडी सहभागि गराउने प्रयास भइरहेको प्रशिक्षक नेगीले बताए ।
‘हाम्रो प्रशिक्षणमा अहिले ५ जना छन् । सकेसम्म हामी पाँच खेलाडी नै सहभागि गराउने सोचिराछौं । त्यो नभएपनि ४ जना जाने लगभग पक्का छ’ उनले भने, ‘हाम्रो क्वालिफिकेसन हुनेछ त्यही अनुसार कहिले जाने भन्ने थाहा हुन्छ ।’
पेरिस पारा ओलम्पिकमा कांस्य पदक जित्दै इतिहास रचेकी पलेशा भने सहभागी हुने/नहुनेबारे टुंगो छैन । चीनमा पढिरहेकी पलेशा त्यही समयमा वर्ल्ड तेक्वान्दोको कार्यक्रममा दक्षिण कोरिया जाने प्रशिक्षक कविराज नेगीले जानकारी दिए ।
‘पलेशा उता छुनछुन कोरिया जाने योजना छ । वर्ल्ड तेक्वान्दोले वर्ल्डको ४० खेलाडीलाई एक ठाउमा राखेर ट्रेनिङ गर्न बोलाको छ । संघसँग छलफल भइराछ । उसको छुट्टी मिलाएर आउन सफल भए राम्रो हो । सम्भावना कम छ ।’
पारा एसियन च्याम्पियनसिप ठूलो प्रतियोगिता भएकोले खेलाडीहरुका लागि आफ्नो प्रदर्शन देखाउने र आगामी यात्रामा अघि बढ्न यो राम्रो प्रतियोगिता हुनेछ । प्रशिक्षक लामाको भनाई पनि यही छ ।
‘पारा एसियन च्याम्पियन जी फोर टुर्नामेन्ट हो । यो भनेको एसियन गेम्स जस्तै हो । यसमा पदक जित्यो भने राम्रो हुन्छ’ प्रशिक्षक लामाले भने, ‘गोल्ड मेडल जित्दा ४० अंक पाउँछ । यसका लागि धेरै मिहिनेत पनि गर्नुपर्छ । अब आउने एसियन गेम्सहरुलमा पनि यही खेलाडी नै खेल्ने हो । त्यसले गर्दा पनि एसियन च्याम्पियनसिपमा खेल्दा धेरै एक्सपोजर पाउँछ । यसकै आधारमा एसियन गेम्स र ओलम्पिमका वरितया निर्णारण हुन्छ । त्यसैले महत्वपूर्ण छ ।’
यस पटक पारा ओलम्पिक खेलिसकेका खेलाडी भरत देखि अनुभवी खेलाडी अमिर पनि प्रशिक्षणमा रहेकोले नेपाली खेलाडीबाट प्रशिक्षक लामाले पदकको आशा राखेका छन् । ‘हामीले लगातार प्रशिक्षण गरिरहेका छौँ । हामीले एसियन च्याम्पियनसिपमा पदकको अपेक्षा राखेका छौँ । खेलाडीका लागि एक्सपोजर पनि हुन्छ’ उनले भने ।
एसियन पारा च्याम्पियनसिपका लागि तयारी राम्रो भइरहेको र आफूहरू उत्साहित रहेको खेलाडी भरतसिंह महताले बताए । ‘हामीले नियमित तयारी गरिरहेका छाैँ । एसियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै पदक ल्याउने आशा छ । यस्तो प्रतियोगिता खेल्दा आउने प्रतियोगिताहरुको लागि फाइदा पुग्नेछ’ उनले भने ।
पलेशाले पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पछिल्लो समय पारा खेलकुदमा पनि चर्चा भइरहेको र विभिन्न खेलका प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् ।
पारा खेलकुदबाट पनि राष्ट्रका लागि पदक जित्न सकिन्छ भन्ने उदाहरण नेपालले पाइसकेको छ । तर अझै पनि पारा खेलकुद के हो कस्तो हो कसरी खेल्ने भन्ने विषयमा सरोकारवाला देखि सामान्य मानिसहरुले पनि बुझ्न बाँकी रहेको प्रशिक्षक लामा बताउँछन् ।
‘सबै नागरिकहरुले अहिलेसम्म खेल नै अझै बुझेको छैन । गाउँतिर हेर्ने हो भने मानिसहरुले ओलम्पिक गेम बुझेको छैन । अझ पारा खेलकुद बुझाउन गाह्रो छ’ उनले भने ।
पारा खेलकुदको लागि पनि अन्य खेल जस्तै स्कुल देखि नै अघि बढाउनुपर्ने प्रशिक्षक लामाको भनाई छ । ‘यसमा जस्तो सुकै खेलाडी बन्न सक्दैन । उमेर पुगिसकेको खेलाडीलाई मानसिक र शारीरिक रुपमा गाह्रो हुन्छ । त्यसैले मुख्य फोकस भनेको स्कुल हो । पलेशा पनि स्कुलबाटै आएको हो । स्कुल भनेको ग्रासरुट हो । त्यसमा केन्द्रित गर्न सक्यो भने राम्रो हुन्छ’ उनले भने ।
प्रतिक्रिया 4