News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले असार २० गतेदेखि यु-१६ युथ लिग आयोजना गर्न तयारी पूरा गरेको छ।
- प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ र पुरस्कार सहित पुरस्कार राशी घोषणा गरिएको छ।
- प्रतियोगिताबाट नयाँ प्रतिभा फेला पर्न र राष्ट्रिय टोलीका खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ।
१९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही असार २० गतेदेखि सुरु हुने यु-१६ युथ लिगको तयारी पूरा भएको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।
फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम (टीडीएस) अन्तर्गत आयोजना हुने यो प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ। खेलहरू एन्फा कम्प्लेक्समा आयोजना गरिनेछ भने आवश्यक परेमा दशरथ रंगशालामा पनि खेल हुन सक्ने जनाइएको छ ।
प्रतियोगितामा ए डिभिजन खेल्ने १४ वटा क्लबहरू सहभागी हुनेछन् । यसअघि थ्री स्टार क्लबले यू-१६ युथ लिग खेल्ने भनेपछि बी डिभिजनमा घटुवा भएपछि अब एपीएफ क्लबले यू-१६ लिगमा सहभागिता जनाउनेछ। बी डिभिजनबाट ए डिभिजनमा बढुवा भएका प्लानिङ ब्वाइज र श्री भगवती क्लब पनि सहभागी हुनेछन् । उद्घाटन खेल श्री भगवती र मनाङ मर्स्याङ्दी क्लबबीच शुक्रबार हुनेछ ।
विजेता टोलीलाई ट्रफी सहित १ लाख रुपैयाँ, उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँ दिइनेछ । फेयर प्ले टिमलाई पनि १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई तयारी खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ दिइने जनाइएको छ । प्रतियोगिताको अनुमानित कुल बजेट १ करोड २ लाख ३६ हजार ३३० रुपैयाँ रहेको छ। फिफाबाट ५० हजार डलर प्राप्त हुनेछ भने बाँकी खर्च एन्फाले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने बताइएको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले एन्फा यू-१६ लिग डेभलपमेन्ट टुर्नामेन्ट भएकोले यस बाट नयाँ प्रतिभा भएका खेलाडीहरु आउने अपेक्षा रहेको बताए । पुरस्कार कम भएको भन्ने गुनासोबारे उनले भने, ‘पुरस्कारभन्दा पनि युवाहरूले अवसर पाउन् र देशभरीबाट भएका प्रतिभाहरु भोली राष्ट्रिय टिमसम् पुगोस् भन्ने उदेश्य हो ।’ उनले यस्ता प्रतियोगिताबाट भविष्यमा राष्ट्रिय टोलीका लागि खेलाडी उत्पादन हुने विश्वास एन्फाले राखेको बताए ।
प्रतियोगिताका सबै खेलहरू एन्फा टिभी युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
प्रतिक्रिया 4