+
+
सावित्रा भण्डारीसँग अन्तर्वार्ता :

‘युरोपेली क्लबको यात्रा सुरुआत मात्र हो’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ८:५४

३ असार, काठमाडौं । ‘गोल मेसिन’को उपनाम पाएकी सावित्रा भण्डारीले नेपाल र भारतको लिगमा जित्नुपर्ने सबैथोक जितिन् । केही समयअघि मात्र गोकुलम केरलाबाट इन्डियन वुमन्स लिग जित्दै सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितिन् ।

लामो समयदेखि युरोपमा खेल्ने सपना बनाएकी सावित्राको उक्त सपना अब साकार हुँदैछ । नेपाली फुटबल टिमकी स्टार फरवार्ड साबित्राले यो सिजन इजरायली क्लब हापोएल रानानाबाट व्यवसायिक फुटबल खेल्ने पक्का भएको छ ।

एक महिनापछि इजरायल जाने तयारीमा रहेकी साबित्रा भन्छिन्, ‘अझै पनि सपनाहरु छन्, त्यस अर्थमा यो सुरुआत मात्र हो ।’

प्रस्तुत छ, सावित्रा भण्डारीसँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानीको सम्पादित अंश :

पहिलो पटक युरोपियन लिग खेल्न क्लबमा अनुबन्ध हुनुभएको छ । कसरी सम्भव भयो यो यात्रा ?

हाम्रो राष्ट्रिय टिमको कोचले मलाई फोन गरेर मेरो साथी एजेन्ट छ । तिम्रो र आम नेपालीको सपना पुरा गर्ने समय आएको छ, एक पटक कुरा गर्ने ? भनेर सोध्नुभयो । मैले हुन्छ भनेपछि एजेन्टसँग कुरा भयो ।

त्यो बेला म भारतमा वुमन्स लिगको समूह चरण खेलिरहेकी थिएँ । व्यस्त तालिका थियो, म्याच प्रेसर पनि थियो । त्यसले सबै जिम्मा उहाँलाई दिएँ, उहाँले पनि गेम सकिएपछि कुरा गरौं भन्नुभयो । गेम सकिएपछि लिग खेल्ने तय भयो । यो अवसर जुराउन सहयोग गर्ने चाहिँ कोच भिनचेन्जो हुनुहुन्छ ।

हापोएल रानाना क्लब पनि एजेन्टले खोजेको हो ?

हो, उहाँले नै खोज्नु भएको हो ।

युरोपमा खेल्ने चाहना थियो, अब त्यो अवसर नजिक पुग्दा कस्तो अनुभव भइरहेको छ ?

एकदमै खुशी छु । करियर सुरु गरेपछि एउटा सपना थियो युरोपमा गएर फुटबल खेल्ने । अहिले त्यसको नजिक पुगेकी छु । अझै पनि सपनाहरु छन्, यो एक खुड्किला मात्रै हो । आउने दिनहरुमा योभन्दा ठूलो क्लबहरुमा खेल्ने अवसर म आफैंले सिर्जना गर्नुपर्छ । अझै मिहिनेत गरेर त्यो लेभलमा पुग्न चाहन्छु । त्यसअर्थमा यो सुरुवात मात्र हो ।

यो पटक आई लिगमा दमदार प्रदर्शन गर्नुभयो । टिमले उपाधि जित्यो, तपाईं सर्वाधिक गोलकर्ता हुनुभयो । त्यसले पनि सहयोग गर्यो भन्ने लाग्छ ?

निश्चय पनि । भारतकै ५–६ जना खेलाडी युरोपमा खेलिराछन् । इन्डियन वुमन्स लिगले इन्डियन मात्र होइन, अरु देशबाट आएका खेलाडीहरुलाई एक्सपोज दिएको छ । गत वर्ष गोकुलममै भएका एक खेलाडी अहिले युरोपमा छ ।

नेपाल र भारतको लिगमा जित्नुपर्ने सबै जित्नुभयो । लिगको उपाधि जित्नुभयो, सर्वाधिक गोलकर्तासम्म बन्नुभयो । अब फरक स्थान र फरक वातावरणमा खेल्नुपर्छ । त्यहाँ गएर यसरी खेल्छु भन्ने केही लक्ष्य बनाउनु भएको छ ?

आफूले कसरी खेल्छु भन्ने भन्दा पनि कोचको ‘फिलोसोफी’ अनुसार चल्ने हो । अहिले चाहिँ त्यहाँ गएर के गर्ने भनेर क्लबका ट्रेनर र कोचसँग छलफल गरिरहेकी छु । उहाँहरुले एउटा ट्रेनिङ सेड्युल पठाइदिनुभा’छ, त्यसलाई फलो गरिरा’छु ।

यो क्लब दोस्रो डिभिजनमा झर्ने, फेरि माथि उक्लने भइरहेको रहेछ । अरु क्लबहरुले पनि इन्ट्रेष्ट देखाएका थिए होलान् । किन यही रोज्नुभयो ?

त्यहाँको लिग च्याम्पियन क्लबले पनि अनुबन्धका लागि प्रस्ताव गरेको थियो । अरुले पनि चासो देखाएका थिए । तर अन्तिममा यही क्लबसँग हामीले डिल गर्यौं ।

मलाई के लाग्यो भने युरोपियन फुटबलमा पाइला टेकिसकेपछि त्यहाँ हामी गयौं भन्ने मात्र होइन, खेल्नु ठूलो कुरा हो । त्यहाँ खेलियो भने आफूलाई एक्स्पोज गर्न सकिन्छ । फेरि यो क्लब कस्तो छ भने यू–१९ टिमका खेलाडीहरु छन् । क्लबले लामो समय जाने लक्ष्य राखेर महिला फुटबलमा छुट्टै किसिमले लगानी गरेको छ । त्यसले यो पटक लिगमा चुनौती हुन सक्छ ।

तपाईं युरोपियन टिममा अनुबन्ध भएको खबरले नेपाली महिला टिममा माहोल कस्तो छ ?

सबै खेलाडी सकारात्मक छन्, उत्साहका साथ खेल्नु थाल्नुभा’छ । योङ जेनेरेसनका खेलाडीहरुले तपाईंले एउटा ढोका खोल्नु भएको छ, भोलिका दिनमा यो अवसर हामीले पनि बनाउन सक्छौं भन्छन् । सिनियर खेलाडीहरुले पनि एउटा सपना थियो, त्यसका लागि एक स्टेप अगाडि पुगेकी छ्यौ राम्रो गर्नू भन्नुहुन्छ । सबैजना उत्साही छन् । सकारात्मक माहोल छ ।

नेपालको महिला फुटबल टोलीले पहिलो पटक एसियन गेम्स खेल्दैछ । त्यहाँ ठूला टिमहरु हुन्छन् । कसरी खेल्ने योजना छ ?

नेपाली महिला फुटबल हेर्ने हो भने दक्षिण एसियाली स्तरमा राम्रो छाप छोडे पनि राम्रो नतिजा दिन सकिरहेको छैन । अब एसियन गेम्समा दक्षिण एसियादेखि एसियाकै बलिया टिमहरुसँग खेल्न जाँदैछौं । यो खेलाडीहरुका लागि एक्स्पोजर पनि हो । हामीले आफ्नो क्षमता देखाउन सके भोलिका दिनमा थप अवसरहरु आउन सक्छन् ।

यसका बाबजुद हाम्रो घरेलु फुटबलको अवस्थामा फेरिएको छैन । राम्रोसँग लिग हुँदैन, नयाँ खेलाडी आउन कठिन छ । हामी कहाँ चुकिरहेका छौं जस्तो लाग्छ ?

असम्भव भन्ने केही पनि छैन । तर सम्भव बनाउन लगानी हुनुपर्छ, क्लबहरुको पनि इन्ट्रेस्ट हुनुपर्छ । नेपाली महिला फुटबलको कुरा गर्दा तीन विभागीय क्लब बाहेक स्थायी रुपमा कुनै टोली छैन । त्यसले गर्दा घरेलु प्रतियोगिता गर्न पनि असहज छ । यसलाई सहज बनाउन जति पनि ए डिभिजन लिगका क्लबहरु छन्, उनीहरुले इन्ट्रेस्ट देखाएर महिला फुटबलमा लगानी गरे भने भोलिका दिनमा नेपालमा पनि महिला फुटबल गर्न सकिन्छ । होइन, तीन वटा विभाग टिम र सात प्रदेश मात्र खेलिरहने हो भने भने महिला फुटबलको स्तर अहिले जहाँ छ, भोलि पनि त्यही रहन्छ ।

भारतको सन्दर्भमा हेर्ने हो भने आई लिग खेल्ने पुरुष क्लबहरुले महिला टिम राख्न थालेका छन् । पुरुष टिमसँगै महिला टिमलाई पनि उत्ति नै लगानी गरेका छन् । अबको ४–५ वर्षपछि महिला टिमले जुन उचाइ लिनुपर्ने हो, त्यो लिन्छ जस्तो लाग्छ ।

अन्तिममा, लमजुङमा मोजाको बल खेलेर हुर्किनुभयो, नेपालको राष्ट्रिय टिमसम्म आउनुभयो, भारतको लिग खेलेर चम्किनुभयो । अब युरोपमा गएर खेल्ने अवसर आएको छ । आफ्नो फुटबल करियरलाई कसरी सम्झिनुहुन्छ ?

हो,  मोजाको बलबाटै फुटबल करियर सुरु सुरु गरेको हो । हाम्रो परिवार ठूलो थियो, मसँग फुटबल किट थिएन । मैले खाली खुट्टै मोजाको बल हानेर फुटबल खेल्न थालेँ । हार्दिनँ भन्ने अठोट, मिहिनेत र डेडिकेसनको प्रतिफल अहिले पाएँ जस्तो लाग्छ ।

मेरो सफलतामा बुबा–ममीको साथ रह्यो । उहाँहरुले मलाई कहिल्यै रोक्नुभएन । परिवार बाहेक फुटबल करियरको टर्निङ प्वाइन्टमा साथ दिनेहरु पनि हुनुहुन्छ । आज म जुन ठाउँमा छु, यसको श्रेय शुक्र दाइलाई पनि जान्छ ।

पुरुष फुटबल मात्र हुने त्यो समयमा नयाँ वर्षको दिन घलेगाउँमा आयोजकले महिला फुटबललाई पनि ठाउँ दियो । राष्ट्रिय लेभलमा खेलिसकका खेलाडी सम्मिलित टिमलाई हराउँदै हामीले खाली खुट्टै खेलेर जित्यौं । मेरो प्रदर्शन देखेर शुक्र दाइले नै एपीएफसम्म यात्रा तय गरिदिनुभयो ।

हरेक खेलाडीको करियरमा उतारचढाव आइरहन्छ । मलाई पनि चोट लाग्यो । त्यो बेला कहिले रिकभर होला ? भोलिका दिनमा खेल्न सक्छु कि सक्दिन होला ? भन्ने जस्तो डर मनमा आउँथ्यो । घुँडामा चोट लागेको बेला विक्रम लामा, रोहित दाइ, रविन दाइ, विमलले पनि म्यासेज गरेर ऊर्जा बढाउनुहुन्थ्यो । बास्केटबल खेलाडी सबिता खड्काले आजसम्म पनि मलाई के कस्तो छ भनेर चासो राखेर माया गरिरहनु भएको छ । राष्ट्रिय टिमका  फिजियो नविना श्रेष्ठ, अर्थोप्लास्टमा सुरज सर र उज्ज्वल डोटेल सरले पनि हेर्नुभयो । नेसनल टिमको पहिलाको ट्रेनर विवेक विक्रान्त अधिकारीले पनि सहयोग गर्नुभयो ।

यसपाली युरोपको लिग खेल्ने डकुमेन्टेसन लगायतमा सुबास हुमागाई दाइले धेरै सहयोग गर्नुभयो । फुटबल समर्थकहरुको माया त हामीले निरन्तर पाइरहेका छौं । आजको दिनमा यो खुशीको खबर आउँदा उहाँहरु सबैप्रति आभारी छु ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?