+
+

भोट बढाउन धार्मिक रुझान

२०७२ को संविधानमा धर्मनिरपेक्षता लेख्ने नेताहरूबीच नै एकप्रकारले धार्मिक गतिविधिको स्पर्धा देखिन्छ ।

सागर चन्द सागर चन्द
२०८० असार ३ गते १५:१४

३ असार, काठमाडौं । भारत भ्रमणका क्रममा मध्यप्रदेश पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजा गरे । स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर पुगेका जति मन्त्रीलाई साथमा लिएर गत शनिबार पशुपतिनाथ पुगे ।

पाँच मन्त्रीसहित प्रचण्डले गरिरहेको यो धार्मिक गतिविधिको चर्को आलोचना भइरहेको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र भ्रमणका क्रममा प्रचण्ड मात्रै नभएर यसअघिका प्रधानमन्त्रीहरू पनि प्रचण्डकै जस्तो धार्मिक गतिविधिमा सहभागी हुने गरेका छन् ।

विशेषगरी मोदीको नेपाल भ्रमण हुँदा यहाँका मन्दिर र गुम्बासम्म प्रधानमन्त्रीहरू जाने गरेको देखिन्छ । २०७५ मा मोदीको नेपाल भ्रमण हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा पूजा गरेरै रामायण सर्किटको उद्घाटन गरेका थिए ।

गत वर्ष बुद्धजयन्तीमा मोदी सँगसँगै त्यसबेला प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले लुम्बिनीको मायादेवी मन्दिरमा पूजा गरे । सन् २०१४ देखि भारतका प्रधानमन्त्री रहेका मोदी जनकपुरको जानकी मन्दिर, काठमाडौंको पशुपतिनाथ, कपिलवस्तुको मायादेवी मन्दिर र मुस्ताङको मुक्तिनाथसम्म पुगिसकेका छन् ।

धर्मलाई राजनीतिक एजेण्डा बनाइरहेका मोदीले आफूसँगै धार्मिक स्थलहरूमा नेपालका प्रधानमन्त्रीहरूलाई पुर्याइरहेको यी केही दृष्टान्त हुन् । तर यसबाहेक पनि नेताहरूले धार्मिक रुझान देखाएका थुप्रै उदाहरण छन् ।

२०७२ को संविधानमा धर्मनिरपेक्षता लेख्ने नेताहरूबीच नै एकप्रकारले धार्मिक गतिविधिको स्पर्धा नै देखिन्छ । २०७६ को असारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा महायज्ञ लगाएर पार्टी पंक्तिलाई प्रसाद बाँडेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त प्रधानमन्त्रीकै हैसियतमा प्रचण्ड भन्दा पहिले पशुपतिनाथको पूजा गर्ने नेता हुन् । १२ माघ २०७७ मा पत्नी राधिका सहित ओली पशुपति पुगेर पूजा गरेका थिए । त्यसै दिन एक अर्बको लागतमा पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरे ।

लगत्तै, पशुपतिमा जलहरी राखियो । तर जलहरीको सुनको मात्रामाथि प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले अनुसन्धान गरिरहेको छ भने यो विषय संसदीय समितिमा पनि पुगेको छ । त्यसैबेला ओलीले धार्मिक ग्रन्थ रामायणमा वर्णित रामको जन्मभूमि नेपालको अयोध्या भएको सार्वजनिक अभिव्यक्ति दिए ।

‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले भारतका राजकुमार रामलाई सीता दियौं । हामीले भारतका होइन, अयोध्याका रामलाई सीता दिएका हौं’ २९ असार २०७८ मा ओलीले भनेका थिए, ‘अयोध्या भनेको वीरगञ्ज भन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले (भारतमा) खडा गरिएको अयोध्या होइन ।’ आफ्नो अभिव्यक्ति पुष्टि गर्न ओलीले बालुवाटारमै रामको मूर्ति बनाएर चितवनको माडीमा स्थापना गरेका थिए ।

जबकि ओली सहित नेपालका कम्युनिष्ट नेताहरू प्रधानमन्त्री पदको शपथ लिंदा पनि ‘ईश्वर’ उच्चारण गर्दैनन् । ओलीले त मार्क्स नै ईश्वर भएको दाबी समेत गरेका थिए । ३ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिंदा ‘ईश्वर’ उच्चारण नगरेका ओलीले ९ वैशाख २०७५ मा मार्क्स नै ‘ईश्वर’ भएको प्रष्टोक्ति दिएका थिए ।

तर त्यसअघि र पछि पनि ओलीको धार्मिक गतिविधि रोकिएको छैन । २०७० र २०७९ को चुनावका बेला किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आशीर्वाद लिन ओली इलाम पुगेका थिए । गत मंसिरकै चुनाव अगाडि पनि ओली काठमाडौंको त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पूजा गर्न पुगे ।

ओली पूजा–अर्चनामा उत्रँदा आलोचना गर्ने प्रचण्डको बाटो पनि धार्मिक गतिविधिका सन्दर्भमा भिन्न देखिंदैन । ५ वैशाख २०७८ मा प्रचण्डले रामायणको राम नेपालमै जन्मिएको पुष्टि गर्न लागिपर्ने बताएका थिए । ‘माडीको अयोध्याधामलाई राम जन्मभूमि भनेर प्रमाणित गर्न अब म निरन्तर लाग्नेछु’, त्यतिखेर प्रचण्डले भनेका थिए ।

गत १० पुसमा तेस्रोपटक प्रधानमन्त्री बनेपछि त प्रचण्डले भारतको महाकालेश्वर मन्दिरको जल पशुपतिमै ल्याएर चढाए । प्रचण्डका पुराना सहयोद्धा नेत्रविक्रम चन्द, आफ्नो पुस्तक ‘महापतन’मा धार्मिक बाटोलाई उल्टो यात्रा भएको टिप्पणी गर्छन् ।

‘शान्ति प्रक्रियामा आइसकेपछि विचारधारात्मक दृष्टिकोणमा पनि शान्ति छायो । प्रचण्ड द्वन्द्वात्मक भौतिकवाद भन्दा उल्टो दिशामा हिंड्न पुगे, धार्मिक कार्यक्रममा हिंड्न थाले, भौतिकवाद र अध्यात्मवादको फ्युजन गर्छु भन्दै हिंडे’ चन्दले लेखेका छन् ।

२०६३ सालको अन्तरिम संविधानबाट धर्मनिरपेक्ष मुलुक बने पनि नेताहरूको धार्मिक गतिविधिमा सहभागिता कस्तो छ भन्ने देखाउन सुनसरीको चतरामा आयोजित एक यज्ञको उदाहरण पर्याप्त छ । कृष्णदास गिरी उर्फ सिद्धबाबाले आयोजना गरेको यज्ञमा सबैजसो पार्टीका शीर्ष नेताहरूले पूजा गरेका थिए । त्यसबेला पूर्वप्रधानमन्त्रीहरू देउवा र ओली, प्रधानमन्त्री प्रचण्डदेखि अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी समेतले पूजा गरेकी थिइन् । पछि ती गिरीलाई बलात्कारको आरोप लाग्यो ।

२०७५ को मंसिरमा ‘होली वाइन’ खान नेताहरूको लाइन नै लागेको थियो । युनिभर्सल पिस फेडरेसन (युपीएफ) नामक धर्म प्रचारक संस्थाले गरेको प्यासिफिक समिट–२०१८ मा सहभागी भएपछि ओली, माधव नेपाल लगायत नेताको चर्को आलोचना भयो ।

धर्मनिरपेक्ष संविधान बनाउन नेतृत्व गरेको दल कांग्रेसभित्र त शीर्ष तहबाटै हिन्दू राष्ट्रबारे जनमत संग्रह गरिनुपर्ने आवाज उठेको छ । २०७५ मा सम्पन्न महासमिति बैठकमा तत्कालीन महामन्त्री सशांक कोइरालाले धर्मबारे जनमत संग्रह गराउन हस्ताक्षर संकलन गरेका थिए । तर उनको एजेण्डालाई कांग्रेसले अगाडि बढाएन ।

छिमेकको असर

दक्षिणी छिमेकी भारतले हिन्दूत्व समातेर विगततिर फर्किन खोज्दा त्यसको असर नेपालसम्म देखिएको बताउँछन्, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर । ‘हाम्रोमा उत्तर र दक्षिणको राजनीतिक प्रभाव पर्छ । हिन्दू धर्म मान्नेहरूको संख्या धेरै छ त्यसैले हाम्रा नेताहरू पनि आफूमा हिन्दूत्वको रंग चढाउँछन्’, उनी भन्छन् ।

दल र तिनका नेताहरू चुनावदेखि चुनावसम्मको राजनीतिक अभ्यासमा लिप्त भएकै कारण नेताहरूले धर्मलाई आफ्नो राजनीतिक हतियार बनाएको टिप्पणी गर्छन्, माओवादी केन्द्रका सचिव राम कार्की । ‘चुनावको राजनीति गर्ने दल र तिनका नेता जुन धर्मका भोटर धेरै छन् त्यतै ढल्किन्छन्, त्यही धर्मको आवरणमा आफूलाई सजाउँछन्’, उनी भन्छन् ।

सद्गुरु र रामदेव बाबालाई वैज्ञानिक, समाजवादी बताउने प्रचण्डले एउटा अन्तर्वार्तामा मतदाता जता छन् त्यतै जानुपर्ने आफ्नो बाध्यता भएको स्वीकारेका छन् । धार्मिक अनुष्ठानदेखि धर्म–कर्ममा पनि भोटकै कारण जानुपरेको स्वीकार्दै प्रचण्ड भन्छन्, ‘परिस्थिति अनुसार हुन्छ, अब भोट चाहिन्छ त्यसकारण जहाँ पनि जानै पर्यो । जहाँ जनता छन् त्यहाँ जानै पर्छ ।’

तर, इतिहासकार दिनेशराज पन्तको विचारमा धर्मलाई पूजाकोठा र राजनीतिलाई गोप्य मतदान भन्दा बाहिर ल्याउनेहरू ‘पाखण्डी’ हुन् ।

नेताहरूले देखाएको धार्मिक रुझानलाई सुविधाको राजनीतिका रूपमा अर्थ्याउँछन्, विश्लेषक नरेन्द्रजंग पिटर । उनी भन्छन्, ‘धर्मलाई आफ्नो राजनीतिको आवरण बनाएका हुन् । धार्मिक समुदायको मत आफूप्रति आकर्षित गर्न धर्मको आवरण ओढेका हुन् नेताहरूले । आज हिन्दूको मत धेरै छ नेताहरू हिन्दू छन्, भोलि कुनै अर्को धर्मको मत बढ्ता हुनासाथ नेताहरू त्यही धर्मको खोल ओढ्छन् ।’

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, २०७८ को जनगणना अनुसार करिब ३ करोड जनसंख्यामा २ करोड ३६ लाख ७७ हजार ७४४ जना हिन्दू धर्मावलम्बी छन् । हिन्दू धर्म मान्नेहरूको संख्या कूल जनसंख्याको ८१.१९ प्रतिशत छ ।

धर्मनिरपेक्ष संविधानको शपथ लिएर त्यही संविधान अनुसार राज्य चलाउने ठाउँमा पुगेकाहरू नै धार्मिक आवरणमा सजिंदा संविधानको अवमूल्यन भएको कार्कीको बुझाइ छ । ‘राज्य धर्मभन्दा टाढा रहनुपर्छ भन्ने नै धर्मनिरपेक्षताको मर्म हो, तर राज्य सञ्चालकहरू नै धार्मिक गतिविधिमा लागेर संविधानको मजाक उडाइरहेका छन्’, कार्की भन्छन् ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?