+
+

पूर्वराजा ज्ञानेन्द्रलाई धर्मको भरोसा

‘ज्ञानेन्द्रले आफू कुनै समय राजा भएको हुनाले हिन्दु धर्ममा आफ्नो एकाधिकार छ भन्ने ठानेको देखिन्छ । उनले आफू नेपालको हिन्दु राजा भएकाले धर्मलाई राजनीतिक वा सार्वजनिक जीवनमा प्रयोग गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको र अरूलाई त्यो स्थान नभएको ठानिरहेका छन् ।’

दिपेश शाही दिपेश शाही
२०८० असार ३ गते १२:४६

३ असार, काठमाडौं । दुई दशकअघि राजाबाट सामान्य नागरिकमा खुम्चिएका ज्ञानेन्द्र शाहले लगातार राजनीतिक नेतृत्वप्रति आक्रोश पोखिरहेका छन् । मुख्यगरी २०७९ को दशैंलाई अवसर बनाएर उनले थालेको ‘कोर्स करेक्सन’ को अपील कायमै राखेका छन् ।

पटक–पटक सार्वजनिक गर्दै आएको उनको वक्तव्यमा शुभकामना सन्देश भन्दा बढी राजनीतिक आकांक्षा रहेको लुकेको छैन । दलहरूलाई झस्काउने गरी वक्तव्य दिने ज्ञानेन्द्र शाह केही समययता मेची–महाकाली अभियानदेखि नागरिक अभिनन्दनसम्म, यज्ञदेखि वक्तव्यवाजी र भाषणसम्म गरिरहेका छन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, धर्मनिरपेक्ष मुलुक बनाउने लोकतान्त्रिक शक्तिको धर्मप्रतिको रुझानले ज्ञानेन्द्रलाई यस्ता गतिविधिमा सहयोग गरिरहेको बताउँछन् । ‘यसपटक भारत भ्रमणमा नेपालका कम्युनिष्टहरूको वास्तविक चित्र सार्वजनिक भयो । यो भ्रमणको राम्रो वा नराम्रो जे भने पनि आफूलाई कम्युनिस्ट भन्ने पार्टीका नेताको वास्तविक रूप उदांगिनु एउटा उपलब्धि हो’ विश्लेषक आचार्य भन्छन्, ‘नेताहरूबीच यस्तो होडबाजी चलिरहेका बेला पूर्वराजा सक्रिय हुनु स्वाभाविक हो ।’ विश्व दक्षिणपन्थी धारमा गइरहेकाले नेपाल पनि त्यही बाटोमा जान खोजेको र राजाका अनुयायीहरूले आवाज उठाउने मौका पाएको आचार्य बताउँछन् ।

राजनीतिक सक्रियताका लागि ज्ञानेन्द्रले हिन्दु धर्मलाई अस्त्रका रूपमा उपयोग गरेको देखिन्छ । त्यसको पनि एउटा शृंखला छ । मुलुकमा लोकतन्त्र स्थापना भएयता ज्ञानेन्द्र विभिन्न धार्मिक भ्रमण र गतिविधिमा निस्किरहेका हुन्थे, तर त्यसलाई राजनीतिक अस्त्रकै रूपमा प्रयोग गर्न आवश्यक देखेका थिएनन् ।

धर्मको आडमा राजनीति

२०७२ मा संविधान बनेको केही समयमा नै ज्ञानेन्द्रले पहिलो पटक सत्ताको आकांक्षा व्यक्त गरेका थिए । संविधानसभाबाट मुलुक गणतन्त्रमा प्रवेश गरेपछि उनी शक्तिपीठको पूजाअर्चना बाहेक सार्वजनिक समारोहमा कमै देखिने गरेका थिए ।

४ कात्तिक २०७३ मा काठमाडौंमा विश्व हिन्दु महासंघले आयोजना गरेको विराट हिन्दु महासम्मेलनमा पहिलोपटक खुलेरै ज्ञानेन्द्रले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने र आफू पुनः राजा हुने चाहना प्रकट गरे ।

हिन्दु धर्मका धर्माधिकारी शंकराचार्य वासुदेवानन्द सरस्वती, भारतको गोरखपुरस्थित गोरखनाथपीठका तत्कालीन पीठाधीश भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथ समेत सहभागी उक्त मञ्चलाई प्रयोग गर्दै उनले ‘नेपाललाई हिन्दु अधिराज्य बनाउनुपर्ने’ बताएका थिए ।

पशुपतिस्थित वनकालीमा आयोजना भएको उक्त महासम्मेलनमा उनले आफूलाई सम्पूर्ण राजनीतिक प्रक्रियाबाट निषेध गरिएको भन्दै त्यसले विद्रोह निम्त्याउने चेतावनी समेत दिन भ्याएका थिए । ‘निषेधको राजनीतिले असन्तुलन, असन्तुलनले उपेक्षा र उपेक्षाले अन्ततः विद्रोह जन्माउँछ’ उनले लिखित भाषण पढ्दै भनेका थिए, ‘त्यसैले सबैले यो यथार्थ स्वीकारेर परिस्थिति सुधार गर्नु उचित हुन्छ ।’

उनको भाषणका कारण हिन्दु धर्मका अनुयायीहरू सहभागी उक्त महासम्मेलन धार्मिक भन्दा बढी राजनीतिक जस्तो हुन पुगेको थियो । कतिसम्म भने हिन्दु धर्मको सम्मेलनमा पूर्वराजाको जयजयकार र राजाको पुनरागमनको नाराबाजी गरिएको थियो । सम्मेलनमा अतिथि बनेर आएका शंकराचार्य वासुदेवानन्द, पीठाधीश, साधु र धर्माधिकारीहरूले पनि हिन्दु धर्मको भन्दा बढी पूर्वराजाकै जयजयकार गरेका थिए । सोही सम्मेलनले नेपाललाई हिन्दु राज्य र पूर्वराजालाई हिन्दु सम्राट समेत घोषणा गरेको थियो ।

त्यसपछि पूर्वराजा ज्ञानेन्द्र धर्मको बलमा आफ्नो पुनरागमनको सपनालाई साकार पार्न अनेकौं प्रयत्न गरिरहेका छन् । धर्मको एजेन्डामा राजनीति गर्ने एक मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीको पछिल्लो राष्ट्रिय महाधिवेशनमा नै यसको प्रत्यक्ष असर देखिन पुगेको थियो । त्यसैलाई कारण देखाएर लामो समयदेखि राजसंस्थाको वकालत गर्दै आएका ज्ञानेन्द्रका कुनै समयका विश्वासपात्र कमल थापाले ‘राजसंस्थाको षड्यन्त्रका कारण आफू पराजित भएको’ भन्दै उक्त पार्टी नै परित्याग गरे । त्यसपछि उनी पूर्वराजा र राजसंस्थाप्रति आलोचनात्मक सुनिन थालेका छन् ।

पछिल्लो समय धर्मको आडमा ज्ञानेन्द्रले देखाएको सक्रियताबारे राजनीतिक विश्लेषक हरि शर्मा, हिन्दु धर्मको आडमा चल्ने राजनीतिको एकाधिकार आफूमा रहेको सन्देश दिन खोजिरहेको विश्लेषण गर्छन् । ‘ज्ञानेन्द्रले आफू कुनै समय राजा भएको हुनाले हिन्दु धर्ममा आफ्नो एकाधिकार छ भन्ने ठानेको देखिन्छ’ शर्मा भन्छन्, ‘उनले आफू नेपालको हिन्दु राजा भएकाले धर्मलाई राजनीतिक वा सार्वजनिक जीवनमा प्रयोग गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको र अरूलाई त्यो स्थान नभएको ठानिरहेका छन् ।’

अहिले ज्ञानेन्द्रले देशभर गरिरहेका हरेक गतिविधिको संयोजन कि हिन्दु राष्ट्रको वकालत गरिरहेको राप्रपाले गरिरहेको हुन्छ, नभए विभिन्न हिन्दुवादी धार्मिक संगठनले गरिरहेका हुन्छन् । उनी धार्मिक भ्रमणकै रूपमा पटक–पटक भारत समेत पुगिरहेका हुन्छन् । त्यसको समन्वय पनि भारतको हिन्दुवादी संगठनले गरिरहेका हुन्छन् ।

ज्ञानेन्द्रलाई उनको शासनकालमा ९ माघ २०६० सालमा नै विश्व हिन्दु महासंघले विश्व हिन्दु सम्राट घोषणा गरेपछि विवाद भएको थियो । तर भारतको विश्व हिन्दु परिषद्ले उक्त घोषणाको समर्थन गरेको थियो । त्यसपछि नेपालमा लोकतन्त्र स्थापना भएयता भारतकै हिन्दुवादी संगठनको आयोजनामा उनी हिन्दु सम्राटकै हैसियतमा भारतका विभिन्न धार्मिक शक्तिपीठको भ्रमणमा जाने गरेका छन् ।

लोकतन्त्रमा जन्म र धर्मका आधारमा कोही पनि व्यक्तिले विशेषाधिकार नपाउने भए पनि पूर्वराजा धर्मको बलमा आफू पुनः शक्तिमा आउने कोसिस गरिरहेको विश्लेषण शर्माको छ । ‘राजनीतिक लक्ष्य हासिल गर्नका लागि उनले धर्मको पर्दालाई प्रयोग गरिरहेको भनेर बुझ्न सकिन्छ’, विश्लेषक शर्मा भन्छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?