+
+

पहिरोका कारण लमजुङबाट मनाङ जाने सडक अवरुद्ध

रासस रासस
२०८० असार ३ गते १६:२८
मनाङ जाने सडकको फाइल तस्वीर ।

३ असार, मनाङ । शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ ।

मनाङको मेरुदण्डको रूपमा रहेको उक्त सडक अवरुद्ध हुन नदिन ती उपकरण तयारी अवस्थामा राखिएको कार्यालयका सब–इञ्जिनियर एवं साइड इञ्चार्ज सुमन अधिकारीले जानकारी दिए ।

‘वर्षायाम लाग्नासाथ यस मार्गमा यात्रा नै सकस हुन्छ, मनाङ पर्यटकीय क्षेत्रसमेत भएकाले मनाङवासी र पर्यटकलाई सहजरूपमा यात्रा गर्ने वातावरण बनाउन एक्साभेटरलगायत उपकरण राखेका छौं, समस्या हुनासाथ सफा गरी सडक चालु गराउने छौं’, उनले भने, ‘मनाङको यात्रा अन्य समयमा पनि जोखिम हुन्छ तर वर्षायाममा अझ बढी जोखिम हुन्छ, जोखिमलाई न्यूनीकरण गर्न नसके पनि सडक सहज बनाउने कार्यमा प्रतिबद्ध छौं। यसरी ठाउँ–ठाउँमा एक्साभेटर तयारी अवस्थामा राखिए दोहोरो तर्फबाट पहिरो हटाउन सहज हुने हुन्छ ।’

सब–इञ्जिनियर अधिकारीले भने, ‘यात्रा सकस हुन्छ भनेर यात्रा पछि सार्नुपर्ने अवस्था छैन, यात्रा गर्न सक्नुहुन्छ । मनाङ आउने पर्यटकले कस्तो होला भन्दै बस्नुपर्ने अवस्था छैन ।’

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले वर्षायामको समयमा मनाङको सडक अवरुद्ध हुन नदिन उक्त सडक योजनालाई अनुरोध गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘विकट क्षेत्र भनेर सधैँ सडक अवरुद्ध भएर बस्नुपर्ने बाध्यता हटाउन योजनासँग समन्वय गरिएको छ, यसवर्ष यो सडकमा लामो समय सडक अवरुद्ध भएर बस्नुपर्ने हुँदैन ।’

एक सय सात किलोमिटरमध्ये ३५ किलोमिटर लमजुङ जिल्लाको भाग पर्दछ भने ६५ किलोमिटर मनाङमा पर्दछ । यस आयोजनाले मनाङको सदरमुकाम चामेसम्मको खण्डको काम गर्ने गर्दछ । वर्षायाम बाहेक अन्य अवस्थामा पनि उक्त सडकमा सुख्खा पहिरो खस्ने समस्या भइरहन्छ । यस्तो समस्या तुरुन्तै समाधान गर्न नसकिने भए पनि लामो समय नलाग्ने गरी अवरुद्ध सडक खुलाउन सकिएमा स्थानीयवासीले भोग्नुपर्ने सास्ती न्यूनीकरण हुन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?