+
+

भारतको उच्चस्तरीय भेटवार्तामा गंगा दाहालको उपस्थितिबारे संसदीय समितिमा प्रश्न

परराष्ट्रमन्त्रीको जवाफ : प्रचलनमा छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १९:४७

५ असार, काठमाडौं । १७ जेठमा भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो भेट सुरक्षा सल्लाहकार अजित डोभलसँग गरे ।

वान अन वान भनिएको उक्त भेटका लागि डोभल विदेशसचिव विनयमोहन क्वात्रालाई लिएर प्रचण्ड बसेको होटलमा आए भने प्रचण्डले आफ्नी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाललाई सहभागी गराए । त्यो भेटको तस्वीर सार्वजनिक भएपछि परराष्ट्रको प्रतिनिधिको साटो छोरीलाई सहभागी गराएको भन्दै आलोचना भयो ।

मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि उक्त भेटमा गंगा दाहालको उपस्थितिबारे प्रश्न उठेको छ ।

समितिले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै विषयमा छलफल गर्न बैठक राखेको थियो, जहाँ परराष्ट्रमन्त्री एनपी साउदका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरुहरुलाई बोलाइएको थियो ।

बैठकमा एमाले सांसदहरूले प्रधानमन्त्री र सुरक्षा सल्लाहकारको त्यो भेटमा गंगा दाहालको उपस्थितिबारे प्रश्न उठाए । एमाले सांसद सुनिता बरालले अझ नेपाली पक्ष (गंगा दाहाल) हातमा मोबाइल लिएर र भारतीय पक्ष डायरी र कलम लिएर उपस्थित भएको उल्लेख गर्दै प्रश्न गरिन्, ‘प्रधानमन्त्रीसँगको भेटमा नेपाली पक्षले कुनै टिपोट गर्नुपर्दैन ?’

प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रतिनिधिमण्डल स्तरीय छलफल र अरु भेटमा पनि गंगा सहभागी भएकी थिइन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग प्रधानमन्त्री प्रचण्डले गरेको शिष्टाचार भेटका तस्वीरहरुमा पनि गंगा दाहाल देखिएकी थिइन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले सांसदहरुले भीम आचार्य, दामोदर पौडेल वैरागी, सुनिता बरालले गंगाको नाम नलिई प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकलको ख्याल नगरिएको बताए ।

सत्तारुढ दलका केही सांसदले राष्ट्र प्रमुख र सरकार प्रमुखले आफ्नो विदेश भ्रमणमा छोरीलाई सहभागी गराएको अभ्यास विगतमा भएका उदाहरण नेपालमै रहेको भनी वचाउ गरेका छन् । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधि र माओवादी केन्द्रका सांसद वर्षमान पुनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रथम राष्ट्रपति डा. रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विदेश भ्रमणमा छोरीलाई सहभागी गराएको स्मरण गरे ।

‘श्रीमती नहुँदा सरकार प्रमुख र राष्ट्र प्रमुखले छोरीलाई प्रथम महिलाका रुपमा लाने प्रचलन पहिले देखिको हो’, माओवादी केन्द्रका उपमहासचिव समेत रहेका सांसद पुनले भने, ‘यसो गर्न मिल्ने कि नमिल्ने भन्नेबारे स्पष्ट धारणा बनाइएको भए प्रधानमन्त्रीको भ्रमणमा विवाद हुने थिएन ।’

परराष्ट्रमन्त्री साउदले पनि बचाउ गरेका छन् । द्विपक्षीय भेटवार्ताका क्रममा स्पाउस (श्रीमान वा श्रीमती) वा परिवारका सदस्यको प्रतिनिधित्व हुने परम्परा रहेको भन्दै उनले भने, ‘यो राष्ट्रपति वा सरकार प्रमुखको सन्दर्भमा हुन्छ ।’

परराष्ट्रमन्त्रीको हकमा पनि स्पाउसलाई प्रतिनिधिमण्डलमा राखेर लैजान सक्ने उनले बताए । राष्ट्रपति र सरकार प्रमुखले लैजाने स्पाउस या परिवारको सदस्यको खर्च सरकारले व्यहोर्ने भएपनि परराष्ट्रमन्त्रीले स्पाउसलाई प्रतिनिधिमण्डलमा राखे आफ्नै खर्चमा लैजानुपर्ने उनले बताए ।

परराष्ट्रमन्त्री साउदले विदेशका कुनकुन राष्ट्र प्रमुखहरुले छोरीलाई प्रथम महिलाका रुपमा सहभागी गराए भन्ने जानकारी रहेको बताए । उनीहरुको नाम नलिने बताएका उनले नेपालका सरकार तथा राष्ट्रप्रमुखको भ्रमणका क्रममा छोरीलाई संलग्न गराएको विवरण नै प्रस्तुत गरे ।

प्रथम राष्ट्रपति डा.रामवरण यादवले विदेश भ्रमणमा छोरी अनिता यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छोरीलाई विदेश भ्रमणमा लैजाने गरेको उनले बताए ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि विदेश भ्रमणमा छोरी सुजातालाई सहभागी गराएको उदाहरण दिँदै उनले भने, ‘भिजिटमा कसैको संलग्नता हुनु भनेको राज्यले दिएको हैसियत होइन । सम्बन्धित पोजिनसनलाई दिइएको मर्यादा हो । त्यो मर्यादा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कायम रही आएको छ । यो भ्रमणको शिलशिलामा पनि त्यही भएको हो । यो कुरा स्पष्ट गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?