+
+

करिब २०० नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ : परराष्ट्रमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १६:५९

१० पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी परिवार र आफन्तबाट उजुरी आएको उनले बताएका छन् ।

मंगलबार राष्ट्रिय समाचार समितिसँग अन्तर्वार्ताका क्रममा मन्त्री साउदले काम,  अध्ययन र भ्रमणको सिलसिलामा रुस पुगेका करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका हुन् ।

‘करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किनभने सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने ।

रुसी सेनामा भर्ना भएकामध्ये सात जना मारिएको सूचना रुसी सरकारले नै दिएको छ मन्त्री साउदले बताए । ‘यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन्’, उनले भने ।

यो विषयमा नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर नेपालको चासो रुसी सरकारसमक्ष पुर्‍याउन आग्रह गरेको मन्त्री साउदले बताए । रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर रुस जान नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र श्रीलंका तथा खाडीका ६ देशबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को व्यवस्था गरिएको पनि उनको भनाइ छ ।

‘यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौँ । यसमा हामीले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी राखेका छैनौँ’, उनले भने ।

युक्रेनमा बन्दी बनाइएकाहरुलाई छुटाउन युक्रेन सरकारको सम्पर्कमा पुगेको र नेपाल हेर्ने युक्रेनी राजदूतसँग संवाद गरेको पनि उनले बताए ।

‘दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्ध बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ’, मन्त्री साउदले भने ।

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?