+
+

ज्यान मार्ने धम्की आएपछि ‘आदिपुरुष’ निर्देशकलाई प्रहरी सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १२:३३

काठमाडौं । भारतमा ‘आदिपुरुष’ विवाद तत्काल रोकिने सम्भावना छैन । निर्माताले संवादमा परिवर्तन गरेको बताएपनि संवाद लेखक तथा गीतकार मनोज मुन्ताशिरदेखि निर्देशक ओम राउत विवादमा मुछिएका छन् । अवस्था यस्तो छ कि मुन्तासिरपछि अब निर्देशक राउतलाई पनि जनताको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै ज्यान मार्ने धम्की आउन थालेको छ ।

ज्यान मार्ने धम्की आएपछि राउतले प्रहरीसँग सहयोग मागेपछि उनलाई प्रहरी सुरक्षा दिएको बलिउड हंगामाले जनाएको छ । स्रोतलाई उध्दृत गर्दै उक्त पोर्टलले लेखेको छ, ‘राउतको कार्यालयमा चार जना हवल्दार र एक हतियारधारी प्रहरी साथमा छन् । तर, विवाद र धम्कीका कारण निर्देशकले प्रहरी सुरक्षा मागेका हुन् वा प्रहरीले नै सुरक्षा दिएका हुन् भन्ने खुल्न सकेको छैन । मनोज मुन्तासिरसँगै ओम राउतलाई पनि ज्यान मार्ने धम्की आएको बताइएको छ ।’

‘आदिपुरुष’मा प्रभासले भगवान राम, कृति सेनोनले सीता माता, सन्नी सिंहले लक्ष्मण, देवगत नागेले हनुमानजी र सैफअली खानले रावणको भूमिका निर्वाह गरेका छन् । जुन १६ मा रिलिज भएको ‘आदिपुरुष’ ठूलो बजेटको भारी भीएफएक्स फिल्म हो, जसलाई दर्शकले ठाडै अस्वीकार गरेका छन् । फिल्मको पहिरनदेखि अभिनय, निर्देशन र विशेषगरी संवादलाई लिएर दर्शकले आपत्ति जनाएका छन् ।

फिल्मका निर्माताले उनीहरुको धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाइएको छ । विवाद यतिसम्म चर्किएको छ कि जनताले तत्काल फिल्मको प्रतिबन्धको माग गरेका छन् । यसैबीच, फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार क्षत्रिय कर्णी सेनाका राष्ट्रिय अध्यक्ष डा राज शेखावतले मध्य प्रदेशमा पत्रकार सम्मेल गर्दै निर्देशकको ज्यान लिने बयान दिएका छन् । उनले यसका लागि टोली निर्माण गरिरहेको समेत बलिउड हंगामाले जनाएको छ ।

तर, लेखक मुन्तासिरले आदिपुरुषको विवादबारे आफूहरुको उद्देश्य भगवान श्रीरामको महाकाव्य कथा र सनातन धर्मको कथालाई बालबालिकासम्म पुर्‍याउने उद्देश्य रहेको तर्क राखेका छन् । उनी भन्छन्, ‘ फिल्मले जे गर्नुपर्छ त्यही गरिरहेको छ । बच्चाले उनीहरूको वास्तविक नायकलाई चिन्छन् । हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ एक्सपोजर धेरै उच्च छ । हलिउडका पात्रले बच्चाको हृदय र दिमागमा राज्य गरिरहन्छन् । बच्चाले हल्क र सुपरम्यानलाई चिन्छन् तर हनुमान र अंगदलाई चिन्दैनन् । हाम्रा पात्र बालबालिकासम्म पनि पुगोस् भन्ने हाम्रो प्रयास थियो । युवा समुहमा परेकाहरुले पनि यो फिल्म हेर्नुपर्छ ।’

नेपालमा भने लेखक मुन्तशीरको अभिव्यक्तिलाई लिएर तीव्र विरोध भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?