८ असार, काठमाडौँ। नेपालमा बाल अधिकार कार्यान्वयन गर्नु अति आवश्यक रहेको यससँग सम्बन्धित सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बाल अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थामा आबद्ध बाल अधिकारकर्मीहरुले बालअधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा काठमाडौँ स्कुल अफ ल क्याम्पसका सह-प्राध्यापक कपिल अर्यालले ‘नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था मापन सम्बन्धी उपायको मस्यौदा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै बाल अधिकार सम्बन्धी महासन्धिमा अनुमोदन भए पनि कार्यान्वयनको अवस्था भने दर्दनाक रहेको बताए ।
उनले भने, ‘ ‘नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था उचित छैन। बाल अधिकारहरु कुण्ठित भइरहेका छन् । बालश्रम बढिरहेका छन्। यसलाई रोक्न सबैले पहल गर्नु जरुरी छ।’
यस्तै बाल अधिकार सम्बन्धी महासन्धिमा अनुमोदन गरेपनि त्यसको कार्यान्वयनको पक्ष भने फितलो रहेको बालबालिका शान्ति क्षेत्र अभियानका सचिवालय प्रमुख आत्मराम थापाले बताए । उनले भने, ‘ नेपाल बाल अधिकारी महासन्धिमा हस्ताक्षर गरेको मुलुक हो। तर यसको कार्यान्वयन भने निकै फितलो छ। विभिन्न सूचकमध्ये कानुनी प्रावधान, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, तथ्याङ्क, बालमैत्री वातावरणलगायतका बुँदाहरु कार्यान्वयन हुन सकिरहेका छैनन् ।’
उनले महासन्धि अनुमोदन गरेपछि त्यसको कार्यान्वयनको अवस्थाको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको समितिमा पठाउनुपर्ने रिपोर्टका लागि मस्यौदाले सहयोग गर्ने विश्वास व्यक्त गरे।
बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष राजेश शर्माले समग्रमा बालबालिकाको हितका लागि काम गरिरहेका अभियन्ताहरूको साझा लक्ष्य नै बालमैत्री वातावरण तयार गर्नु पर्नेमा जोड दिए । साथै यसका लागि अभियानले नेतृत्व लिएर सबैलाई एकताबद्ध बनाउने प्रयासमा साथ दिन उनले सबैलाई आग्रह पनि गरे ।
प्रतिक्रिया 4