+
+

गगन थापा भन्छन् : तीनै तहकाे सरकार चलाउने, ०८४ को चुनाव हारिन्छ भनेर डराउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १९:०६

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीनै तहको सरकारमा हुँदा पनि कांग्रेस ०८४ सालको चुनाव हारिन्छ भन्ने डरमा रहेको टिप्पणी गरेका छन् ।

शनिबार आफ्नो चुनाव क्षेत्र काठमाडौं-४ मा आयोजित पार्टी कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी हुँदा र काम गर्ने अधिकार बोकेर बस्दा पनि चुनावसँग डराउनु लाजमर्दो भएको बताएका छन् ।

उनले चुनाव हारे भुईंमा बस्न तयार हुनुपर्ने बताए । ‘०८४ मा के हुन्छ, चुनाव हारिन्छ, चुनाव हारे के हुन्छ, चुनाव हारे भुईंमा बस्नुपर्छ,’ उनले प्रश्नोत्तर शैलीमा भने, ‘भुईंमा बस्न किन डराएको ? बसौंला नि त भुइँमा के बिग्रन्छ हारौंला एक पटक ।’

पार्टी संघीय सरकार, सातमध्ये ६ वटा प्रदेश सरकार र ७५३ मध्ये ३२९ वटा पालिकाको नेतृत्वमा रहँदा पनि काम नगरी डराएर बस्नु लाजमर्दो भएको बताए ।

‘संघमा पहिलो, प्रदेशमा पहिलो, स्थानीय सरकारमा पहिलो, हातमा साढे ४ वर्ष छ, अधिकार बोकेर बसेका छौं । काम गर्ने जिम्मा लिएका छौं,’ थापाले भने, ‘अनि किनारमा बस्नेले के भन्दैछ भने यो चार वर्ष खेर गयोगयो, डुब्योडुब्यो, राम्रो त हुँदै हुँदैन । राम्रो नहुने भएकाले जनता थप भासिन्छन्, जनता भासिएपछि थप रिसाउँछन्, रिसाएपछि पुरानोलाई भोट हाल्दै हाल्दैनन्, हामीलाई भोट हाल्छन्, (कांग्रेसको) डराएर भागाभाग छ ।’

कांग्रेसले २०१५ सालमा र २०४८ सालमा लगभग दुई वर्षको समय पाउँदा विकासको जग बसाएको भन्दै उनले अहिले साढे ४ वर्ष समय पाउँदा पनि डराउन नहुने बताए ।

२०७९ सालको चुनाव हारिएला भनेर चुनावअघि गठबन्धन गर्नु बेठीक भएको भन्दै थापाले कांग्रेस बाहेक सबै पार्टी मिले पनि डराउन नहुने बताए । ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकटीमा बस्छ, के बिगि्रन्छ ?’ थापाले भने ।

समानुपातिक हटाऔं

थापाले प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली हटाउने विषयमा छलफल गर्नुपर्ने धारणा पनि राखो । प्रतिनिधिसभालाई समावेशी बनाउने अरु तरिका अपनाउन सकिने तर समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने धारणा राखेका हुन् ।

मिश्रति निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन कठिन भएका कारण दलहरुले चुनावअघि गठबन्धन गरिरहेको भन्दै उनले प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीमात्र उचित हुने बताएका हुन् ।

‘यो गठबन्धन जताततै किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर निर्वाचन प्रणाली बदलौँ’ उनले भने, ‘अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ ।’

कांग्रेसले कालोमोसो दल्ने होइन

महामन्त्री थापाले प्राध्यापकमाथि आक्रमण गर्ने र कालोमोसो दल्नेले छुट पाउन नहुने पनि बताए । कांग्रेसले आफ्नो कुरा कसैले मानेन भन्दैमा अरुलाई दुख दिन नपाउने भन्दै उनले त्यसमा किन्तु, परन्तु नहुने बताए ।

‘कांग्रेसको आइडेन्टीटी भनेको सत्यका लागि लड्छ, सत्याग्रह गर्छ, अनशन बस्छ, भोक हड्ताल गर्छ आफ्नो कुरा सुनेन भने एक्लै बोल्छ, लडेर बस्छ’ उनले भने, ‘आफूलाई दुख दिन्छ तर अरुलाई दुख दिँदैन । मेरो कुरा कसैले मानेन अर्काको शरीरमा मोसो दल्न पाउँछु मैले ? …कुनै पनि व्यक्ति होस् प्राध्यापक होस् वा कसैलाई पनि होस् मेरो कुरा मानेन भनेर आक्रमण गर्न पाउँछु, पाउँदिन । त्यसमा कुनै किन्तु परन्तु हुँदैन ।’

विगतमा कतिपय सन्दर्भमा हामीले पनि उत्तेजित अभिव्यक्ति दिएको भन्दै थापाले अहिले समीक्षा गर्दा त्यो गलत भएको महसुस भएको बताए । ‘जुनसुकै कारणले गरेको भए पनि ती कुरा गलत थिए, जस्तो सुकै प्रतिकुलतामा पनि गर्ने अरु विकल्प हुन्थे’ थापाले भने ।

२१ औं शताब्दीको कांग्रेसको नेता हुन्छु भन्नेले आफ्नो कुरा स्थापित गर्न ताबाबन्दी र तोडफोड गर्न नमिल्ने थापाले बताए । ‘बरु दुई दिन चर्को घाममा भोक हड्तालमा बस्न तयार हुनुपर्छ’ उनले भने ।

कांग्रेसले आफ्नो जीवनशैलीमा ब्यापक बदलाव ल्याउनुपर्ने भन्दै थापाले भने, ‘हामीलाई तलका मान्छेहरुले हेरिरहेका छन् ।’

कांग्रेसको टुप्पो सुकेको छ

थापाले अहिले नेपाली कांग्रेसको टुप्पो सुकेको र रुखमा ऐजेरु पलाएको भन्दै छेउछाउका पात पतिंगर सोहोरेर फेरि मलजल गर्नुपर्ने बताए । ‘रुखमा केही ऐजेरु पलाएको छ त्यसलाई मिल्काउनुपर्नेछ । हाम्रो टुप्पो सुकेको छ, त्यसलाई काँटछाँट गर्नुपर्नेछ । हावाहुरी आएको छ, पात पतिंगर जम्मा भएको छ’ थापाले भने, ‘हावाहुरी आएर तर्सिनु हुँदैन । पात पतिंगर बटुलौं । त्यसलाई मल बनऔं जरामा हालौं रुख अझै सर्लक्क उम्रन्छ ।’

नयाँ पार्टी आयो भनेर डराउन आवश्यक नभएको भन्दै थापाले २०६४ सालको उदाहरण दिए । त्यतिबेला माओवादीले नयाँ नेपालको नारा दिँदा काठमाडौं उपत्यकामा धेरै सिट जितेको भन्दै उनले त्यतिबेला कमजोर भएको कांग्रेस पुनः पछिल्लो चुनावमा ठूलो बनेको बताए ।

‘कता गयो कता गयो कांग्रेस भनेको होइन, तर कांग्रेस आयो, कांग्रेसले ठीक लय पक्रियो’ थापाले २०६४ सालको चुनावपछिको उदाहरण दिए, ‘एमाले सरकारमा गयो, कांग्रेस सरकारमा गएन । त्यतिबेला कांग्रेसले संविधानको भ्यालुमा कम्प्रमाइज गरेन नि ।’ अहिले पनि कांग्रेस आत्तिन जरुरी नभएको भन्दै पार्टीको मूल्य मान्यता छाड्न नहुने धारणा राखे ।

कांग्रेसले सोच्ने तरिका बदल्नुपर्ने भन्दै थापाले महामन्त्रीका रुपमा आफू पनि बदलिन तयार रहेको बताए । ‘पार्टी बदलिन म बदलिनुपर्छ । म बदलिनु तयार छु । महामन्त्रीका रुपमा आफूले हक जमाएर गर्नुपर्ने कुरा तरिका पुगेन होला’ उनले भने, ‘म तरिका बदल्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?