+
+

६ महानगरको बजेट : शहरी पूर्वाधारलाई प्राथमिकता  

अमृत चिमरिया अमृत चिमरिया
२०८० असार १० गते २१:५६

१० असार, काठमाडौं । देशका ६ वटै महानगरपालिकाहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको छ । गत ६ असारमा वीरगञ्ज महानगरपालिका ले बजेट ल्याएको थियो भने अन्य ५ वटा महानगरले आइतबार बजेट ल्याएका हुन् ।

६ वटै महानगरपालिकाले ल्याएको कुल बजेट ५१ अर्ब ९९ करोड रुपैयाँको छ । महानगरपालिकाहरुले ल्याएको बजेटमा शहरी पूर्वाधारलाई प्राथमिकता दिएको देखिन्छ ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा शहरी सौन्दर्यको पूर्वाधारलाई प्राथमिकता दिएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ठूलो रकम शहरी सौन्दर्यका पूर्वाधारमा छुट्याइएको हो ।

महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३.७२ प्रतिशत र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६.२८ प्रतिशत बजेट ल्याएको हो ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरको १३ औं नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षभन्दा करिब डेड अर्ब रुपैयाँ कम बजेट हो । चालु आर्थिक वर्षमा पोखरा महानगरले ८ अर्ब ७७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

उपप्रमुख गुरुङले बजेट प्रस्तुत गर्दै संघीय अनुदानबाट २ अर्ब ७६ करोड, प्रदेश सरकारबाट अनुदान १० करोड २३ लाख, आन्तरिक आयबाट २ अर्ब २७ करोड व्यहोर्ने जानकारी दिइन् । महानगरले सबैभन्दा बढी पूर्वाधारतर्फ २ अर्ब, प्रशासनिक खर्चतर्फ ८१ करोड २२ लाख, सामाजिक विकासतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, वडा कार्यालयतर्फ ७२ करोड, पर्यटन तथा सहरी विकास तथा वातावरणतर्फ ७० करोड बजेट विनियोजन गरेको छ ।

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो । ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान  १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट आउने ३ करोड रहेको छ । भरतपुर महानगरपालिकाले शहरी पूर्वाधार, अधुरो योजनाको निरन्तरता, भू–उपयोग तथा बस्ती विकास , स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएको छ ।

विराटनगरपालिका महानगरपालिकाले  ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीले प्रस्तुत गरेकी बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ  विनियोजन गरिएको छ । महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड  रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरले आगामी आर्थिक वर्षका लागि प्रशासनिक खर्च मात्रै ६८ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले १९ वटा वडाका वडास्तरीय आयोजनाका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । नगरस्तरिय आयोजनाका लागि २० करोड, बहुवर्षीय, गौरवका आयोजना र क्रमागत भुक्तानीका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष  २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । ६ असारमा आएको  बजेट चालु आर्थिक वर्ष २०७९÷८० को तुलनामा १ अर्ब २३ करोड कम हो । वीरगञ्ज महानगरले चालु आव २०७९÷८० मा कुल ४ अर्ब ४४ करोड ३४ लाख ४ हजार बजेट विनियोजन गरेको थियो ।

महानगरका उपप्रमुख इम्तियाज आलमले बुधबार पेश गरेको बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत रहेको छ । महानगरले शिक्षा, स्वास्थ्य, सरसफाई र वातावरण संरक्षणमा प्राथमिकता दिएको छ । यस्तै महानगरले डिजिटल सेवा प्रवाह पनि आफ्नो प्राथमिकतामा राखेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?