+
+

बजेट र चुनावले मात्र सम्झिने पोखरा चक्रपथ

अमृत सुवेदी अमृत सुवेदी
२०८० असार १२ गते ७:२४

१२ असार, पोखरा । तीनवटा राजमार्गको संगम हो पोखराको पृथ्वीचोक । पृथ्वी राजमार्ग, भूपि शेरचन राजमार्ग र सिद्धार्थ राजमार्ग हुँदै आउजाउ गर्ने गाडीहरु पृथ्वीचोक हुँदै ओहोरदोहोर गर्छन् । वर्षौंदेखि पोखरामा वैकल्पिक सडक मार्गको चर्चा भए पनि काम भने अगाडि बढेको छैन ।

पोखरा चक्रपथ निर्माणको चर्चा र अध्ययन पोखरेलीका निम्ति कहिल्यै पूरा नहुने बासी सपनाजस्तो बनेको छ । २०५८ सालमा तत्कालीन जिल्ला विकास समितिले पोखरा चक्रपथ निर्माणको अवधारणा अगाडि सारेको थियो । जिविस सभापति पुण्य पौडेलको संयोजकत्वमा भएको अध्ययनले ७८ किलोमिटर चक्रपथ निर्माणको प्रस्ताव गरेको थियो ।

‘पोखरा उपत्यकाको डाँडाका फेद फेदबाट जाने गरी ७८ किलोमिटरको चक्रपथ निर्माण गर्न हामीले अध्ययन प्रतिवेदन तयार पारेका थियौं’, पौडेलले भने, ‘तत्कालीन लेखनाथ क्षेत्र र पोखरालाई जोड्ने गरी चक्रपथको अवधारणा अगाडि सारिएको थियो ।’

त्यसपछिका बजेट भाषणमा पोखरा चक्रपथको विषय प्राय छुट्दैनन्, केही न केही बजेट पनि परिरहेकै छ । तर चक्रपथको योजनाले मूर्त रुप लिन सकेको छैन ।

‘ऊ बेलै चक्रपथ निर्माण गरेको भए अहिले पोखरा यति साँघुरो हुने थिएन । चक्रपथले गाउँ र शहरलाई जोड्थ्यो र पोखराको परिचयलाई पनि फराकिलो बनाउँथ्यो’ पौडेल भन्छन्, ‘तर, न पोखराले अग्रसरता देखायो न यहाँका राजनीतिक दलले केन्द्रसम्म पहुँच राखेर योजनालाई मूर्त रुप दिलाउन सके ।’

तत्कालिन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका मिलेर बनेको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा फेरि पोखरा चक्रपथ निर्माणको अध्ययन गर्ने घोषणा गरेको छ । त्यसका लागि १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

२०७४ सालमा तत्कालिन मेयर मानबहादुर जिसीको पहिलो बजेटले त झन् पोखराका सबै वडा र छिमेकी गाउँहरुलाई समेत जोडेर ३ वटा चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन गरी राजमार्गहरुको कनेक्टिभिटीमा जोड दिने घोषणा गरेको थियो । तर, यो योजना अगाडि नै बढेन ।

२०७९ मा निर्वाचित भएका मेयर धनराज आचार्यले पनि चक्रपथको योजना बजेटमा छुटाएनन् । सबैजसो दलको चुनावी घोषणापत्रमा पनि समावेश भएको पोखरा चक्रपथ निर्माण गर्न ५ पटक त अध्ययनै भइसके ।

२०७५ सालमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा पोखरा चक्रपथ निर्माणका लागि प्रक्रिया अगाडि बढाएका थिए । चिनियाँ लगानीमा चक्रपथको अध्ययन र निर्माण गर्न महानगर र प्रदेश सरकारले प्रस्ताव गरेको तत्कालीन नीति तथा योजना आयोग उपाध्यक्ष डा. गिरिधारि शर्माले बताए ।

‘अहिलेसम्म भएका अध्ययन र छलफलबाट चक्रपथ निर्माणको लागि नयाँ प्रतिवेदन तयार पारी प्रस्ताव गरिएको थियो’, डा. पोखरेलले भने, ‘चिनियाँ टोली इच्छुक पनि थियो । तर पछि कोरोनाले चिनियाँ कम्पनी आएनन्, सरकार पनि फेरियो र त्यसपछि चक्रपथ निर्माणको विषय पनि छायाँमा पर्‍यो ।’

त्यतिबेला १२० किलोमिटर लामो चक्रपथ निर्माण गर्न प्रस्ताव गरिएको थियो । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले चिनियाँ टोलीसँग ८ किलोमिटर सुरुङ मार्ग, ११ वटा पुलसहितको १२० किलोमिटर लामो चक्रपथको प्रस्ताव गरेको थियो । जसको लगानी ११२ किलोमिटर सडक बनाउन ५ अर्ब ६० करोड र ८.२ किलोमिटर सुरुङमार्ग बनाउन १२ अर्ब ३० करोड लाग्ने प्रस्ताव गरिएको थियो ।

‘ठूलो लगानी लाग्ने भएकाले पोखरा र प्रदेशको बजेटलेमात्रै पनि भ्याउने देखिँदैन’, डा. पोखरेलले भने, ‘चक्रपथ अब पोखराका निम्ति अनिवार्य भइसक्यो । यसका लागि पोखराले मात्र सम्झिएर हुँदैन, केन्द्रीय सरकारले नै चासो देखाउनुपर्छ, दातृ निकायले लगानी गर्न पनि सक्छन् ।’

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले २०६९ सालमा चक्रपथ निर्माणको अध्ययन गरेको थियो । त्यतिबेला ७५ किलोमिटर पोखरा चक्रपथको प्रस्ताव गरिएको थियो ।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरामा चक्रपथ, बसपार्क, काहुँ धराहरा पार्कजस्ता संरचना बनाउने भन्दै छलफल अघि बढाएका थिए । त्यो बेला भएको अध्ययनले साढे ७३ किलोमिटर किलोमिटर चक्रपथको खाका कोरिएको थियो ।

थपलियाको नेतृत्वमा भएको भेलाबाट त्यतिबेला संयोजक तोकिएका थिए, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने । २०७१ सालमा तत्कालीन पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, जिल्ला विकास समितिका संयुक्त प्राविधिक टोलीसहित स्थलगत अध्ययन, छलफल र प्राविधिक रुपमा सम्भाव्यता हेरेर प्रतिवेदन बुझाइएको लामिछानेले बताए ।

सरकारले २०७३/०७४ को नीति तथा कार्यक्रममा पोखरा उपत्यका चक्रपथ बनाउनेसमेत उल्लेख गरेको थियो । तर, कार्यक्रम कार्यान्वयन नै हुन सकेन ।

‘अब पनि यो चर्चामै सीमित रहृयो भने पोखराका निम्ति दूर्भाग्य हुने छ । विस्तृत सम्भाव्यता अध्ययन गर्ने र कार्यान्वयनमा लैजान केन्द्रीय सरकारसँगको सहकार्य गर्न सक्नुपर्छ, यो मेयर आचार्यका निम्ति उपयुक्त अवसर हो,’ लामिछानेले भने ।

पोखरामा बाहिरी र भित्री दुईवटा चक्रपथको परिकल्पना गरिएको भन्दै उनले कम्तीमा भित्री चक्रपथ निर्माणका लागि महानगरले काम सुरु गर्न सक्ने बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?