
१२ असार, पोखरा। पछिल्लो केही दिनयता भइरहेको वर्षातपछि पोखराको फेवाताल जलकुम्भीमय भएको छ । फेवाताल सिरान क्षेत्रबाट जलकुम्भी बगाएर तल्लो तटीय क्षेत्रमा ल्याएपछि फेवाताल जलकुम्भीले ढाकेको हो ।
फेवाताल नै कुरुप हुने गरी जलकुम्भीले ढाक्दा डुंगा सयर गर्न आएका पर्यटक र व्यवसायी दुवैलाई सकसमा पारेको छ । हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ ।
तालमा जलकुम्भी फैलिन नदिन महानगरले केही समयअघि फेवा मुहान क्षेत्रको जलकुम्भी फाल्ने अभियान सुरु गरेको थियो । तर, जलकुम्भी फाल्ने कामदारले समयमै ज्याला नपाउँदा निरन्तरता दिन नसकिएको वातावरण संरक्षणका लागि महाभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए ।
‘जलारी समुदायलाई सहभागी गराएर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत जलकुम्भी फाल्न मेयर साबसँग सहमति भएको थियो । तर, ३ दिनमै कार्यक्रम रोकियो’ पौडेलले भने, ‘त्यो अभियानलाई निरन्तरता दिइएको भए अहिले यो हालत हुने थिएन ।’
जलकुम्भी झार निकाल्नका लागि २०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख गरी १ करोड २५ लाख रुपैयाँ लागतमा मेसिन ल्याएको थियो ।
क्यानडाबाट झिकाइएको एक्वाइटिक प्लान्ट हार्भेस्टिङ मेसिन प्रयोगमा आए पनि डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूह, क्लब, विभिन्न संघ–संस्थाले जलकुम्भी झार फाल्दै आएका छन् ।
पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले फेवातालको जलकुम्भी झार हटाउने कार्य निरन्तर रहेको बताए । उनले ताल सफाइ गर्न महाअभियान नै चलाएर जलकुम्भी हटाइने जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4