+
+

ललितानिवास प्रकरणमा पक्राउ परेका ७ मध्ये ३ जना रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १९:५५

१२ असार, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जना थुनामुक्त भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए ।

यसरी छुट्नेमा मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन् । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा सर्वोच्च अदालतबाट आदेश भएको थियो ।

सीआईबीले मंगलबार दिनभर अपरेशन चलाएर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा १७५ जनाविरुद्ध भ्रष्टाचारको कसूरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लगत्तै गृह मन्त्रालयले ठगी र कीर्तेमा अनुसन्धान गर्न भन्दै सीआईबीमा पत्र पठाएको थियो ।

यो बीचमा ठगीमा मुद्दा नचलाउने निर्णय भयो भने अहिले सोही पत्रका आधारमा कीर्तेसम्बन्धी कसूरमा अनुसन्धान अघि बढेको थियो । सुवर्णशमशेर र उनको परिवारको नाममा रहेको जग्गा सरकारले अधिग्रहण गरेकामा राजनीतिक कारणले जफत भएको भन्दै फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्दै सरकारी लिखत तथा कागजात कीर्ते भएको सीआईबीका अधिकृतहरु बताउँछन् ।

अधिकृतहरुका अनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?