+
+

शेयर बजारमा उत्साहको साता : लघुवित्त, जीवन बीमा र वित्त कम्पनीमा ओइरियो लगानी

वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाँदा लगानीकर्ता आशावादी देखिएका छन् । दैनिक करिब ६ अर्बको कारोबार हुन थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते ९:४३

१७ असार, काठमाडौं । गएको साता नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार पाँच दिनबाट घटेर चार दिनमात्रै भयो । बिहीबार मुस्लिम धर्मावलम्बीहरुको चाड ईदको बिदा परेकाले सो दिन कारोबार भएन ।

दिनका हिसाबले नेप्सेमा कम कारोबार भए पनि परिसूचक र रकममा भने उच्च वृद्धि देखियो । खासगरी वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर पनि घट्दै गएको खबरले लगानीकर्तामा उत्साह देखिएको छ ।

गएको साताको चार दिनको कारोबारमा नेप्से परिसूचक करिब ५ प्रतिशत (९५ दशमलव ४६ बिन्दु)ले वृद्धि भई २१५० दशमलव ९९ बिन्दुमा बन्द भएको छ । साताका तीन कारोबार दिन नेप्से बढ्यो भने एक दिन घटेको थियो । साताको पहिलो दिन आइतवार सेयर बजार उत्साहजनक रुपमा ६२ दशमलव २१ बिन्दुले बढेको थियो ।

त्यस्तै, दोस्रो दिन सोमबार नेप्से ११ दशमलव ६९ अंकले बढेर २१२९ दशमलव ४२ बिन्दुमा बन्द भएको थियो । तेस्रो दिन पुनः नेप्से ५६दशमलव९४ अंक अर्थात् २ दशमलव ६७ प्रतिशतले वृद्धि भएर २१८६ दशमलव ३६ को बिन्दुमा बन्द भयो । सो दिन नेप्से सात महिनायताकै उच्च बिन्दुमा पुगेर बन्द भएको हो । तर, अघिल्लो साताको अन्तिम कारोबार दिन बुधबार चाहिँ नेप्सेमा करेक्सन आयो र ३५ दशमलव ३५ अंकले घटेर २१५० दशमलव ९९ अंकमा बन्द भयो ।

समग्रमा यो साता नेप्से सबैभन्दा माथि २२०४ दशमलव ९३ बिन्दुसम्म पुगेको थियो । त्यस्तै, तल्लो बिन्दु २०५७ दशमलव ३७ रह्यो । यस हिसाबले अघिल्लो साता नेप्से १ सय ४७ दशमलव ५६ बिन्दुको बीचमा रहेर कारोबार भयो ।

 दैनिक औसत कारोबार रकममा ४१ प्रतिशत वृद्धि

गएको साता नेप्से कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । सो साता नेप्सेमा कूल २३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ । त्यो अघिल्लो साताको तुलनामा १३ प्रतिशतमात्रै बढी हो । तर, त्यसअघिको सातामा पाँचै दिन कारोबार भएकोमा अघिल्लो साता भने चार दिनमात्रै कारोबार भयो । त्यसो हुँदा दैनिक औसत कारोबार रकम भने उल्लेख्य रुपमा बढेको छ ।

सो साता दैनिक औसत ५ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार भयो, जबकि त्यसअघिको साता औसत कारोबार रकम ४ अर्ब १३ करोड रुपैयाँमात्रै थियो । दैनिक औसत कारोबार रकमको वृृद्धि ४१ प्रतिशत हो । कारोबार रकममा भएको उल्लेख्य वृद्धिले नेप्से थप केही समय बढ्ने आधार तय गरेको छ । सो साता ५ करोड ३१ लाख कित्ता शेयरको कारोबार भएको छ ।

लघुवित्त, वित्त र जीवन बीमा कम्पनीमा आकर्षण

गत साता सबैभन्दा उच्च दरमा लघुवित्त कम्पनीहरुको शेयर बढ्यो । लघुवित्त कम्पनीको उपसूचक ४ सय ४४ दशमलव ८० बिन्दु अर्थात् ११ दशमलव ९३ प्रतिशतले बढेको छ ।

त्यस्तै, लगानीकर्ताको दोस्रो आकर्षणमा जीवन बीमा कम्पनी परे । यो उपसूचक ११ दशमलव २ प्रतिशत (१२८१ दशमलव ४३ अंक)ले बढ्यो । त्यस्तै, तेस्रो आकर्षणमा फाइनान्स कम्पनीहरु परे । फाइनान्स कम्पनीको उपसूचक १० दशमलव ४५ प्रतिशत अर्थात् १७९ बिन्दुले बढेको छ ।

नेप्से बढ्दो क्रममा रहेका बेला कम पुँजी भएका लघुवित्तका शेयरबाट लगानीकर्ताले बढी नाफा आर्जन गर्न खोजेको देखिन्छ । नेप्सेका १३ वटा उपसूचकमध्ये यो साता सबै उपसूचकहरुमा वृद्धि देखियो । तर, होटल र हाइड्रोपावर कम्पनीको शेयर भने १ प्रतिशतभन्दा कमले वृद्धि भए ।

हिमालयन लाइफ, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलका लगानीकर्ताले चार दिनमै ५० प्रतिशत कमाए । हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त तथा सिटी होटलका लगानीकर्ताले अघिल्लो साताको चार दिनकै कारोबारमा करिब ४६ दशमलव ४ प्रतिशत कमाएका छन् । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइप mमिलेर बनेको हिमालयन लाइफको कारोबार खुलेपछि लगातार सर्किट लेबलमा कारोबार भइरहेको छ । त्यस्तै, बीपीडब्लूको कारोबारमा पनि सर्किट ब्रेक लागिरहेको छ । सिटी होटलको शेयर पनि नेप्सेमा सूचीकृत भएदेखि नै सर्किट ब्रेकको लेभलमा कारोबार भइरहेको छ ।

यी तीन कम्पनीको अतिरिक्त सिटिजन्स बैंक इन्टरनेशनलको प्रमोटर शेयर ११ असारमा १ सय ३३ रुपैयाँमा कारोबार भई ३३ प्रतिशत वृद्धि देखिएको छ । यसका साथै सामुदायिक लघुवित्त वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्यमा पनि क्रमशः २९ र साढे २७ प्रतिशतले बढेको छ ।

सो साता सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६१ प्रतिशत गुमाएका छन् भने इङ्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि करिब ७ प्रतिशतले गुमाएका छन् । मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले पनि ६ दशमलव ३ प्रतिशत गुमाएका छन् । खासगरी मुलुकको पूर्वी क्षेत्रमा बाढी जाँदा क्षति पुगेका जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरैले घटेको छ ।

शिवम् सिमेन्ट हटकेक

गत साता शिवम् सिमेन्ट्स् लिमिटेड सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । कारोबार रकम तथा शेयर संख्या दुवैका हिसाबले यो कम्पनी सबैभन्दा माथि रह्यो ।

साताका चार दिनमा शिवम् सिमेन्ट्सको १ अर्ब ४३ करोड बराबरका शेयरको किनबेच भयो । दोस्रो नम्बरमा सोल्टी होटेल लिमिटेड रह्यो । यो कम्पनीको १ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

तेस्रो नम्बरमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको ८५ करोड रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?