+
+

भारतमा ६ महिनामा आउँदैछन् १७ ठूला फिल्म, २५०० करोड भारु कमाइको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १३:०९
'डंकी'मा बलिउड अभिनेता शाहरुख खान

काठमाडौं । अबको ६ महिना बलिउडका लागि आशाले भरिएको देखिन्छ । क्रिसमससम्म १७ ठूला फिल्म रिलिज हुनेछन् । जसबाट विज्ञले २५ सय करोड भारुको व्यापार अनुमान गरेका छन् । यो अवधिमा लगभग सबै ठूला स्टारका फिल्म छन् । जुलाईमा ‘रकी और रानीकी प्रेम कहानी’ रिलिजबाट सुरु हुने यो शृंखला राजकुमार हिरानी र शाहरुख खानको फिल्म ‘डंकी’ सम्म चल्नेछ । डंकी २२ डिसेम्बरसम्म रिलिज हुँदैछ ।

यो अवधिमा बलिउडमा दुई ठूला भिडन्त हुनेछन् । एउटा ११ अगस्ट र अर्को डिसेम्बर १ मा हुने देखिन्छ । ११ अगस्टमा सनी देओलको ‘गदर–२’ र अक्षय कुमारको ‘ओह माइ गड–२’ भिड्दैछन् । डिसेम्बर १ मा रणवीर कपुरको ‘एनिमल’, विक्की कौशलको ‘साम बहादुर’ र मल्टिस्टारर ‘फुक्रे ३’ भिड्दैछन् । विज्ञलाई विश्वास गर्ने हो भने यी ६ महिना बलिउडका लागि व्यावसायिक रुपमा फलदायी हुन सक्छ । दर्शक हलमा आउन सक्छन् ।

२०२३ को ६ महिना बितिसक्यो । जसमध्ये सात फिल्मले मात्रै १०० करोडभन्दा बढीको विश्वव्यापी कलेक्सन गरेका छन् । ’आदिपुरुष’जस्ता ठूला फिल्म फ्लप भए पनि ‘द केरला स्टोरी’ र ’जरा हटके जरा बचके’ले आफ्नो प्रदर्शनले सबैलाई चकित पारे ।

‘पठान’ले सोचेभन्दा धेरै एक करोड भारुभन्दा बढी कमाएको छ । ’द केरला स्टोरी’ को सफलता ठूलो थियो । ‘तू झुठी मैं मक्कर’, ‘जरा हट्के जरा बचाके’जस्ता फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए । ट्रेड एनालिस्ट तरण आदर्श, फिल्म वितरक राज बंशल र अक्षय राठीले आगामी ६ महिनामा रिलिज हुने बलिउड फिल्मबाट आफूहरुले फरक-फरक अपेक्षा राखेको बताएका छन् । कोही बलिउडले आगामी ६ महिनामा बक्स अफिसमा १५ सय करोडसम्म कमाउने विश्वास गर्छन् भने कोहीले २२ सयदेखि २५ सय करोडसम्मको व्यापार गर्ने अनुमान गरेका छन् ।

तरण भन्छन्, ‘यो वर्ष अहिलेसम्म थोरै फिल्म चलेकाले ‘थोडी खुसी थोरी गम’ मात्र भन्न चाहन्छु । यसबाहेक ठूला फिल्मले ठगी गरेका छन् । मलाई आशा छ कि अबको ६ महिनामा धेरै यस्ता फिल्म आउनेछन् जसले हामीलाई फेरि उचाइमा लैजान्छ ।’

फिल्म एकापसमा भिड्दा निर्मातालाई नोक्सानी हुने र दर्शक पनि विभाजित हुने उनको भनाइ छ । भन्छन्, ‘दुई फिल्मको भिडन्त बुझ्न सकिन्छ तर तीन फिल्मको टकराव मेरो बुझाइभन्दा बाहिर छ । तीनवटै निर्मातालाई मेरो एउटै प्रश्न छ, के आम मानिससँग आफ्नो परिवारसँग तीनवटै फिल्म हेर्न पर्याप्त समय र पैसा छ ? द्वन्द्वका कारण चलचित्रलाई आर्थिक रूपमा पनि नोक्सान हुन्छ र दर्शक पनि विभाजित हुन्छन् ।’

उनी अघि भन्छन्, ‘म यति मात्र भन्न सक्छु कि गदर ठूलो फिल्म हो । यसले स्वभाविक रुपमा अपेक्षा बढाउँछ । सन्नीले कत्तिको इम्प्रेस गर्छन् त्यो भने हेर्नैपर्छ । अक्षय कुमारको लागि म सहमत छु कि उनका अघिल्ला धेरै फिल्मले काम गरेनन्, तर यसको मतलब यो होइन कि हामीले उनका आगामी फिल्मलाई एउटै मापदण्डमा तौलिनुपर्छ । उतारचढाव सबैको करिअरमा आउँछन् । पठानअघि शाहरुखले पनि लगातार फ्लप फिल्म दिए, तर पठानले सबै बदलिदियो ।’

फिल्म वितरक राज वंशल भन्छन्, ‘अबको ६ महिनाको लागि मैले सोचेको सबैभन्दा ठूलो फिल्म भनेको ’टाइगर ३’, त्यसपछि ’जवान’, त्यसपछि ’रकी और रानी की प्रेम कहानी’ र त्यसपछि ’एनिमल’ हो, जसबाट मलाई धेरै आशा छ । प्यान इन्डियामा म यो वर्ष ‘पुष्पा २’ को मात्र अपेक्षा गर्दैछु । आगामी छ महिनामा करिब १५ सय करोडको व्यापार हुनेछ भन्ने मलाई विश्वास छ । ‘एनिमल’को कन्टेन्ट राम्रो भए ३०० करोडसम्मको व्यापार गर्न सक्छ ।’

वंशल अघि भन्छन्, ‘सबैभन्दा ठूलो कुरा यो हो कि ’गदर’ मा सबैभन्दा महत्वपूर्ण पात्र अमरीश पुरी थिए जो यस पटक फिल्ममा छैनन् । अनिल शर्माले सन्नीका छोरा र नयाँ नायिकालाई फिल्ममा कास्ट गरेको भए सायद अरु केही प्रतिक्रिया आउन्थ्यो होला भन्ने मलाई विश्वास छ । यद्यपि यो अझै पनि ठूलो फिल्म हो र बक्स अफिसमा चमत्कार गर्न सक्छ । अक्षयका फिल्म बारेमा कुरा गर्दा म उनको फिल्मबाट धेरै आशा गर्दिन, जबसम्म उनी ठूला निर्देशक लिएर आउँदैनन् । जे होस् आजकल उनका धेरै फिल्म ओटीटीमा आउँदैछन् ।’

अर्का फिल्म वितरक अक्षय राठी भन्छन् ‘आगामी ६ महिनामा हजारौं करोड रुपैयाँ जोखिममा छ र यसबाट हजारौं करोड आम्दानी हुने विश्वास लिएको छु । कुनै खास अंक बताउन उपयुक्त नभए पनि २२ देखि २५ सय करोडको अपेक्षा गर्न सक्छु । किनभने यस वर्षको पहिलो हाफमा धेरै फिल्म थिए जसको अपेक्षा थिएन तर द केरला स्टोरी जस्ता ३०० करोडभन्दा बढी कमाएका छन् । त्यस्तै विवेक अग्निहोत्रीको फिल्म ‘भ्याक्सिन वार’ आगामी ६ महिनामा आउँदैछ, यसले पनि ठूलो कमाइ गर्न सक्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?